|
|
|
|
भिडन्त --नयनराज पाण्डे
प्लेन नेपालगन्ज विमानस्थलमा ओर्लिएपछि ऊ केही ढुक्क भयो । आश्वस्त भयो । अब त बाँचियो भन्ने भाव देखियो उसको अनुहारमा ।
ऊ जुम्ली । जुम्ला उसको घर । तर अब जुम्लामा उसको घर छैन । अवशेष मात्र छ घरको । अहँ, घरको केही पनि स्याहार्न पाएन उसले । एकैछिनमा आगोले यसरी डढायो कि घरसँगै उसको केके जल्यो केके । त्यसपछि ज्यान जोगाएर भाग्नुपर्यो उसले । जुम्ला छाड्नुपर्यो उसले । फेरि जुम्ला फर्कन पाइएला-नपाइएला, फेरि जलेको ठाउँमा अर्को घर बनाउन पाइएला-नपाइएला, यो सबै सुदूर भविष्यको कुरा । त्यति टाढासम्मको सोच्ने, अनुमान गर्न सक्ने हैसियत छैन उसको । ऊ त बस वर्तमानलाई बुझ्नसक्छ, त्यो पनि अलिअलि, त्यो पनि आफ्नै पाराले, त्यो पनि आफ्नै खालले । ** जहान उसकी पाँच वर्षअघि नै खसेकी । दोस्रो बच्चा जन्माउन नसकेर । त्यतिबेला जुम्लाको हेल्थपोस्टमा न डाक्टर, न हेल्थ असिस्टेन्ट । हुन त बाँकी नेपालको लागि जुम्लामा स्याउबाहेक के छ र ? लाग्छ नेपालको मानचित्रमा भए पनि नेपालदेखि निकै टाढा छ जुम्ला ।
त्यसपछि छोरालाई सुरक्षाफौजले घरबाटै बेपत्ता पार्यो । कति खोज्दा पनि उसको छोरो फेला परेन । एकमात्र सन्तान पनि खोसिएपछि ऊ दिक्दार भयो । निकैपछि मात्र एउटा पत्रकारले "तिम्रो छोरो सुरक्षाफौजसँगको भिडन्तमा मारियो" भन्ने खबर ल्यायो । त्यसपछि उसले छोराको लासैबिना काजक्रिया गर्यो ।
एक रात उसले छोरोलाई भैँसीले लखेटेको सपना देखेको थियो । छोरालाई सपनाको बारेमा भन्दा छोराले हाँसोमा उडाएको थियो । "जुम्लामा म भक्त सैजुवाललाई लखेट्ने ? त्यो पनि भैँसीले ?" उसले घमण्ड र आत्मविश्वाससाथ भनेको थियो । त्यतिबेला ऊ छोराबाट दिक्दार भएको थियो । बेकारमा छोरालाई पढाएँछु भन्ने सोचेको थियो । "आठ कक्षामा फिस तिर्न नसकेको बेलामै रोक्नुपर्ने रैछ । बेकारमा एसएलसी पास गराएँ ।" ऊ आज पनि यसमा पछुतो मान्छ ।
छोरोले एसएलसी पास नगरेको भए ऊ त्यति चलाख हुने थिएन । जुम्ली न हो, मैजस्तो हुन्थ्यो, सोझो, गोज्याङ्ग्रो । आफूमाथि अन्याय भएको बुझ्ने पनि थिएन । नाहकमा ज्यान गुमाउने थिएन । यस्तो सोच्छ उसले, आज पनि । ** छोरो मारिएपछिका दिन उसका लागि भयानक कष्टकर र पीडादायक भए । ऊ घरमा एक्लो भयो । छरछिमेकीहरू कि शहर भाग्न थाले कि धमाधम जंगल पस्न थाले । ऊ भने घरमै बस्यो । छोरोलाई सम्झँदै । उसको आक्रोश, उसको जोश र उसको चेतनालाई सम्झँदै । छोरोले राम्रो नराम्रो के गर्यो उसले बुझेको छैन । तर जेजस्तो भए पनि छोरो नै हो । माया लागिहाल्दो रै'छ । आज पनि ऊ त्यो माया, त्यो मोहबाट कहाँ उम्कन सकेको छ र ?
भक्तेको काजक्रिया सिद्धिएको केही दिनपछि एक हूल सुरक्षाफौजहरू उसको घरमा आए । "भक्तेको बाउ तैँ होस् ?" सोधे । उसले "हुँ" भन्यो । त्यसपछि फौजले उसलाई पनि मजाले कुटपिट गरे । "भक्तेको घर" भन्दै घर जलाइदिए । त्यसपछि ऊ घरवारविहीन भयो । जग्गाजमिन यसै पनि छँदै थिएन ऊसित ।
त्यसपछि जुम्लामा ऊ के गरी बस्ने - त्यसैले ऊ नेपालगन्ज आयो । भएको नगद प्लेनको टिकटमै सिद्धियो । जीवन गुजाराका लागि उसले आफूसित केही शिलाजित र जिम्मु ल्याएको छ । शिलाजित र जिम्मु बेचियो भने आठ-दस हजार आउँछ । त्यस पैसाले काठमाडौँ गएर उसले गलैँचा बेच्ने काम सुरु गर्ने विचार गरेको छ । उसका केही साथीहरूले पनि काठमाडौँमा त्यही गर्छन् । साथीहरूको भनाइअनुसार त्यसको लागि साहुकहाँ केही पैसा जमानी राख्नुपर्छ । शिलाजित र जिम्मु बेचेको पैसाले ऊ त्यही गर्नेछ । जमानी राख्नेछ । ** नेपालगन्जको बजारमा आइपुग्यो ऊ । र सबैभन्दा पहिला बागेश्वरी मन्दिरको दर्शन गर्यो । आशीर्वाद माग्यो र मन्दिरकै बाहिर सडकमा शिलाजित र जिम्मुको पोको खोलेर बस्यो । पसल थाप्यो । एकदुईजना ग्राहक आए । किने । केही पैसा भयो ऊसित । जीवनप्रति उत्साह पलायो ऊभित्र । आँट पलायो । आत्मविश्वास जाग्यो ।
"साँझसम्म आज यसैगरी बस्छु" उसले निश्चय गर्यो । उसलाई लाग्यो शिलाजित र जिम्मु यसै गरी बिक्री भएमा दुईचार दिनमै ऊ काठमाडौँ जान सक्छ । बाँकी जिम्मु र शिलाजित काठमाडौँतिरै पनि बेच्न सकिन्छ । यो उसको अनुमान थियो । सुखद अनुमान । र यो दिन उसको सुखद बित्यो । राति बागेश्वरी मन्दिरभित्रको सत्तलमा सुत्यो । पुजारीसित अनुनयविनय गरेपछि र पुजारीलाई अलिकति शिलाजित दिएपछि उसले त्यहाँ सुत्ने अनुमति पायो ।
राति उसलाई लामखुट्टेले खुबै टोके । उसले आपत्ति जनाएन । "टोक्, जति टोक्न मन लाग्छ टोक् । जति सक्छस् चुस् रगत । हामी मुला रगत चुसाउनकै लागि त जन्मेका । " उसले लामखुट्टेका अगाडि आत्मसमर्पण गर्यो र निदायो । ** राति उसले अनौठो सपना देख्यो । नराम्रो सपना । बागेश्वरी मन्दिरको हातामै |