|
|
|
|
निबन्ध पद, पैसा र प्रभाव --भूषण ढुङ्गेल मान्छेको जीवनमा आवश्यक, अनिवार्य र अपरिहार्य कुराहरू निकै हुन सक्छन् । हुन पनि जीवनरथ चलाउन एउटा मेसिनवाहनलाई झैँ अनेकौँ प्रकारका इन्धनहरू चाहिनु स्वाभाविक हो । कतै राजनीतिक आवश्यकता, कतै सामाजिक अनिवार्यता अनि कतै आर्थिक अपरिहार्यता नै जीवनरथका इन्धन हुन् भन्दा साह्रै बढ्ता वा कम नहोला । तर इन्धनको आपूर्तिको स्रोत वा माध्यम केकस्तो छ भन्ने कुरा कम्ती महत्त्वको हुँदैन । बाँच्नका लागि सबैले केही न केही गर्नैपर्छ । नैतिक-अनैतिक, कानुनी-गैरकानुनी, सच्चरित्र-दुश्चरित्र जसरी भए पनि प्रत्येक व्यक्तिले जीवनरथ नगुडाई धरै छैन । कसैले तेज गतिमा गुडाउँछन् त कसैले मन्द गतिमा गुडाउँछन् र कसैकसैको भने क्षणिक अडानमा पनि हुनसक्छ अनि कसैको फेरि दुर्घटित पनि हुनसक्छ । आवश्यकता, अनिवार्यता, अपरिहार्यतालाई सही तरिकाले प्राथमिकता-क्रममा नैतिक आधारमा सदुपयोग गर्न सके अत्युत्तम हो । सबै विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण हुन नसकेझैँ संसाररूपी पाठशालामा मान्छेरूपी सबै परीक्षार्थी अत्युत्तम अङ्क प्राप्त गर्न सक्तैनन् । केही सर्वोत्तम हुन्छन्, केही उत्तम, केही सामान्य र केही असफल पनि हुने गर्छन् । अधिकांश विद्यार्थीले सर्वोत्तम अङ्क प्राप्त गर्ने धोको राखेझैँ अधिकांश मान्छेको पनि त्यस्तै धोको हुन्छ । मिहिनेती र मेधावी विद्यार्थीले मात्र त्यो सफलता पाउन सक्छन् । आम मान्छेमा पनि यही कुरा लागू हुन्छ । अहिले मेहनत-परिश्रम वा इमान्दारी र प्रतिभाले मात्र सफलता प्राप्त गरेको देखिँदैन । छोटो बाटो हिँडेर नै लामो यात्रा तय गर्ने अहिले एक प्रकारको होडबाजी नै चलेको देखिन्छ । सबै ठाउँमा मिहिनेत र इमान्दारिताले कदर पाउँदैन । नभने पनि युगीन विशेषता के हो भने धेरैतिर अचेल यस्तो देखिन थालेको छ । जालझेल, छलकपट र षड्यन्त्रजस्ता कुराले निकै सफलता पाइरहेको अहिलेको युगमा सोझो र इमान्दार भयो भने त्यस्तो मान्छे जतिसुकै मेधावी र मेहनती भए पनि जीवनसङ्ग्राममा असफल भएको उदाहरण निकै पाइन्छ । यस्तो किन भएको होला भनी विचार गर्दा मनमा के लाग्छ भने पद, पैसा र प्रभाव नै यसका प्रमुख कारण हुन् ! जसरी भए पनि पद प्राप्त गर्नैपर्ने, पैसा कमाउनैपर्ने र प्रभाव कायम गर्नैपर्ने एउटा डरलाग्दो दुर्व्यसन अहिले नराम्रोसित फैलँदै गइरहेको छ । कुनै पदमा पुगेपछि आफूलाई मात्र ठूलो देख्ने, अरू सबैलाई बाउन्ने देख्ने, पैसा कमाएपछि जस्तोसुकै माध्यम अपनाएर संसारका सबै सुखभोगको तृष्णापूर्तिमा दत्तचित्त हुने र प्रभाव कायम हुनासाथ असम्भव काम पनि गरेर समाजमा आफ्नो हैसियत प्रदर्शन गर्नैपर्ने एड्स र हेपाटाइटिसभन्दा पनि भयावह रोगले हाम्रो समाज जर्जर बन्दै गइरहेको पक्षलाई अझै पनि गम्भीर रूपमा लिइएको छैन । मानवविकासमा बुद्धि, विवेक, ज्ञान, शिक्षा, नैतिकता, अनुशासन, सच्चरित्रताजस्ता कुराहरूले प्रश्रय पाउनुपर्नेमा अहिले पद, पैसा र प्रभावलाई भगवान्भन्दा ठूलो महत्त्व दिइएको देखिन्छ । यो कुरा नमान्ने व्यक्तिहरू पनि होलान् । तर त्यस्तो सोचाइ राख्ने व्यक्तिहरू अल्पमतमा छन् । त्यस्ताहरूको विचार आज थोत्रो मानिन्छ । अहिले आदर्शको जमाना छैन भनेर त्यस्तो विचारलाई भकुन्ड्याइन्छ । जमानाअनुसारको काम गर्छु भनेर दाबी गर्नेले कस्तो संस्कृतिको प्रसार गरिरहेछ चिन्तनीय छ । कुनै व्यक्ति जतिसुकै योग्य भए पनि ऊ कुनै पदमा छैन भने मान्छे नै गनिँदैन । जतिसुकै विद्वान् र भद्र भए पनि कसैको काम गरिदिने सोर्सफोर्सजस्तो प्रभाव उसमा छैन भने विद्वता र भद्रताकै आधारमा मात्र उसलाई कसैले गन्दैन । जब सद्गुणको निस्वार्थपूर्ण कदरको ढोका बन्द हुन्छ तब दुर्गुणको स्वार्थपूर्ण कदरको ढोका उघ्रन्छ । समाजमा जब यस्ता प्रकारको संस्कृति फैलन्छ, एक दिन त्यही ज्यानमारा महामारी रोगभन्दा प्राणघातक हुन्छ । अचेल आदरसम्मानमा पनि कृत्रिमता व्याप्त छ । निस्वार्थ रूपमा गरिने हार्दिक सम्मान लोपप्रायः भइसक्यो । चाकरीचापलुसीले त्यसलाई स्थानान्तरित गरिसक्यो । खोज्नेले पनि अब सम्मान होइन चाकरी नै खोज्दछ । कसैलाई हृदयदेखि नै सम्मान गरे पनि ऊ त्यसमा सन्तुष्ट हुँदैन । ऊ बुझ्दैन वा बुझ्न चाहँदैन । चाकरी कृत्रिम सम्मान हो भने सम्मान स्वाभाविक चाकरी हो । हार्दिक सम्मानभन्दा कृत्रिम चाकरीको अपेक्षा गर्ने तथाकथित ठूलाबडा व्यक्तिहरू जतिजति समाजमा बढ्दै जान्छन् त्यतित्यति समाज खोक्रो हुँदै जान्छ । पद, पैसा र प्रभाव प्राप्त गरेपछि मान्छे चाकरीप्रिय बन्न पुग्छ । अनि उसले सम्मान गुमाउँछ । यसबाट ऊ कति गरिब भएको छ भन्ने कुरा उसले त्यतिबेला बुझ्छ जब ऊ यी तीनमध्ये कुनै वा सबै सम्पदाबाट निवृत्त हुन्छ । मैले हार्दिक रूपले सम्मान गर्ने केही व्यक्तिहरू थिए, जसलाई जहाँ भेटे पनि म बडो अदबका साथ अभिवादन गर्थेँ । मेरा मनमा उनीहरूप्रति निकै आदरभाव थियो । तर कहीँ कतैबाट मैले सुनेँ- 'त्यो फलानो त खोइ, हामीलाई टेर्दैटेर्दैन, भेट गर्न पनि आउँदैन' भन्ने उनीहरूमध्ये केहीको प्रतिक्रिया । यसमा उनीहरूको चाकरीको अपेक्षाको गन्ध प्रस्ट थियो । ती त्यस्ता व्यक्ति थिए जो कुनै पदमा पुगेका थिए वा पैसावाल थिए, वा प्रभावशाली थिए । उनीहरूले चाहँदा मलाई बेलामौकामा फाइदा पनि हुनसक्थ्यो । तर मैले चाकरीको माध्यमले फाइदा लिने बाटो रोजिनँ । त्यही नभएर मैले त्यस्तो प्रतिक्रिया सुन्नुपरेको थियो र ती त्यही व्यक्ति थिए जो पद, पैसा वा प्रभाव प्राप्त गर्न पुग्नुभन्दा अघि चाकरीप्रथाको विरोध गर्थे । मलाई त्यस्ता व्यक्तिहरूसँग रिस उठेन, बरु दया लाग्यो, किनभने उनीहरूले आफूलाई सच्चा सम्मान गर्ने व्यक्ति गुमाए । पद, पैसा वा प्रभावको मादमा उनीहरूले आफ्नो संस्कार भुले । मैले ठाउँठाउँमा उनीहरूका आदर्शवादी कुरा सुनेको थिएँ । त्यसैले चाकरीप्रदर्शन गरेर उनीहरूको अपमान गर्नु अनुचित हुन्छ भन्ने मैले ठानेँ । आफू पनि चाकरीप्रथाको विरोधी भएकाले झन् त्यसो गर्ने त प्रश्नै थिएन । तर ती महाशयहरू चाकरीप्रिय भइसकेका छन् भन्ने मलाई ज्ञान नहुनु सायद मेरै कमजोरी पो हो कि ! सत्यता र इमान्दारिताले कदर नपाउनु भनेकै असत्यता र बेइमानीले प्रश्रय पाउनु हो । यसको असर भोलि उनीहरूलाई पनि पर्दछ जसले सत्यता, इमान्दारिता, योग्यता र प्रतिभालाई चाकरीको कसीमा हेर्ने भूल गरेका छन् । पैसा त आधुनिक युगको ईश्वर नै हो । पैसा कसरी कमाएको छ भनेर हेर्ने प्रवृत्ति हाम्रो समाजमा अझै विकास भएको छैन । पैसावाल भएपछि जतिसुकै मूर्खाधिपति होस् वा जतिसुकै लन्ठाधिराज होस् ऊ समाजमा सम्मानित हुन्छ । अझ अहिले त कति छलकपटले पैसा कमाउन सफल छ त्यत्तिकै बढी सम्मानित हुने अभिशप्त प्रथा छ । धूर्ततालाई नै बुद्धिमानी ठान्ने भ्रम छ । धूर्तले आफ्नो मात्र कल्याण गर्छ भने बुद्धिमान्ले सबैको कल्याण गर्छ । तर विडम्बना, अहिले बुद्धिमान्लाई लाटो ठानिन्छ, किनभने ऊ आफ्नो विकासमा प्रायः असफल हुन्छ । अरूको त कुरा छाडौँ, स्वास्नी र छोराछोरीसमेत बुद्धिमान् र ज्ञानी नै भए पनि त्यस्तो लोग्ने वा बाबुलाई गोज्याङ्ग्रो ठान्दछन् । एउटा विद्वान्, योग्य र सक्षम मान्छेले समाजमा प्रभाव कायम गर्न सकेन भने ऊ कसैबाट पुछिँदैन र उसलाई कसैले गन्दैन पनि । अपवादस्वरूप केही निस्वार्थीहरूबाट उसले कदर पाउनु बेग्लै कुरो हो । भनसुन गरिदिने सोर्सफोर्स लगाउन सक्ने र कसैलाई बनाउन वा बिगार्न पनि सक्ने क्षमता नै प्रभाव ठानिन्छ । आफ्नो काम गरिदिने व्यक्ति जतिसुकै निकृष्ट र अयोग्य भए पनि प्रभावशाली मानिन्छ । हुन त पद, पैसा र प्रभाव सबै एकअर्काका परिपूरक हुन् । यी सबै अन्योन्याश्रित तत्त्व हुन् । तर समय र परिस्थितिअनुसार यीमध्ये कुनै घटीबढी महत्त्वका पनि हुने गर्छन् । पदले पैसा जन्माउँछ, पैसाले प्रभाव कायम हुन्छ र प्रभाव भएपछि पद पनि प्राप्त हुनसक्छ । त्यसैले यी तीन तत्त्व बेग्लाबेग्लै थरका भए पनि सगोत्रीचाहिँ पक्कै हुन् । आज समाजका तथाकथित अग्रगण्य भनिने व्यक्तिहरूबाट पद, पैसा र प्रभावको दुरुपयोग भई हुनुपर्ने काम नहुने र नहुनुपर्ने काम भएका धेरै दृष्टान्त पाइन्छन् । बोक्रे आदर्श बोकेका, छोटो दृष्टि भएका पुड्के बुद्धिमान्हरूले समाज हाँकुन्जेल योग्य, सक्षम, विद्वान्, शिक्षित, ज्ञानी, गुणी, विवेकी, भद्र तथा इमान्दार मान्छेहरू ओझेलमै परिरहन्छन् । यस्ता व्यक्तिहरू ओझेलमा पर्नु भनेकै उन्नतिमा अवरोध हुनु हो । व्यक्तिगत लाभको साटो सामाजिक र राष्ट्रिय स्वार्थलाई महत्त्व दिने र त्यस्तो छोटो सोचलाई तिलाञ्जलि दिएर उदार मानसिकताको विकास गर्नु सच्चा अर्थमा आधुनिक सोच हो । सरल हुन अप्ठ्यारो हुन्छ तर अप्ठ्यारो बन्न सरल हुन्छ । सही र सत्य बाटामा हिँड्नेलाई अनेकौँ बाधा र व्यवधान आइपर्छन् किनकि ऊ विवेकको प्रयोग गर्छ तर खराब बाटामा हिँड्नेले समस्याको सामना गर्नुपर्दैन किनकि ऊ विवेकको प्रयोग गर्दैन । भ्रष्ट र फटाहाहरू सम्मानित हुनु भनेकै सभ्य र भद्रहरू उपेक्षित हुनु हो । यो नै ठूलो मानवीय दुर्भाग्य हो । पद, पैसा र प्रभावको सदुपयोग हुने हो भने प्रगतिको अपेक्षा गर्न सकिन्छ तर दुरुपयोग हुँदा अगतिको खाडल बढ्दै जान्छ । यी कलियुगी त्रिगुणको उन्मादले आफूलाई अहिलेसम्म नछोएकाले कतै म यस्तो कुरा गर्दै त छैनँ भनेर एकपल्ट झ्वास्स आफूप्रति नै शङ्का पनि भएको छ मलाई । विराटनगर |