Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


जब फुले आगो भएर फूलहरू

             -प्रमोद स्नेह

 

जलिरहेको मदरसा

नमाज पढिरहेका

बालकहरू

निरङ्कुश समयले पनि

जलाउन सकेको छैन

पवित्र कुरानलाई अझै ।

 

कालो धुवाँले छोपिएको

वीभत्स बिहानीमा

बालकहरूभित्र

आक्रोशको सूर्य उदाइरहेछ ।

पाइलैपिच्छेको विद्रोहलाई

बालकहरू

हरेक बमबारुदहरूलाई

फूलको वर्षा

स्वीकार गरिरहेका छन् ।

 

र साहसको सगरमाथा

उक्लिरहेछन् ।

बालकहरूभित्र

विद्रोहको नदी बगिरहेछ 

चेतनाको ज्वालामुखी

फुटिरहेछ निरन्तर ।

 

बालकहरूको कोमलहृदयमा

हिजो भविष्यका

सुन्दर फूलहरू फुल्थे

र आज फुलिरहेछन्

आक्रोशका फूलहरू,

आगाका फूलहरू ।