|
|
|
|
सिङ्गै रात ननिदाएको निद्रा साम्ब ढकाल सङ्घारबाहिर कुनै उत्सव मनाउने तयारी छ मभित्र उखुम गर्मीको बेचैनी भोगिरहन अभिशप्त छु । मेरो छेउमा शब्दका खेलाडीहरू कविताको सपनामा मस्त हुनुहुन्छ । मलाई त्यहाँ नौलो नलागेर निद्रा परेन ओछ्र्यान नविझाएर वा तन्ना नमैलिएर निद्रा परेन मलाई एउटा कारण लाग्छ निद्रा नपर्नुको मभित्र कुनै उत्ताप हुँदो हो, कविता ऐँठनको ।
म कविताको संस्करणको छनौटमा थिएँ म भावहरूको नौकाबिहारमा थिएँ ,घरि वल्लो किनार घरि पल्लो किनार मेरा आँखामा कुनै स्वप्निल क्षण नआएको पनि होइन मेरा नजिकमा कुनै नराम्रा वस्तु थिएनन् कविहरू थिए र म थिएँ मेरो छट्पटीले नराम्रो कविताधरि लेखाएन । जानीनजानी अनिद्राको गन्जागोलमा छिरेँ ।
साँच्चै , मैले निक्कै पछि त्यसरी छर्लङ्ग रात निदाइनँ कुनै बेला मेरो प्रदेशमा रातमा कर्फ्यु थिएन जुन बेला रातहरू खुसी बाँड्न आफैं आउँथे कविता गर्न जून हेर्न बेगिलो झर्ना छङ्छङाएको कान थापेर ध्यानस्थ हुन खोला सुसाएको सुन्न जङ्गल गहिरिएको हेर्न गोलसिमल विरहमा डुबेको थाहा पाउन र झलकमानहरू गाउन रात ठ्याम्मै बित्थे । खै त्यो रात केही भएन
खालि उठेर निदाएका कविहरूको वयस्क अनुहार नियाल्थेँ र म आफू निमीलनको चीरप्रतीक्षामा हुन्थेँ । तैपनि शुभप्रभात भन्नै पर्यो भनें चराहरू जस्ता हुन जहां पनि कराउंछन्, कराए, गुलुपहरूले म ननिदाएकोमा कुनै विस्मात् मानेनन्, कुनै प्रहरले खेद जनाएन उज्यालोले काउकुती हैन चिथर्यो (यस्तो नहुनुपर्थ्यो) बिहानीलाई जहाँ पनि म सधैँ अनुपम ठान्छु तर त्यो बिहान मलाई अर्कै लाग्यो (नलाग्नुपर्थ्यो)
अब यति भन्छु जीवनमा कहिलेकाहीँ त्यस्तो अरू भोगेँ ननिदाएरै निदाएँ नसुतेरै सुतेँ । हेटौँडा
(वाणी समारोह विराटनगर, 2062.05.31 प्रथम रातमा रचित)
|