| | अङ्क एक ( वैशाख जेठ असार) सम्पादकीय
सम्पादकीय (अङ्क एक) सिर्जनालाई अभिव्यक्त गर्ने कला साहित्य हो । अभिव्यक्तिको विधा र माध्यम जे भए पनि सिर्जनाले मानवीय पक्षलाई आत्मसात गरेको हुन्छ । सिर्जना शाश्वत हुन्छ । शाश्वत सिर्जनालाई विश्वसामु पु-याउनका लागि माध्यम त अनेक छन् तर एक्काइसौँ शताब्दीको सशक्त माध्यम इन्टरनेट हामीले रोजेका छौँ । समकालीन साहित्यका सर्जकहरूलाई स्थान दिन नेपालका राष्ट्रिय स्तरका भनिने पत्र-पत्रिकाहरूले कन्जुस्याइँ प्रशस्तै गरेका छन्, विशेषतः मोफसलका सर्जकहरूलाई त तिनमा स्थान पाउन अझ गाह्रो छ । वषौँ लगाएर सिर्जेका सिर्जनाहरू उपयुक्त माध्यमको अभावमा सडेर गइरहेका छन् । त्यस्तै सर्जकहरूलाई समेत स्थान दिने सानो प्रयास हो इन्टरनेट पत्रिका साहित्यसरिता । समकालीन नवीन प्रतिभाहरूसँगसँगै देश भरिका र देशबाहिरका स्थापित साहित्यकारहरूले साहित्यसञ्चार समूहको यस प्रयासलाई रचना, सुझाव र प्रतिक्रिया पठाएर टेवा दिनुहुनेछ भन्ने आशा हामी गर्दछौँ । साहित्यसञ्चार समूहका अन्य प्रकाशन त्रैमासिक साहित्यिक कोसेढुङ्गा र नेपालबाट प्रकाशित पहिलो अङ्ग्रेजी इजिन penhimalaya लाई पनि पढिदिनुहुन सादर आग्रह गर्दछौं । साहित्यसञ्चार समूहका समस्त पदाधिकारी र सम्पादक पूर्ण अवैतनिक रहेको र त्यसबाट प्रकाशित सबै पत्रिकाका सम्पूर्ण रचनाहरू पनि पूर्ण अवैतनिक रहने ब्यहोरा पनि सादर अवगत गराउँदछौँ ।
काव्यबोध पानाको सपाट पृष्ठभूमिबाट अपलक हेरिरहेछ एउटा आकर्षक अनुहार । सधैँझैँ म हिँडिरहेछु एउटा आकारमा र आज पनि कहीँ पुग्नुपर्ने आग्रहले चलाइरहेछ मेरा खुट्टाहरू मेसिनको पुर्जाजस्तो । पहिलो हेराइमा लज्जानत अनुहार अहिले बादल फाट्तै गरेको आकाशजस्तो खुलिरहेछ । बिस्तारै उठिरहेछन् उनका आँखाहरू अक्षरमा आकारित ओठहरू शब्दमा आकारित वक्ष एउटा समृद्ध रूप मलाई खिँचिरहेछ त्यता । म पढिहेर्छु । स्वाद लिन निलिहेर्छु । मदोन्मत्त हुन पिइहेर्छु । स्पर्श अनुभूत गर्न छोइहेर्छु । त्यहीँनेरै संवादको क्षण बन्छ । प्रेमको क्षण बन्छ । अपूर्व मिलनको क्षण बन्छ । शीतलहर तरबारजस्तै धारिलो हान्निइरहेछ हावा हिउँको रङमा । क्षितिजबाहिरै बन्दी छ घाम र, बलिरहेछन् पिलपिल टाढा लाग्ने नजिकका ल्याम्पपोष्ट र मोटरका बत्तीहरू सेताम्मे फुलेको यो अर्को बूढो बिहान । छाला छामिरहेछन् सर्पजस्ता स्पर्शहरू । अव्यवस्थित सडकका तीखा ढुङ्गाहरू बिझाइरहेछन् काँढा पाइलामा र, ब्यूँझाइरहेछन् मर्माहत संवेदनहरू । सेतो चिसोले छोपेको छ जीवनका इन्द्रेणीहरू कुनै कुमारी विधवाको पहिरनजस्तो । कम्पन ओठओठमा छचल्किएको छ जिब्रामा गह्रौँ लाटोपन झुण्डिइरहेछ । मन्दिरका घण्टहरू ज्यादा स्पष्ट बोल्छन् ननुहाई निथ्रुक्क रुझेका ब्राह्मणहरूका मन्त्रोच्चारणभन्दा । चुकुलहरू चकित छन् आफ्नो सामर्थ्यमा । हिजो रात पर्दा लगाइएका झ्यालढोकाहरू अधिकांश अझै आफ्नो पकडमै निदाइरहेछन् । ओछ्यानहरू पक्षाघात पालिरहेछन् सडक लगभग पदचापशून्य छ । यो पोल्ने जाडामा पोलिरहेछन् जाडो घुस्यान बालेर मान्छेका गुजुल्टाहरू । र जमेको छ सम्पूर्ण जाँगर ओसिएको सलाईको काँटीजस्तो । यावत् आकारहरू हराएका छन् यावत् रङहरू हराएका छन् परेवाहरू पौडिरहेछन् कुहिरामा । न्यानो उज्यालो खेल्ने मञ्च छोपेर फर्फराइरहेछ सफेद पर्दा । उज्यालो फुल्ने क्षितिज दिनको अँध्यारामा कैद छ कतै । कविताविहीन कुहिराको आकाश चुहाइरहेछ हरदम अपमानभन्दा गहिरो गाडिने चिसो । जीवनविरुद्ध खुलेआम उभ्याइरहेछ मृत्युहरूको लहर यो शीतलहर । यस बेला जीवनबोधले ओतप्रोत उत्साहित मान्छेहरूको लस्कर सम्भव छैन र, तानाशाह प्रशन्न छ आज जुलुस निस्कने सम्भावना छैन ।
जङ्गलमा बोल्छुः रूखपातसँग ढुङ्गामूढासँग चराचुरूङ्गीसँग खोलानालासँग आकाशधर्तीसँग सुन्छुः यिनीहरूकै कुरा म आज नितान्त एक्लो छु जङ्गलमा । जङ्गलमा म ब्यूँझिएको लगत्तै लहराहरू रूखमा समातेर उठेझैँ उठ्छन् मनभित्र इच्छाहरू र, मलाई बिस्तारै मार्न आफ्ना हातहरू बढाउछन् । तर यहाँ त मान्छेहरूको भीड र कोलाहल छैन समाज, संस्कृति, राजनीति र साहित्य छैन म बिलखबन्द मान्छे आज, आफ्ना इच्छाहरूको चिहान खन्दै एकान्तमा बिलाएर आफ्नो प्रतिरूप खोजिरहेछु । त्यसकारण म जङ्गलमा दर्शन फलाक्छु त रूखपातसँग सिद्धान्त बखान्छु त ढुङ्गामूढासँग आदर्श फिँजाउँछु त चराचुरुङ्गीसँग भाषण गर्दछु त खोलानालासँग नीति बनाउँछु त आकाशधर्तीसँग हो त, म यसरी प्रतिक्षण मरिरहेछु । जङ्गललाई धेरैधेरै प्रवचन सुनाइसकेँछु ढाकरका ढाकर विचार दिइसकेँछु, अध्यात्मबारे विज्ञानबारे अध्यात्मविज्ञानबारे ज्ञानका सप्पै किसिमहरू पालैपालो बोलिसकेँछु । तर, तर म रित्तिन सकिनछु तर म पोखिन सकिनछु कि जङ्गल बिल्कुल जस्ताको तस्तै मेरा कुराहरूले प्रभाव नपारेझैँ प्रतिक्रियाविहीन, हो त, म यसरी प्रतिक्षण ब्यूँझिरहेछु । र, यो जङ्गलमा म ब्यूँझिएको लगत्तै झ्याउँकीरीहरू झ्याउँकीरी किरि-किरि-रि-री झ्याउँकीरी किरि-किरि-रि-री आवाजमा सल्बलाएझैँ सल्बलाउँछन् नसाभित्र सपनाहरू र मलाई घरतिर डो-याउन आग्रह गरिरहन्छन् । बोल्छुः रूखपातसँग ढुङ्गामूढासँग चराचुरूङ्गीसँग खोलानालासँग आकाशधर्तीसँग सुन्छुः यिनीहरूकै कुरा म आज नितान्त एक्लो छु जङ्गलमा । पाँच थुँगा संवेग संवेग मान्छेको अन्तर्भावना प्रस्ट्याउने क्यामेरा । कल्पना कल्पना शीत हो वास्तविकताको घाममा सुक्छ । रहर रहर जीवनको शूल स्थितिको आभास हुन नदिने । कवि श्रद्धान्जली सभाको एउटा उम्मेदवार । मूल्याङ्कन असजिलो विषयआ-आफ्नै नजरको मापदण्ड ।
अनुहार-आतङ्क चौलानीजस्तो पन्यालो मन बोकेर धरमरधरमर सम्भावनाहरूको एउटा जुलुस उभ्याएकै छु छातीमा एउटा दुःखद बोधको गर्हौँ बोझ बोकेर कि म समयसँग हिँड्न सकिनँ अनाहकमा पल्टन विवशजस्तो असीमान्त वेदनाको लचकदार ओछ्यानमा वेदनाकै सिरक ओढेको छु गम्लङ्ग लाग्छ स्खलित आकाङ्क्षाहरूको बिस्कुन हाल्न अभिशप्त छु चाहारिरहेछु/छामिरहेछु एकपछि अर्का सहयात्री अनुहारहरू एउटा मौन समर्थनको निरीह अभीप्सा ओढेर आँखाभरि पराई पैतालाका आवाजहरू पनि कति मधुर लागेका हुन् पर्दा च्यातेर एउटा सुकिलो विभ्रमको अँध्यारो प्रदेश नछिचोलेसम्म मान्छेलाई कहाँ चिन्न सकिँदो रहेछ र मान्छेकै रूपमा ? विजयोल्लासको एउटा दरिलो झन्डा गाड्ने अभिलाषा बोकेर आजकल म अहर्निश छामिरहेछु असङ्ख्य मान्छे अनुहारका अग्लाहोचा प्रदेशहरू.....। -हेटौँडा, मकवानपुर गजल कहिले आउँछ आङभरि नाना लाउने दिन कहिले आउँछ पेटभरि खान पाउने दिन ? नाङ्गो जीउमा घाम बनी न्यानो दिन्छु भन्थ्यौ पर्खिरा’छु औँला गन्दै तिमी आउने दिन । मेरो साथी ठूलो जातको सानो जात मेरो कहिले होला सँगै मिली गीत गाउने दिन ? खरबारीमा ब्वाँसाहरू दिउँसै सुतिरा’छन् आउँदैन कि खर काटी घर छाउने दिन ? साँढे हिँड्छ रातभरि मकैबारी माड्दै कैले आउँला त्यो साँढेलाई हाम्ले दाउने दिन ? - बेलबारी, मोरङ, नेपाल
गजल वृक्षसँगै रसिला छन् सुन्तलाको दाना त्योभन्दा नि पोसिलो छ हृदयको खाना । कताकता पहिला पनि देखेजस्तो लाग्छ मस्तिष्कले रोज्न थाले पिरतीको पाना । हृदयले शान्त पार्न साथ पाउनुपर्छ मेरो शान रँगाउने उन्मादको छाना । समयमा पानी हाली गोडमेल गर्छु कत्ति पनि दिनेछैन विस्मातको ताना । हरियालीमै रमाउँला खेल्दै पोखरीमा ऋषिसित जीवनमा प्यारको दिवाना । -विशालमार्ग, नारायणगढ गतवर्षहरूमा झैँ यस वर्ष पनि परिणाम घोषणा गरिनुभन्दा एक हप्ताअगावै शिक्षकहरूको सरसल्लाह बैठक बस्यो। मूल प्रश्न थियो, ‘कस्ता विद्यार्थीहरूलाई उत्तीर्ण गराउने?’ प्रायः सबैको चिन्ताचाहिँ एउटै थियोः ‘हाम्रा विद्यार्थीहरू किन यति कमजोर भए?’ तर पढाउनेहरू आफैँ भएको हुँदा यो विषयमाथि धेरै छलफल भएन । बरू सरहरू शिर झुकाउन बाध्य भए। जे भए पनि बढीभन्दा बढी विद्यार्थीहरूलाई पास गराउनुपर्छ भन्ने कुरामा भने सबैको मतैक्य रह्यो । हेडसरले प्रश्न राखे-‘पास त गराउने, तर यसको आधार र मापदण्ड पनि त चाहियो नि....।’ तुरुन्तै, सरहरूबाट आ-आफ्ना मत र सुझावहरू आउन थाले- ‘बिहे उमेर भएकालाई पास गराउने।’ ‘सेनामा भर्ना हुन र विदेश जान चाहनेलाई किन रोक्नु .....।’ ‘पोहोर फेल भएकालाई हुत्याइदिनुपर्छ।’ ‘कक्षामा दादागिरी देखाउनेलाई फेल गराउनुहुँदैन ।’ ‘पढ्न मनै नगर्नेलाई कक्षा चढाइदिएकै राम्रो।’ -दियाले-3, ओखलढुङ्गा खारेज बुथुरे महेन्द्र राजमार्गको छेउमा लामो दूरीका बसहरू रोकिने ठाउँ । यात्रुहरूलाई खाना खुवाउने एउटा लाइन होटल(ढावा)मा बुथुरे नाउँ गरेको यस्तै बाह्र-पन्ध्र वर्षको ठिटो बेराको काम गर्दथ्यो । पढ्न-लेख्न नजाने पनि बिहान-बेलुका खाएर महिनाको 50-60 रुपियाँ जम्मा गर्ने गर्दथ्यो । कसैले घरका सम्बन्धमा सोध्यो भने पर हिडलुवा टप्पुमा मेरी आमा बस्छिन्, छुट्टी पाएका बखत भेट्न जान्छु भन्थ्यो । होटलवाला साहुले धेरै पैसा कमाएर होला एउटा राम्रो होटल खोल्ने विचारले पक्का घर बनाउन थालेको देखेर बुथुरेले मालिकलाई सोधेछ- ‘मालिक, यसमा के गर्ने ?’ ‘यसमा रेस्टुराँ खोल्ने ।’ ‘रेस्टुराँ कस्तो हुन्छ, मालिक ?’ ‘राम्रो, सफा हुन्छ, सङ्गमरमरको भुइँ हुन्छ, राम्राराम्रा टेबलकुर्सी हुन्छन्, राम्राराम्रा लुगा लगाएका बेराहरू हुन्छन्।’ मालिकको जवाफ सुनेर बुथुरे मख्ख प-यो। आफू राम्रो होटलको बेरा हुने कल्पना ग-यो। वरपर भेट हुँदा अन्य ढावाका आफ्ना साथीहरूलाई आफ्नो मालिकले नयाँ होटल बनाउन लागेको खबर सुनाएर खुसी प्रकट गर्ने गर्दथ्यो। क्रमशः होटल तयार भयो। नयाँ टेबुल-कुर्सी, नयाँ भाँडाकुँडा। काम गर्ने राम्राराम्रा लुगा लगाएका नयाँ मानिसहरू आए। त्यस होटलका लागि बुथुरे अयोग्य ठहरियो। मालिकले उसको महिनावारी हिसाब दिँदै उसलाई सदाका लागि बिदा दिए। बुथुरे खारेज भयो । -इनरुवा, सुनसरी, नेपाल | माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि माथि |