Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

शिक्षा

--विष्णुकुमार भट्टराई

 

शिक्षा जीवनज्योति शाश्वत नयाँ हृत्तन्त्रिको हो ध्वनि।

पूर्वाचार्य र शास्त्र सम्मति बुझी भर्ने मिठो रागिनी ।।

शिक्षा स्रोत समस्त सभ्य युगको आकार रच्ने कला।

आद्योपान्त अनन्त ज्ञान गुणमा आबद्ध यो शृङ्खला।।

 

शिक्षामा न त वाद तन्त्र झगडा हार्ने र जित्नेबीच।

क्वै आफ्नो र पराई छैन न कतै भूगोल खण्डीकृत।।

शिक्षा ज्योति स्वयम् प्रकाशित छ यो गन्तव्य पैल्याउन।

आफैँमा युगबोध सञ्चित गरी अध्यात्म ब्यूँझाउन।।

 

शिक्षामा छ सुरम्य सृष्टि रचना तत्त्वादि संयोजना।

खोल्दै लान्छ रहस्य गूढ यसले शास्त्रादिका भेदमा।।

शिक्षा मूल र फूलझैँ नखशिखापर्यन्त एकाम्य छ।

भै बाह्याबरुमा विभक्त दुनियाँ आफैँ छ खण्डीकृत ।।

 

शिक्षा गौरव देशको र जनताको श्वास-प्रश्वास हो।

आत्माका अनुभूयमान क्षणको आदर्श उद्गार हो।।

शिक्षा वाद-विवादको किचडमा हालेर मैल्याउँदा।

आफ्नै शान र मान इज्जत धराशायी हुने हुन् कि वा ?

 

शनिश्चरे 9 झापा।