Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

 

राजकुमारीको चिट्ठी

                                   --जस योन्जन प्यासी

 

अक्षरअक्षरमा

आशा र आस्था पोतेर

शब्दशब्दमा

सुनौला सपना सजाएर

पङ्क्तिपङ्क्तिमा

अनुरागको महक भरेर

अन्तरवाञ्छालाई अनुबन्धन गर्न

अनुनय गरिरहिछौ

राजकुमारी ! तिमीले

गजलको भाषामा

जेबुनिस्सा1ले जस्तो

 

गहन अर्थहरूले गुम्फित

तिम्रा मनोकामना र मनोभावनाका

यो सन्देश कागज

बुझ्‍ने बर्गत नै कहाँ ?

सुन्दर अक्षर र हरफमात्र

यो बबुरालाई

 

म तिम्रा शब्दशब्दलाई

घोकेर कण्ठस्थ गर्नसक्छु

तर अर्थ लाउन सक्तिनँ,

म तिम्रा भावनाहरूलाई

हृदयले प्रशंसा गर्नसक्छु

तर वास्तविकतामा परिणत गर्न सक्तिनँ

अभिनय गरेर कुनै राजकुमारको

म कसरी स्वीकार गरूँ

यो चिठी !

मर्यादा राख्‍ने

ज्ञान र सामर्थ्यबिना यसको

सायद तिमीले सुटुक्कै

कुनै अकिल खाँ2लाई पठाएकी थियौ

झुक्कलमा मकहाँ आइपुगेको हुनसक्छ

मलाई माफ गर राजकुमारी !

मैले आत्तिएर खाम खोलिपठाए छु

तिम्रो चिठीको

दण्डै भोग्न पनि तयार छु राजकुमारी !

तर मलाई यो चिठीको ईप्सा

अलपत्र परेको हेर्ने मनसाय छैन

यसैले पठाउँदै छु तिमीकहाँ

यो चिठी त्यहीँ पुगोस् भनेर

लेखेकी थियौ तिमीले जसका निम्ति।

 

 

  1. जेबुनिस्सा- भारतको मध्यकालीन इतिहासको मुगल सम्राट् औरङ्गजेबकी छोरी जो एक सफल गजलकार थिइन्।
  2. अकिल खाँ- औरङ्गजेबकै साम्राज्यको एक प्रदेशका प्रशासक थिए जसको गजलकै माध्यमद्वारा जेबुनिस्सासँग प्रेम थियो अनि त्यही प्रेमका निम्ति उनले मर्नुपरेको थियो।

 

(साहित्यिक मासिक 'गरिमा'बाट साभार)