Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


वानप्रस्थ

--उत्तमकृष्ण मजगैँया

म घाटबाट फर्केर घर आइपुग्दा दिउँसोको एक बजिसकेको थियो। हातका भिजेका लुगा छतको डोरीमा झुन्ड्याएर म आफ्नो कोठाभित्र पसेँ। शरीरमा थकान थियो तर मेरो मन अझ बढी थाकेको थियो। सोफामा बसेर खुट्टा तनक्क तान्दै मैले आँखा चिम्लेँ। मेरो अति प्रिय मित्र हरिको अनुहार मेरै अघिल्तिर आएर मसँग साउती गर्न थालेको आभास भयो र आँखा खोलेर हेरेँ तर त्यहाँ गहन निस्तब्धताबाहेक केही थिएन। मनको कति कमजोर रहेछ हरि। जीवनदेखि निराश भएर झन्डै पैँसठ्ठी वर्षको उमेरमा निद्राको थुप्रै गोली एकैपल्ट खाएर सधैँका लागि सुतिदियो। म हतास भएका बेला प्रायः उसले अघिपछि मलाई जीवनप्रतिको निष्ठा र प्रेम तथा यस सुन्दर संसारप्रतिको आकर्षण र मोहबारे लेखिएका थुप्रै कविता र गीतगजल सुनाउने गर्थ्यो। एकपल्ट मेरा छोराबुहारीको दुर्व्यवहारबाट म अत्यन्त क्षुब्ध भएको बेला मैले हरिसँग भनेको थिएँ- "हामीले अब छोराहरूका लागि स्थान खाली गरिदिनुपर्छ, के तँलाई यस्तो लाग्दैन?"

"छिः.... कस्तो कुरा गर्छस् तँ? मान्छेहरू ठेस लागेर पनि मर्ने गर्छन्। हाम्रा लागि मृत्यु नबोलाए पनि एक दिन आफैँ आउँछ तर जीवन त बाँच्नका लागि हो। काल नआउँदासम्म हाँसेरै बाँच्नुपर्छ"- उसले मेरो हिम्मत बढाउन खोज्दै भनेको थियो।

मैले एक छिन एकोहोरिएर उसको अनुहारतिर हेर्दै भनेको थिएँ- "हाम्रा पूर्वजहरूको आश्रमव्यवस्था उचित नै थियो। पचास नाघिसकेपछि वानप्रस्थ भइदिन्थे। त्यसैले नयाँ पुस्तासित वैचारिक द्वन्द्वको मौकै रहन्नथ्यो।.... नयाँ पुस्ताले पुरानालाई सधैँ सङ्कीर्ण र प्रगतिविरोधी नै ठान्ने गर्छ।"

"त्यो त हो" सुख-दुःख बुझ्ने स्वास्नी मरिहाली, छोरा-बुहारीले मेरो उपेक्षा गर्ने गर्छन्। मलाई आफ्नो स्वतन्त्रतामा बाधक ठान्छन्। 'वृद्ध भइसकेको छु, त्यसैले अब म तिनीहरूका लागि अनुत्पादक  भएको छु, अनावश्यक खर्चको कारण बनेको छु। वास्तवमा म तिनीहरूका लागि एउटा बोझ साबित भएको छु। यसरी बाँच्नुभन्दा त मर्नु नै निको' अत्यन्त व्यथित भएर मैले उसका सामु आफ्नो अन्तरको पीडा व्यक्त गरेको थिएँ।

"हैन, के भन्दै छस् तँ? यस्तो नामर्द कुरा पनि सोच्नु हुन्छ तैँले? जीवन छ र त संसार छ।संसारको सौन्दर्य छ" अब हामी अरू कति बाँचौँला? बढीमा आठ-दस वर्षका पाहुना त हौँ नि" तिनीहरू आफ्नो जीवन जसरी गुजार्न चाहन्छन् गुजार्न दे, कुनै हस्तक्षेप नगर्। तेरो बाँच्ने आधार पेन्सन छँदै छ किन पीर गर्छस्?" उसले मलाई सान्त्वना दिँदै भनेको थियो।

"नित्य विभिन्न पार्टी र क्लबमा धाउँछन्। आधा रातपछि टिल्ल परेर घर आउँछन्, केही भन्यो भने अपशब्द बोल्न थाल्छन्। तिनीहरूको यस्तो व्यवहार म कसरी सहन गरूँ? मेरो जीवनभरिको कमाइ यही एउटा घर हो, त्यसलाई नै धितो राखेर मोजमज्जाका लागि ऋण लिन खोज्दा चुप लागेर त्यसै टुलुटुलु तमासा कसरी हेरूँ? तँ आफैँ भन्, म के गरूँ?" केही उत्तेजित स्वरमा  मैले उससित आफ्नो व्यथा पोखेको थिएँ।

उसले मलाई हरेक तरहले सम्झाउने प्रयास गर्थ्यो। "जीवनको दोस्रो नाम सङ्घर्ष हो, बाँच्नका लागि सङ्घर्ष गर्नैपर्छ"- भन्थ्यो तथा विभिन्न रमाइला चुट्किला र मुक्तक-प्यारोडी सुनाएर मेरो आन्तरिक पीडा घटाउने प्रयास गर्थ्यो। म आफ्नो जीवनप्रति पूरै निराश भइसकेको थिएँ तर उसले सदैव मेरो हिम्मत बढाउने काम गरेको थियो। उसले मलाई मृत्युलाई तिरस्कार गर्न सिकाएको थियो। मेरो मनभित्र जीवनप्रतिको असीमित चाहना भर्ने प्रयास गरेको थियो।

एक दिन मेरी बुहारीले ममाथि गहना-चोरीको झुटो र लज्जास्पद लाञ्छना लगाएपछि म हरिको घरमा गएर उसका सामु खुब रोएको थिएँ। उसले मलाई सान्त्वना दिँदै त्यस्ता सबै कुरा बिर्सिदिन आग्रह गरेको थियो विभिन्न उपायद्वारा तनाव घटाएर मेरो  अनुहारमा उज्यालो ल्याउने प्रयास गरेको थियो।उसका छोरा-बुहारी घरमा थिएनन्, त्यसैले उसले मलाई मन पर्ने, सुजीको हलुवा आफैँ भुट्यो, आलु तार्‍यो र चिया पकायो। दुवैले तृप्तिसाथ खायौँ। हामीले केही बेर बुद्धिचाल पनि खेल्यौँ, त्यसपछि एक छिन बजार घुम्दै पार्कसम्म पुग्यौँ। पार्कको हरियो घाँसमाथि बसेर केही बेर गफियौँ पनि। गफकै क्रममा मैले एकाएक उससित भनेँ - "एक दिन मैले तँसित ठीकै भनेको थिएँ।"

"के? कुनचाहिँ कुरा?" उसले मतिर प्रश्नसूचक दृष्टिले हेर्दै सोध्यो।

"... त्यही नि सन्तान विवेकवान् भए त ठीकै हो अन्यथा तिनीहरूका लागि अब ठाउँ खाली गरिदिनु नै पर्छ जस्तो लाग्दै छ मलाई।" मैले निकै गम्भीर स्वरमा भनेँ। मेरो मानसिक तनाव क्रमशः बढ्न थाल्यो। यत्तिकैमा उसको अनुहार पनि अत्यन्त तनावग्रस्त र फुङ्ग उडेको जस्तो रक्तहीन देखिन थाल्यो। उसले मलाई सोझै हेर्न सकेन।उसका आँखा टाढा शून्यमा कतै टोलाएजस्तो देखिए तर उसले आफूलाई तत्काल नियन्त्रित गर्दै मेरो पिठ्यूँमाथि हातले थपथपाएर मलाई सान्त्वना दिँदै भन्यो- "तँ घरिघरि यस्ता निराशाको कुरा किन गर्छस्? तैँले आफ्ना रचनाहरूमा जीवनका गीतहरू कति अघाउन्जेल गाएको छस्, त्यो बिर्सिस्?"

"कल्पना र यथार्थमा फरक हुन्छ नि! आफ्नो थाप्लामाथि परेपछि मात्रै असली पीडाबोध हुँदो रहेछ। मेरो मनको व्यथा तैँले अनुमान गर्नै सक्दैनस्" मैले पुनः छचल्किन खोजेको आफ्नो आँसुलाई बलात् रोक्ने प्रयत्‍न गर्दै भनेँ।

उसले आँखैआँखाले मप्रति मौन सहानुभूति व्यक्त गर्दै रह्यो। मैले निमेषभर उसलाई गहिरो दृष्टि हेर्दै सुस्तरी भनेँ- "म एउटा कुरा भन्छु, पत्याउलास्?"

"तैँले भनेपछि किन नपत्याउनु?" उसले मप्रति पूर्ण विश्वास प्रकट गर्दै भन्यो।

"बुहारीले ममाथि यस्तो घृणित लाञ्छना किन लगाई होली, अनुमान गर्न सक्छस्?" मैले अत्यन्त गम्भीर  हुँदै भनेँ।

"अहँ, के भयो र त्यस्तो?" उसले केही उत्सुकताका साथ सोध्यो।

"आज आफ्नै घरमा मैले त्यसलाई एकजना अपरिचित व्यक्तिका साथमा नितान्त आपत्तिजनक अवस्थामा देखेँ।" मैले आहत स्वरमा भनेँ। मैले हरिसित आँखा जुधाउने हिम्मत गर्न सकिनँ। लज्जाबोधले उसका सामु मेरो शिर निहुरियो।

मेरो कुरो सुनेर ऊ जडवत् भयो। एकाएक उसको अनुहार कालोनीलो भयो। निधारमा चिटचिट पसिना आउन थाल्यो। उसको श्वास-प्रश्वासको गति पनि केही बढेको देखियो। एउटा मित्रले अर्को मित्रको पीडा कसरी आत्मसात् गर्दै थियो म प्रत्यक्ष अनुभव गर्दै थिएँ।

"हो र भन्या?" उसले केही क्षीण स्वरमा सोध्यो।

"हो। भोगविलास र मोजमज्जाका लागि ऊ यतिसम्म तल गिर्न सक्ली भन्ने त कल्पना नै गरेको थिइनँ।" मैले दीर्घनिःश्वास छोड्दै भनेँ।

"केही भनिनस् त तैँले?" उसले कम्पित स्वरमा पुनः सोध्यो। "भनेँ नि। उसको कुकृत्य र नैतिक अधोपतनको भण्डाफोर गरिदिने धम्की पनि दिएँ तर उसले उल्टो ममाथि आफ्ना गहना चोरेको मिथ्या आरोप लगाउने दुस्साहस गरी। छोराले पनि विवेक देखाएन। उसले 'तपाईँहरूको रातदिनको झै-झगडाले म त आजित परिसकेँ। तपाईँलाई जहाँ सुख-शान्ति मिल्छ जान सक्नुहुन्छ। हामीलाई पनि अब शान्तिसँग बाँच्न दिनोस्।' भन्दै नाटकीय ढङ्गले आफ्ना हात जोरिदियो।"

"केही नबुझेर त्यसै बोल्छस्? सुन्न चाहन्छस् तेरी स्वास्नीको करतुत?" म पनि रनक्क रन्केँ।

"अहँ, म केही सुन्न चाहन्नँ। मेरी पत्‍नीलाई म राम्ररी चिन्दछु।मलाई यत्ति मात्र थाहा छ, ऊ जे पनि गर्छे यस घरको सुख-शान्तिको लागि गर्छे, मेरै लागि गर्छे। तपाईँ हामी पति-पत्‍नीका बीचमा अविश्वासको खाडल खन्ने दुष्प्रयास नगर्नुस् है।" छोराले उल्टो मलाई नै हपार्दै भन्यो। उसकी स्वास्नीको अनुहारका रेशाहरू व्यङ्ग्यले तानिएका थिए तथा ओठ धृष्टतापूर्वक मुस्कुराइरहेका थिए। उसका आँखाका कुनामा कुटिलता र धुर्त्याइँ स्पष्ट झल्किन्थ्यो।

छोराको कुरा सुनेर म स्तब्ध भएँ। मलाई भनन्न रिँगटा लागेझैँ भयो। तत्क्षण आफूलाई सह्माल्दै मैले दृढतापूर्वक भनेँ- "यो घर मेरो हो। यसलाई मैले आफ्नो रगतपसिनाले उभ्याएको हुँ। यस घरभित्र मेरी स्वर्गीय पत्‍नीको  आत्मा बसेको छ  त्यसैले म यसलाई छोडेर कहीँ पनि जान्नँ। बरु तिमीहरू नै बेग्लै डेरा खोजेर यहाँबाट तत्काल गइहाल। म अब तिमीहरूको अनुहार हेर्न चाहन्न। म बाँचुन्जेल यस घरमा कुनै पनि अनैतिक काम हुन दिन्नँ, बुझ्यौ?"

"तपाईँ मेरो बाबु हुनुको अर्थ के? के दिनुभयो तपाईँले आजसम्म मलाई? गरिबी? दुःख? पीडा?" उसले घृणा र तिरस्कारको स्वरमा मलाई हपार्‍यो। उसको मुख ह्वास्स गह्नाउँदै थियो। मैमाथि झम्टेला कि झैँ गरेर क्रुद्ध नजरले  मलाई हेर्दै थियो।

"उसको व्यवहारले म रन्थनिएँ। मेरो मस्तिष्कमा तीव्र झन्जावात चल्न थाल्यो। मनमा अनायास विरक्ति पैदा हुन गयो, रोऊरोऊँ लाग्यो, बहुलाउन मन लाग्यो। मानसिक पीडा असह्य हुन थालेपछि, तँलाई भेट्न आएको हुँ" मैले हरिसामु सबै बेलिविस्तार लाएँ।

मेरो कुना सुनेर उसले केही बेरसम्म मलाई हेरेकोहेर्‍यै गरिरह्यो। हामी दुवै मित्रका बीचमा एक क्षणसम्म त संवादहीनताकै स्थिति रह्यो। पछि मैले नै मौनता भङ्ग गर्दै भनेँ- "मैले छोरालाई राम्रो संस्कार दिन सकिनछु। उसको लालनपालनमा मबाट पक्कै पनि कतै केही कमी रहन गयो" मेरो स्वर विषादपूर्ण थियो।

हरिले मलाई गहिरिएर नियाल्दै भन्यो- "यो तेरो दोष होइन, छली-प्रपञ्ची र स्वार्थी सभ्यताको दोष हो .... तँ किन पीर गर्छस्? तैँले आजसम्म आफ्नो जीवन सम्मानपूर्वक बिताइस्- त्यसैमा आत्मसन्तोष लिन सिक्नुपर्छ। तँमाथि लगाइएको आरोपलाई कसैले पनि सत्य ठान्ने छैनन्।" उसले आफ्नो टाउको केही झुकाउँदै पुनः थप्यो- "... के गर्छस् त? बाँच्नका लागि जस्तोसुकै सम्झौता पनि गर्नैपर्ने रहेछ।"

मैले उसलाई केही बेरसम्म एकटक हेरिरहेँ तर म फेरि केही बोलिनँ। त्यसपछि म आफ्नो घर फर्केँ। मैले आफ्नो मानसिक पीडा केही कम भएको अनुभव गर्दै थिएँ। मेरो तनाव घटाउन हरि अवश्य सफल भएको थियो र ऊ स्वयम् आफू ने कति विक्षुब्ध रहेछ। तीव्र मानसिक तनावबाट मुक्तिका लागि उसले आत्महत्याको बाटो रोजेर सधैँका लागि आफ्नो जीवनलीला  समाप्त गरिदियो। म अहिले उसको दाह-संस्कारपछि घर फर्केको थिएँ।

भान्छा कोठामा मेरा लागि खाना राखिएको थियो तर मलाई पटक्क खान मन लागेन मेरो मानसपटलमा हरिकै लासको  वीभत्स अनुहार झलझली आइरह्यो। म थरर्र कामेँ। त्यस्तो असह्य र निन्दनीय बाटो अपनाएर आफ्नो प्राणत्याग गर्नु भनेको कति अनुचित र मूर्खतापूर्ण काम रहेछ - म हृदयदेखे नै यो अनुभव गर्दै थिएँ। मेरा आँखासामु हरिका छोरा-बुहारीका अनुहार पनि नाच्न थाले। तिनीहरूका आँखा रोईरोई सुन्निएका जस्ता देखिन्थे तर तिनीहरूप्रति मेरो मनमा कुनै सहानुभूति थिएन। वास्तवमा म तिनीहरूप्रति निकै आक्रोशित थिएँ। चालीस वर्षकै उमेरमा विधुर भएर पनि हरिले त्यही एकमात्र छोराको मुख हेरेर पुनर्विवाह गरेको थिएन र निकै कष्ट सहेर सानो जागिरले खर्च चलाउँदै एउटा सानो सुन्दर घर ठड्याउन समेत ऊ सफल भएको थियो। दुईचार जना मलामीहरूका मुखबाट हरिका छोरा-बुहारीको कृतघ्नताबारे जेजति कुरा मैले सुनेँ, त्यति नै पनि मलाई आक्रोशित तुल्याउन पर्याप्त थियो। हरिले मप्रति देखाएको व्यवहारबाट पनि म कम आश्चर्यचकित थिइनँ। मेरो अभिन्न मित्र भएर पनि उसले आफ्नो मनको पीडाबारे मलाई कहिल्यै केही भनेको थिएन। मेरो दुखेसो भने उसले सधैँ धैर्यसाथ सुनिरहने गर्दथ्यो। आफ्नो आत्मिक पीडालाई मनमनै छिपाएर उसले सधैँ मलाई प्रसन्न तुल्याउने प्रयास गरिरहेको रहेछ। आफू नित्य मर्दै रहेर पनि ममाथि सञ्जीवनी छर्किरहेको रहेछ उसले।

मलाई उकुसमुकुस भयो। मैले कोठाका सबै झ्याल पूरै खोलिदिएँ। कोठाभित्र पसेको चिसो र ताजा हावाले मलाई केही चैतन्य बनायो। बाहिरको दृश्य निकै सुन्दर थियो। आँपको रूख माहुरीले ढकमक्क थियो तथा साना-साना सुन्दर चराहरू मीठो स्वरमा चहकिँदै यो डालीबाट अर्को डाली उड्दै-खेल्दै थिए। आकाश स्वच्छ थियो, मेरो मन पनि क्रमशः उघ्रँदै गयो। म सोच्न थालेँ - "हरिले आफूले आत्महत्या गरेर मलाई सङ्घर्षको मार्ग सुझाएको थियो। अहँ, म कदापि मर्दिनँ। अब म हरिले जस्तै आत्महत्या गरेर मर्न चाहन्नँ, न त अपमानित र उपेक्षित भएर नै बाँच्न चाहन्छु। त्यसैले आफ्नै सन्तानबाट अपमान  सहन बाध्य भएको मजस्तो  व्यक्तिले आफ्नो बाँकी जीवन वृद्धाश्रममै बसेर शान्तिपूर्वक बिताउने चाहना राख्‍नु अनुचित किमार्थ होइन। बरु भरे-भोलि नै सबै प्रबन्ध मिलाएर मैले यस घरलाई सधैँका लागि त्यागिदिनेछु। मेरो वानप्रस्थ यही नै हुनेछ।"

मनमा यस्तो निश्चय गरिसकेपछि म क्रमशः निर्द्वन्द्व हुँदै गएँ। यत्तिकैमा कोठाको भित्तामा झुन्ड्याइराखेको मेरी प्रिय पत्‍नीको मुस्कुराइरहेको तस्बिरमाथि मेरा आँखा टक्क अडिए। मैले उनको मुस्कानमा अझ गाढापन थपिएको अनुभव गरेँ। त्यस तस्बिरलाई अविलम्ब झिकेर पुछपाछ पार्दै मैले आफ्नो सुटकेसको पिँधमा थपक्क राखेँ र मेरा अन्य अत्यावश्यक सामानहरू पनि बटुल्दै सुटकेसभित्र कोच्दै गर्न थालेँ।