|
|
|
|
परदेशी साथी --कमला सरूप
हर्कबहादुरसँग पहिलो भेटमै माया बस्ला भन्ने सोचेकी पनि थिइनँ । हुन त नसोचेको कुराले प्राथमिकता पाउँछ त्यो मलाई थाहा छ, तर भेट भएकोमा मैले गुनासो पनि पोखेकी छैन । 'म घुम्न मन पराउने मान्छे' उसले मेरो दाहिने हात समात्दै भन्यो । म झस्किएँ तर उसको हातसमाइले मलाई यसरी अव्यक्त पीडाभित्रको सुखानुभूति दिन्छ भन्ने चाहिँ मैले सोचेकी थिइनँ । यसरी आज ६,७ वर्षछिको हाम्रो मित्रतामा उसले निर्धक्कसँग मेरो हात समातेको थियो । हाम्रो समाजमा एउटा पूरा उमेर पुगेको केटाले एउटी उमेर पुगेकी केटीलाई हात समात्नु पक्कै पनि स्वीकार्य हुन सक्तैन भन्ने कुरालाई सायद उसले बुझेको पनि हुनुपर्छ । तर यतिखेर उसले समाजलाई बिर्सेको छ र निर्धक्कसँग बीचसडकमा मेरो हात समातेर सँगै जीवन बाँचौं भन्ने आग्रह गरेको छ । 'जीवन यति छोटो छ कि धेरै ठाउँमा घुम्न पनि यति छोटो जीवन र समय पर्याप्त हुन्छ कि हुँदैन भन्ने कुरामा नै मैले विश्वास गर्न सकिरहेको छैनँ । तर जे भए पनि तिमीलाई म माया गर्छु, मन पराउँछु त्यसैले हामी टाढा घुम्न जाने है ! तिमीसँग धेरै कहिल्यै नसकिने कुरा गर्नु छ । मलाई त मृत्युकै जस्तो आभास पो भएको छ ।' उसको आँखामा अव्यक्त पीडा थियो त्यो मैले नदेखेरै महसुस गरेकी थिएँ । हाम्रो सम्बन्ध सधैँ जीवित रहनुपर्छ जस्तोसुकै अवस्थामा पनि सम्बन्ध बाँच्नुपर्छ । उसले कुराकानी सुरु गर्यो । म भने गम्भीर भएँ । 'म गम्भीर मान्छेलाई मन पराउँदिनँ, मान्छेले खुसी हुन जान्नुपर्छ । गम्भीर मान्छेहरूका विचार र उनीहरूसँगको सम्बन्धले चिसोपनमात्रै बढाउँछ, मैले सोचेको कुरा पनि यही नै हो ।' ऊ लगातार बोलिरहेको छ र म सुनिरहेकी छु । मेरो गम्भीरतालाई उसले त्यति महत्त्व दिएको जस्तो मैले महसुस गरिनँ । मैले भनेँ 'म देश र घर सम्झेर रोइरहेकी छु । मलाई थाहा छ कति एक्लोपन हुँदो रहेछ घर र देशबाट टाढा बिरानो ठाउँमा आउँदा। 'एकताका म पनि गम्भीर थिएँ तिमी जस्तै, तर आज म खुसी छु किनभने मैले बाँच्न सिकेको छु ।' उसले सान्त्वना दिन खोज्यो । मेरो कुरा सुनेर उसले त्यति ध्यान दिएजस्तो लागेन । साँझको लगभग ६ बजेको छ । डुङ्गाभित्र हामीहरू कतै पूर्वको सहरमा जान तम्तयार भएका छौं । डुङ्गाभित्र मान्छेहरूको भीड बढेको छ । मान्छेहरू नाचिरहेका छन्, यस्तो लाग्छ यो उनीहरूको खुसियालीको समय हो । मैले कल्पना पनि गरेकी थिइनँ मानिसहरू यति धेरै खुसी प्राप्त गर्न सक्छन् । झमक्क साँझ पर्न लागेर पनि होला परपर देखिने सानातिना डुङ्गाहरू सँगसँगै बगिरहेका छन् । ठूलाठूला घरहरू, र दक्षिणपट्टिको हरियो ठूलो चौर पूर्वपश्चिम फर्किएको मोनुमेन्टका दरबारले मन्त्रमुग्ध बनाएको छ । मैले भनेँ 'जीवनमा बाँच्न सिक्नु भनेको सायद सबै भन्दा कठिन काम हो । गम्भीरता त क्षणिक हुन्छ जस्तै खुसीहरू सधैँ टिक्दैनन् । तर बाँच्ने कला भनेको अत्यन्तै गाह्रो कुरा हो । मान्छे सजिलै बाँच्न सक्दैन ।' मैले एकैसासमा भनेँ र उसलाई हेरेँ ऊ हातमा पुराना किताबहरू पल्टाएर पढ्न व्यस्त देखिन्छ । 'तिमीले जीवनमा कसैलाई प्रेम गरेकी थियौ ?' उसको अप्रत्याशित प्रश्नले म झस्किएँ । मैले भनेँ 'गरेकी थिएँ । तर त्यो प्रेम मैले सोचेको जस्तो आदर्श प्रेम थिएन । पानीको फोकाजस्तो क्षणिक थियो । त्यो एक पीडादायक र सम्झन नसकिने प्रेम थियो । त्यो पूर्णतः पीडादायी थियो । म यतिखेर के पनि सोचिरहेकी छु भने मेरो प्रेमको त्यो उच्चताले किन जीवनको त्यो गरिमालाई छुन सकेन, मैले भनेँ र ऊ फिस्स हाँस्यो 'तनावमा बाँच्नु व्यर्थको कुरा हो भन्ने मलाई लाग्दछ । मान्छेमा तनाव भएमा उसले आफ्नो असीम शान्तिलाई गुमाउँछ र त्यो बाँच्नका लागि खतरनाक हुन्छ ।' उसले सम्झाउन खोज्यो । अनि फेरि भन्यो 'पैसा कमाउनुपर्छ, अभावले दिने पीडा जीवनमा झन् निर्रथक र खतरनाक हुन्छ।' म पनि हाँसेँ । सडकमा मोटरहरूको लस्कर लागेको थियो । मान्छेहरूको भीड नजानिँदो किसिमले बढेको थियो । हामी बसेको डुङ्गा यतिखेर सडकछेउमा बगिरहेको थियो। 'सायद यो व्यस्त सडकमा मान्छेहरूलाई बिस्तारै हिँड्ने पनि फुर्सद छैन । मान्छे बेफुर्सदी भएको नै राम्रो हुन्छ किनभने मान्छेको लागि त्यो ठूलो महत्त्वपूर्ण कुरा पनि हुन्छ ।' उसले नै प्रश्नको जबाफ दियो र बिस्तारै भन्यो, गम्भीर हुनु र नहुनु जीवनमा त्यति महत्त्वपूर्ण कुरा हैन । तर जीवनमा महत्त्वपूर्ण कुरा हो - जीवनलाई बाँच्न सिक्नु । धेरै मान्छेले बाँच्न सिकेका छैनन् त्यसैले अल्मलिएका छन्, दुःखी छन् र हतास छन् । मलाई यस कुराले खुसी बनायो कि कमसे कम मेरो साथीले बाँच्न सिकेको छ । पक्कै पनि तिमी व्यावहारिक हुनुपर्छ र साथै भावुक पनि । सायद तिमी पनि साहित्य मनपराउँदछौ होला हैन त ? मैले एकैसासमा सबै कुरा सिध्याएँ । मलाई उसको गम्भीरता र गम्भीरताप्रतिको उसको टिप्पणी महत्त्वपूर्ण लागेको थियो । उसले हाँस्दै भन्यो - 'म अरूको सम्मान गर्नुपर्छ भन्ने पक्षको मान्छे |