|
|
|
|
धरोधर्म इराक जान्नँ --मधुवन पौडेल 'एकजना नेपालीको लास आइपुगेको छ रे एयरपोर्टमा !' 'कहाँबाट नि ?' 'इराकबाट भन्छन् !' 'हाम्ले हेर्ने हो र ? चूप लाग्नोस् ! थाहै नपाएजस्तो गर्ने नि !' अफिसभित्र छिरेको मात्र थिएँ, सेक्रेटरी मसँग गलफत्ती गर्दै थियो। प्रखर गर्मी र कामको चापले गर्दा हिजोआज हप्तैपिच्छे कामदारहरू मरेको खबर आइरहने गर्छ तर ती सबै यो देशभित्रै काम गरिरहेका हुने हुँदा आफ्नो जिम्मेवारीभित्रै पर्थ्यो। तर कहाँबाट यो फेरि इराकको लफडा आयो ? आफूले हेर्नुपर्ने पनि होइन, केही राम्रो भयो भने जस पाउने अर्कै ढेडु छँदै छन्, कहाँको यो कपालदुखाइ। फेरि च्वास्स मन दुखेर आउँछ, आखिर सबै नै आफ्नै त हुन् ! एकछिनअगाडिसम्म उठेको रिस आफैँ मेटिएझैँ लाग्छ, अनि को रहेछ, कसरी मरेछ भन्ने जान्न खुलदुली हुन्छ। 'बुझ्नोस् त ! को रहेछ ?' ' एकछिनपछि फोन गर्छ रे !' प्रत्येक चारपाँच दिनमा भित्र पसेपछि मेरो कानमा कोही मरेको, कोही भागेको, कसैलाई झ्यालखानाबाट डिपोर्ट गर्नका लागि कागजात लिएर आएको, कसैलाई अवपि(मालिक) वा मन्दुप(जनसम्पर्क गर्ने कर्मचारी) ले कुटेको आदि खबर बज्रिने हुँदा मलाई पहिलोपल्ट सुन्दा रिस उठ्ने, दिक्क लाग्ने भए तापनि एकैछिनमा सामान्य हुने भइसकेको थियो। यदाकदा अनाहकमा टेलिफोनको खप्की खानुपर्दा भने दिक्क लाग्थ्यो। मलाई मात्र किन यस्तो ? सायद नियतिमा यही लेखेको रहेछ भनेर चित्त बुझाउऩे गर्छु। पन्ध्र वर्षअघि कलकत्तामा बस्ता ज्यानै जोखिममा परेको इतिहास सम्झन्छु, वेश्यालयबाट निकालिएका रोगी केटीहरू, बेचिँदाबेचिँदै पुलिसको पक्राउमा परेका किशोरीहरू अनि आफ्नै इच्छाले धन्दामा चेलीबेटी पठाउने निरीह बाबुआमाहरू सबै नै देखिसकेको थिएँ मैले। आधारातमा नियोगको ढोकामा खटखटाउने निस्सहायहरू मात्र होइन चम्किलो मारुती मोटरभित्र गहनागुरियाले पुरिएर आउने दिदी भनाउँदाहरूसँग पनि जम्काभेट हुने गर्थ्यो मेजिस्ट्रेटको कचहरीमा। मैले साँच्चै त भनेको थिएँ- काजीलाई अर्थात् मेरो एउटा सहकर्मी साथीलाई। उसले मेरोजस्तो दुःख देखेकै छैन। तर जति सुविधाभोगी भए पनि ऊ मेरो कुरा मान्न तयार छैन अथवा बुझपचाइरहेको छ- आफ्नो भित्री मनले जानेको यथार्थतालाई ऊ अनावश्यक आक्रोश व्यक्त गरेर लुकाउन चाहन्छ। 'सर ! फोन आयो।' म झसङ्ग हुन्छु- कलकत्ताको सम्झना, अनि काजीको आक्रोशपूर्ण चिठी दुवै मेरो दिमागबाट भाग्छन्। 'कसको ?' 'त्यही अघि भनेको क्या ! इराकमा मर्ने नेपालीको लास लैजाने कुरा !' त्यसपछि म फोन उठाएर कुरा गर्न थाल्छु। हिम्मतसिं भट्टचन रहेछ मृतकको नाम। कताकता सुनेजस्तो लाग्यो। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरो थियो उसको रहलपहलको अर्थात् कति क्षतिपूर्ति पाउने हो, कति रकमको बीमा छ आदिआदि। मान्छे मरिसकेपछि कसरी मरेछ भन्ने कुरा भन्दा उसका लालाबालाले केके पाउने रहेछन् र पाउन सक्छन् भन्ने प्रश्नमा जोड दिने गर्छु। 'एक वर्ष चानचुन मात्र भयो, उसले प्रत्येक महिना घरमा पैसा पठाउने गरेकाले केही बचत रहेनछ, अलि रक्स्याहा पनि थियो, तैपनि कम्पनीले आठहजार डलर दिने निर्णय गरेको छ !' उताबाट कुनै व्यक्ति टेलिफोनमा भन्दै थियो। 'आजै कागजपत्र बनाइदिनुपर्यो, नत्र लास एयरपोर्टमा कुहिने डर हुन्छ !' मेरो आङ सिरिङ हुन्छ। एउटा यस्तै कुहिएको लासको कथा आफ्ना सहयोगीबाट सुनेको थिएँ। तर प्रायशः लास पठाउने जिम्मेवारी भएका मान्छे वा कम्पनीले यस्तै अत्तो थापेर आफ्नो काम पट्ट्याउन खोज्ने भएकाले हामी निकै सतर्क हुने गर्छौँ। 'कागजात लिनुअगाडि मृतकको नाममा रहेको र उसले पाउने रकमको चेक जम्मा गर्नुस् अनि मात्र......।' उता कुरा गर्ने मान्छेले फोन राखिसकेको थियो। 'जेसुकै होस् !' मलाई रिस उठिसकेको छ। फाइल केलाउँदा केलाउँदै डेढ घण्टा बितिसकेछ। ढोका ढकढकाउँदै एक जना अरबी अधबैँसे मुसुक्क हाँस्दै भित्र पसेपछि मेरो एकाग्रता भङ्ग हुन्छ। 'म साम्सी, केही बेरअघि महामहिमसँग कुरा गरेको थिएँ नि !' उसको शिष्ट व्यवहार र आकर्षक व्यक्तित्वले म प्रभावित भएको थिएँ। 'मेरो कम्पनीले इराकमा पनि काम सुरु गरेको छ। झन्डै दुई सय पचासजना नेपालीहरू काम गर्दैछन् अहिले !' 'तर हाम्रो सरकारले त प्रतिबन्ध लगाएको छ ! कसरी, को मार्फत लानुभयो त्यत्रो हूल ?' 'त्यो कुरा नसोध्नुहोस् महाशय ! उनीहरू चारपाँच गुना पैसा पाउँछन्, हामी कसैलाई जबर्जस्ती गर्दैनौँ। सबै नै खुसी छन्। तपाईँ चाहनुहुन्छ भने म अहिल्यै एकदुई जनासँग कुरा गराइदिन सक्छु। मलाई पनि थाहा छ- उनीहरू जसरी भए पनि किन देशबाहिर गएर काम गर्न चाहन्छन्।' म ऊसँग धेरै वादविवाद गर्न चाहन्न र ऊसँग फाइल मागेर कागजात हेर्न थाल्छु। फाइलभित्र पासपोर्ट, डेथ सर्टिफिकेट, कम्पनीको चिठी, परिचयपत्र र अरू अरबी भाषामा लेखिएका कागजपत्र थिए। पासपोर्ट झिक्नासाथ मेरा मुखबाट आत्तिएझैँ यी शब्द निस्कन्छन्- 'ओहो यो मान्छे त ?' 'हेर्नोस् त, पोहोर भर्खर नियोग खोलेको बेला रुने यही होइन ?' मेरा सहयोगी फोटो नियाल्न थाल्छन्। तर म उही मान्छे अर्थात् पहिले अनुनयविनय गर्ने, अनि रिस देखाउने, धम्क्याउने र अन्त्यमा रोइकराइ नाटक गरेर, स्थानीय कम्पनीको नियुक्तिपत्र पेस गरेर नयाँ पासपोर्ट बनाउने मान्छे ! खाइलाग्दो जवान, लक्का जवान ! हिम्मतसिं भट्टचन ! कसलाई थाहा कि उसलाई कालले कुतकुत्याएको थियो। उसले छुट्टै निवेदन पनि हालेको थियो कि ऊ इराक जाने छैन, निस्कने बेला 'नमस्ते सर' भन्दै भित्र चियाएको सम्झन्छु म। 'इराक जान नयाँ पासपोर्ट लिएको हो कि क्या हो ?' 'हैन सर ! यहीँ शारजहाँमा काम पाएको छु। धरोधर्म इराक जान्नँ !' यति भन्दै हिम्मतसिं निस्केको थियो। म गह्रुङ्गो मन लिएर कागजाततिर हेरिरहन्छु- आठ हजार डलरको चेक अनि रद्द गर्नु पर्ने उसको पासपोर्ट। 'उसलाई केही पनि हुन्नथ्यो, मेरो कम्पनीको कोही पनि क्रस फायरमा परेको छैन। त्यस दिन धेरै पिएछ र जान नहुने इलाकातिर गएछ बेकुफ !' अरबी भन्दै थियो। 'गरिमा'बाट साभार |