Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


प्रोफेसर तपाईँ बूढो हुनुभयो ( Professor You  Are Old )

यम थापा

त्रि.वि. को पाठ्यक्रममा आधारित Norman Lewis and Wilfred Funk  को "30 days to a more Powerful vocabulary " नामक पुस्तकको अन्तिम पाठमा छापिएका दुईवटा वाक्यलाई यहाँ उल्लेख गरौँ

      The Irish Playwright George Bernard Shaw one time said that few people think more than tow or three times a year. He claimed that he had made an international reputation by  thinking as often as once a week.

      के हप्तामा एकपटक सोच्दाखेरि नै उनी विश्वविख्यात भए ? बिहान उठेदेखि राती ननिदाएसम्म हामी केही केही अवश्य पनि सोचिरहेका हुन्नौँ ? वास्तवमा हामी के सोच्दछौँ ? हाम्रो सोचाइले कसलाई पोषण गरिरहेको ? स्वयम् आफूलाई ? हाम्रा छोराछोरीहरूलाई ? हाम्रा विद्यार्थीहरूलाई ? पण्डित-पुरोहितहरूलाई ? धर्मगुरुहरूलाई ? कि राजनैतिक नेताहरूलाई ? कसलाई ? भनिन्छ मानिसको शरीरमा अदम्य ऊर्जा हुन्छ, यो ऊर्जाले कुन दिशा लिइरहेको ?

हाम्रो समाज करिबकरिब मृत अवस्थामा गुज्रिरहेको अनि हामी आफूलाई सौभाग्यशाली ठान्दछौँ हामी निरन्तर भन्दै आएका छौँ कि हाम्रोजस्तो   पुरानो सभ्यता कसैको छैन हाम्रा ग्रन्थहरूजस्ता पुराना अरूका छैनन् हाम्रा मन्दिरजस्ता पुराना कहीँ छैनन् हाम्रोजस्तो पुरानो संस्कृति कसैको छैन हाम्रोजस्तो पन्ध्र दिनसम्म मनाउन पाइने चाडपर्व झन् सायद अरू कसैको छैन, कस्तो अनौठो पहिचान ? हाम्रो देश झन् मन्दिरै-मन्दिरको देश, बुद्ध जन्मिएको देश, जनक  राजाले राज गरेको देश, सीता, भृकुटी जन्मिएको देश, पृथ्वीनारायण शाहको नेतृत्वमा  एकीकरण भएको देश, वीरहरूको देश, ठूलाठूला वादहरूले भरिएको देश, घरभित्र वादहरू, कार्यालयभित्र वादहरू, विद्यालयभित्र वादहरू, विश्वविद्यालयभित्र वादहरू जता हेर्‍यो त्यतै ठूलाठूला वादहरू हैन ? अझ हामी हाम्रा बाल-बालिकाहरूलाई जनकजस्तो होऊ, बुद्धजस्तो होऊ, सीताजस्ती होऊ, यो-वादी होऊ त्यो-वादी नहोऊ भनी उपदेशसमेत दिन्छौँ, हैन ? हामीलाई कहिल्यै यो ख्याल आउँदैन कि पुरानोपनको यो चिच्याहट यस कुराको प्रमाण हो हामीले नयाँ हुन, नयाँ ढङ्गबाट सोच्न, कल्पना गर्न धेरै पहिले बन्द गरिदियौँ त्यसकारण हामी पुरानाको मात्र कुरा गर्दै छौँ

प्रसिद्ध रुसी मनोवैज्ञानिक फ्योदोर दोस्तोयेभ्स्कीको एउटा प्रख्यात पुस्तकमा एक प्रमुख पात्रको भयभीत मनमस्तिष्कमा एउटा महत्त्वपूर्ण प्रश्न उब्जन्छ, "मानिसलाई सबैभन्दा बढी के कुराको भय हुन्छ ?" उनी आफैँ उत्तर खोज्छन्‌- "मानिस सबैभन्दा बढी कुनै पनि नयाँ कार्य गर्नबाट, नयाँ   कुरा बोल्नबाट भयभीत हुन्छ, जतिखेर पनि बकबक गरिरहन्छ त्यसकारण केही गर्न सक्दैन, केही गर्दैन त्यसकारण बकबक गरिरहन्छ, जहिले पनि पुराना कुराहरू मात्र दोहोर्याइरहन्छ "

छोरा/छोरी ! तिमीले मलाई पाल्छौ कि पाल्दैनौ ? यो प्रश्न हरेक आमाबाबुले आफ्ना छोरा/छोरीलाई दिनहुँ पटकपटक, धेरै पटक गरिने प्रश्न हो   हजुरबा-हजुरआमाले पनि त्यस्तै, काकाकाकीले त्यस्तै त्यस्तै अरू बकवास प्रश्नहरू बच्चालाई प्रश्नको झर्को लागेर कुनै बेला पाल्दिनँ भन्ने उत्तर दिन्छ अनि बच्चालाई कसैले सिकायो यस्तो कुरा, नत्रभने बच्चाले कसरी यस्तो कुरा गर्छ, भन्ने आशङ्कामा घरझगडा सुरु हुन्छ, सासूबुहारीको झगडा सुरु हुन्छ बच्चाले गाली खान्छ, आफूभन्दा ठूलाको अपमान गरेकामा, आस्था विश्वास टुटाउने प्रयास गरेकामा पिटाइसमेत भेट्छ घरमा मात्र होइन छिमेकमा पनि कतै हाम्रो शिक्षाको आधारशिला यही होइन ?

विद्यालयमा अनुशासनमा नबसेकाले, कक्षाकार्य नगरेकाले, गृहकार्य नगरेकाले शिक्षकबाट समेत गाली पिटाइ भेट्छ, फेरि घरमा भनिन्छ The aim of Education is discipline गन्तव्य नै अनुशासन हो भने एउटा कलिलो मनमस्तिष्क तथा भौतिक शरीरमाथि किन यत्रो अत्याचार गर्ने साधनमा नै विषवमन किन ? के साधन साध्य एउटै होइन ? के साध्य साधनकै विकसित रूप होइन ? विषले भरिएको साधनबाट साध्य कसरी अमृत बन्छ ?

मनोवैज्ञानिकहरू के भन्छन् भने यदि हिटलरका चारजना मात्र छोराछोरी हुन्थे भने हिटलर एउटा असल मानिस हुने थिए असल मानिस यस अर्थमा हुने थिए कि जुन मजा उनलाई बच्चाहरूमाथि Dominate गर्नमा प्राप्त हुन्थ्यो, त्यो मजा खोज्न उनले त्यत्रो भयानक युद्ध गर्न आवश्यक नै हुँदैनथ्यो भनिन्छ, संसारमा सबैभन्दा बढी अत्याचार बच्चामाथि हुन्छ हामी आफैँलाई हेरौँ , दिनभरिमा बच्चाले गरेका बीसवटा कार्यहरूमध्ये अठारवटा कार्य सीधै अस्वीकार गरिदिन्छौँ यदि हाम्रो एउटा मात्र कार्य कसैले अस्वीकार गरोस् हाम्रो मनोदशा के हुन्छ, भने बच्चा कति सहनशील ? बच्चा सबै तीता         कुराहरू एकै क्षणमा बिर्सिदिन्छ वर्तमानमा रमाउन थाल्दछ, प्रकृतिमै विलीन हुन्छ त्यसैले भनिन्छ बच्चा भगवान् हुन् तर हामी बच्चालाई भगवान् रहिरहन दिँदैनौँ बिस्तारै हामी उसलाई हाम्रो आकार दिँदै लान्छौँ तिमीले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ, यसो गर्न हुँदैन, उसो गर्नु हुँदैन यस्तो बन्नुपर्छ, उस्तो बन्नुपर्छ ठूलोलाई ज्यू गर्नुपर्छ, गुरुले भनेको मान्नुपर्छ    आज्ञा-कारी हुनुपर्छ यदि उसले अस्वीकार गरे हाम्रा मनुष्यसुधारका आधारभूत उपायहरू साम, दाम, दण्डको समेत उपयोग गरी करिब दस वर्षो उमेर नकट्दै उसलाई भगवान्बाट मनुष्यमा रूपान्तरण गरिदिन्छौँ उसको आफ्नोपनलाई, उसको प्राकृत स्वभावलाई पूर्णरूपले नष्ट गरिदिन्छौँ किनभने प्राकृत स्वभावलाई फल्नफुल्नमा सहयोग पुर्‍याउनु भनेको नयाँ कार्य हो, नयाँ सोचाइ हो, नयाँ कल्पना हो, गीतामा लागेको पूर्णविराम हटाउनु हो, नयाँ शाकुन्तल महाकाव्यको रचना सुरु हुनु हो, नयाँ बुद्धको जन्म हुनु हो, नयाँ सीताको जन्म हुनु हो, नयाँ राजनेताको जन्म हुनु हो, वैज्ञानिक सोचको सुरुआत हुनु हो तर हामीलाई भय नयाँ कार्य गर्नलाई, नयाँ ढङ्गबाट सोच्नलाई डरले काप्छौँ डराएका कारणले पण्डित, पुरोहित, धर्मगुरु, नेताका चरणमा पाउ पर्न पुग्छौँ प्रार्थना गर्छौँ