|
|
|
|
गजल --नारायण अधिकारी मान्छे भई बाँच्न खोज्दा नाम आफ्नै गुमाएको छु स्वाभिमान साँच्न खोज्दा, काम आफ्नै गुमाएको छु
कोही भोका कोही नाङ्गा खान-लाउन पाऊन् भनी तृप्त पार्दा अरूलाई, माम आफ्नै गुमाएको छु
गाँस छोड्न हुन्छ तर साथ छोड्न हुन्न भन्दा उभिएको जिन्दगीको, लाम आफ्नै गुमाएको छु
अभावले गाँज्यो सबलाई सहयोग गरौँ अब भनी अर्कालाई भराइदिँदा, दाम आफ्नै गुमाएको छु ।
इज्जत हुन्छ ठूलो कुरा भन्ने मान्छेहरूसँग सङ्गत गरी हिंड्दा उल्टै, मान आफ्नो गुमाएको छु
पाउनुपर्छ बस्न सबले भूगोल साझा हुन्छ भन्दै छाड्दा आसन अरूलाई, ठाम आफ्नै गुमाएको छु ।
चन्द्रगढी, झापा हालः भर्जिनिया, अमेरिका ।
|