|
|
|
|
नयाँ सडकको खोजी --श्रीधर शर्मा अनगिन्ती बोझहरूले किचिँदा-किचिँदा म सडक अब थाकिसकेको छु।
छाम्छु जताततै दुखेको छ ओठमा हाँसो त छ, मन रोएको छ स्वागतको गहिरो मुस्कान छरेर अब कति लमतन्न सुतिरहूँ सजिएर रातबिरात !
छातीमाथि निरन्तर घन ठोकिएझैँ कठोर बुटहरू कति खेपिरहूँ ! मलाई छोएपछि दिग्भ्रान्त बटुवाहरूले आफ्नो बाटो नियालेका छन्।
असङ्ख्य मनहरूले खुसीको तलाउमा फूलहरू सजाएका छन्। नशा पिएर उन्मत्त भई मदिरा ममाथि नै लगातार उफ्रिरहन्छ, अब म कति सहूँ ?
आफू सजिन प्रकृतिसँग सौन्दर्य मागेको थिएँ रङ्गीचङ्गी फूलहरूसँग सुवास मागेको थिएँ भत्किएका प्वालहरू कैयौँपटक टाल्न खोजेको थिएँ। तर, अनगिन्ती आशाहरू मभित्रै बिलाए, असीमित सपनाहरू मभित्रै हराए र कतिका भविष्यलाई स्वयम् खोसेको छु मैले।
वर्षौँदेखि निरन्तर यस्तै भइरहेछ र म अब थाकिसकेको छु। मलाई नयाँ परिवेश चाहिएको छ, नयाँ जिउने ढङ्ग चाहिएको छ, एउटा बेग्लै आकार चाहिएको छ, म सडक अब थाकिसकेको छु, मलाई नयाँ सडक चाहिएको छ।
--इटहरी।
|