|
|
|
|
म जन्मदिन मनाउँदिनँ --सीमा आभास
एउटा अजीवित डल्लामा साँचिएको सपना सुत्केरी पोखिएको आहालमा अवतरण हुँदा दर्जनौँ आँखाहरू नाङ्गो डल्लो पढेर सपनाहरू चकनाचुर भए भन्दै फर्किएका थिए गाईगोठतर्फ रिस, भय, पीडाले आक्रान्त खुम्चिएको मानसिकतासँगै
अनावश्यक अवतरण पीडादायक ऐँजेरु घाँटीमा अड्किएको हाड निको नहुने निधारको पहेँलो फोको यस्तै-यस्तै......... कुनै उत्सवको दिन घटेको दुर्घटना- मेरो जन्मदिन
पीडा बिर्साउन राखिएको नाम नसाँचेको रहर, पास्नी मनाइएन नरोपेका उत्साह परिधिमा उभ्याएर सिकाएको भाषा-आवाज प्रत्येक सूर्योदयसँगै पत्कर र घुस्यानले छोपेर हुर्काएको मूर्तिभाषा आशा र भरोसा नरोपेको बाँझो बारी सपना नसाँचेको दुखद दुर्घटना-मेरो जन्मदिन
मेरो निम्ति प्रत्येक सूर्योदय जन्मदिन हुन्छन् प्रत्येक सूर्यास्त मृत्युदिन हुन्छन् खुसी पोलेर मनाएको जन्मदिनमा कुनै शुभकामना र फूल बाँडिदैन मैले जन्मिनासाथ रोएर पहिलो र अन्तिमपटक जन्मदिन मनाएँ
त्यसैले प्रिय मेरो जन्मदिन आँउछ भनेर कुनै उपहार नसाँच्नू उत्सवको घण्टी बजाएर शुभकामना कार्ड नबाँड्नू मनाउन मिल्दैन जन्मिनासाथ अन्त्य गरिएको शोकघोषित जन्मदिन प्रिय, दुःख नमान म बत्ती निभाएर शोक मनाएको प्रथमदिन हरेक वर्ष उत्सव सम्झिएर म जन्मदिन मनाउन सक्तिनँ।
|