|
|
|
|
मविरुद्घ --मुकुल दाहाल म जहाँ आएको छु । एउटा जमात मविरुद्घ लाममा उभिएको छ
उनीहरूले नखोलेको ढोकाबाट निस्केर आएको छु । उनीहरूको आँखाबाट पोखिएर हराएको उज्यालो छ मसँग उनीहरूलाई नछोई आएको लहर छ मसँग । म बुझ्छु म सन्निकट आइरहेकोले उनीहरूका ओठका घोप्टे जुँगाबाट झरिरहेको ईर्ष्याको धुलो म भएसम्म आइरहेछ । उनीहरूका कैला दारीबाट उडेको अस्वीकृतिको गन्धले मलाइ छोइरहेछ । उनीहरूको ओसिएका मनहरूको रात अनुहारभरि छिप्पिएको छ । त्यो अँध्यारोको ताँती लाएर उभिएका पुराना मान्छेहरूको जमात मविरुद्व छ ।
ममात्र आइदिएको छु द्रुत हिँडिरहेको समयको गतिबाट निस्केर । उनीहरू सुन्न चाहँदैनन् मेरो पदचाप ।
म निस्केको मात्र छु । टाँस्न चाहन्छन् मलाई उनीहरू अडिएको पाषाण भित्तामा । उनीहरूको घाँटीबाट निस्किरहेछ अनौठो स्वर । मविरूद्ध । उनीहरूका टाउकामा उठेका छन् रौँहरू ठाडा भएर । उनीहरूका चिसा करङहरूको लस्कर उभिएको छ म विरुद्ध ।
म नजिकै आइपुगेको छु । उनीहरूले नदेखेको घामको बाटोबाट हिडेर अगाडि जान लागेको छु ।
उनीहरूको सोचको दुर्गन्धले मलाई ठेलिरहेछ पछाडि । तर अगाडिको सडक आँखा चम्काइरहेछ । म दृढ छु यो सङ्कुचन भत्काउन । यो सीमाको क्रूर आक्रमण विफल पार्न ।
२०६२, माघ |