|
|
|
|
रहस्यमय अन्धी --नरहरि शर्मा
2018 सालको अन्त्य हुनै लागेका बेला म नामसालिङ मिडिल स्कुलमा काम गर्न पुगेँ। 2019 सालमा त्यो संस्था प्रस्तावित हाइस्कुल भयो र 2020 साल चैतमा हाइस्कुलको स्वीकृति पायो। त्यसबेला नामसालिङमा बाहिरबाट आएका शिक्षकहरूलाई स्थानीय सज्जनहरूले आफ्नो घरमा निःशुल्क बस्नखान दिन्थे। यसरी शिक्षक राख्नेहरूमा ढकाल परिवार र नेपाल परिवार अग्रणी थिए। मैले स्व. धर्मप्रसाद ढकाल ( खरदारबा )को घरमा आश्रय पाएको थिएँ। त्यस घरका हुर्किसकेका छोराछोरी बाहिर पढ्न गइसकेकाले कान्छी छोरी 13 वर्षकी र कान्छो छोरो 7 वर्षको घरमा थिए। खरदारबाका एउटा भदा पनि भएकाले पढ्ने नानीहरू तीनजना थिए। बिहानबेलुका उनीहरूलाई पढाउनु मेरो काम थियो। खाए-बसेबापत। पानी टाढा थियो, गाई-बाख्रा पालेका थिए। ढिकीजाँतो गर्नुपर्थ्यो। खरदारबाको बसाइ झापामा हुन्थ्यो, यसैले घरमा काम गर्ने मानिसको खोजी भइरहेको थियो। आश्वासन एकदुई ठाउँबाट आए पनि मान्छे पाइएको थिएन। यस्तैमा मङ्सिर महिनाको एक दिन बिहानै एउटी मोटी महिला एउटी 11/12 वर्षकी केटीलाई साथ लिएर त्यो घरको आँगनमा आइपुगी। महिलाले लौरो टेकेकी थिई, उसका दुवै आँखामा कालो भाग थिएन। सेता आँखा भएकी त्यो महिला झ्वाट्ट हेर्दा रुचिकर थिइन। तिनीहरूलाई देख्नासाथै खरदारबाले भन्नुभयो, "लौ ईश्वरले मान्छे पठाइदिए।" मगन्ते महिला, त्यसमाथि अन्धी, घरको कामकाज गर्ने कुरा अविश्वसनीय थियो। दुईचार कुरा गर्दै जाँदा थाहा लाग्यो, पाँचथरतिरको लिम्बूजातकी त्यो महिला एकपटक हिँडेको बाटो हिँड्दी रहिछ, एकपटक बोलचाल गरेको मान्छे चिन्दी रहिछ। ढिकीजाँतो, पानीपँधेरो, निफन्ने, चाल्ने आदि काम गर्दी रहिछ। खरदारबाले "बस मेरै घरमा" भन्दा राजी भएर त्यहीँ बसे। त्यो अन्धी महिला आफूलो गरेको काम राम्ररी गर्दथी। पानीपँधेरो, ढिकीजाँतो दुवै मिलेर गर्दथे। कहिले आफ्नै जातीय भाषाका गीत गाँउथे, कहिले त्यो अन्धी आफ्नी भतिजी ( दिदीकी छोरी)लाई गुणा रटाउँथी।दिन राम्ररी बित्तै गए। चाँडै नै त्यो अन्धी महिला साँझ परेपछि ढोकामा मानिसको सातो आएर बसेको सूचना गर्न थाली। सातो भएको ढोकाबाट हिँड्नुहुँदैन भन्ने उसको आदेश हामी पालना गर्थ्यौँ। यस्तो सातोका बारेमा भन्दा अन्धी त्यो सातोको घर पनि करिबकरिब ठीकै बताउँथी र त्यो यति दिनमा मर्छ भनेर ठोकुवा गर्थी।उसका भविष्यवाणी धमाधम मिल्दै गए। अब अन्धी हाम्रा लागि साँच्चै डरलाग्दी र रहस्यमय भई। एउटा दैलामा सातो हुँदा हामी अर्को दैलाबाट बाहिर-भित्र गर्थ्यौँ। एक साँझ त उसले दुवै ढोकामा सातो आएर बसेको घोषणा गरी। घरमा लाठेको नाममा ममात्र थिएँ। सबको बाहिर जान बन्द भयो। आमै र कान्छी बहिनीका ओठमुख सुके। मूल दैलो, जस्केलो कतैबाट पनि अन्धी बाहिर जान दिन्न। यो त अति भयो। मैले अँगेनाका छेउमा बाल्न राखेको एउटा दाउरो टिपेँ र मूल दैला जस्केलामा पालैपालो ठाङठाङ र ठुङठुङ पार्दै कराएँ, "भाग् अनूको सातो", अन्धी "नगर, नगर" त भन्दै थिई। मैले बिसाएर सोध्दा त्यसो गर्नु नहुने तर अब ढोकामा सातो नभएको बताई। अब हामी सातोसित नडराउने भयौँ। लघार्दा लघारिने सातोलाई हामीले हेप्यौँ तर उसले सातो आगमनको सूचना दिन भने छोडिन। अझ सातोको दुई भेद समेत उसले बताई, एउटाचाहिँ मैला लुगा लगाएको, अँध्यारो घोप्टो अनुहार लाएको सातो छ भने त्यो मान्छे मर्छ तर सुकिला लुगा लगाएको, उज्यालो अनुहार उचा शिर भएको सातो छ भने त्यस मान्छेलाई फलिफाप हुन्छ, उसले चिताएको पुग्छ।उसले सेतो सातो डुलेको र ती मानिस तोकेर बताएकी थिई, हामीले अनुगमन गरेर हेर्यौँ, लप्टन्नी आमैको आसामीले पैसा बुझाएको, अर्की आमैको मासुभात खाने इच्छा पुगेको र एकजना बाबैको तीर्थ जाने इच्छा पूरा भएको पाइयो। 2020 साल जेठ महिनाको पहिलो हप्ता 4 या 5 गतेको दिन उसले मध्य दिनमा, सरे दाजुको ( मेरो ) सातो आएर पूजाकोठामा पसेको कुरा गरिछ। खरदारनी-आमाले अत्तालिएर सोध्दा त्यो मेरो सातो उज्यालो अनुहार र सुकिला लुगा लगाएको थियो अरे र मैले तत्काल चिताएको कुरा पूरा हुने कुरा भनिछ।नभन्दै त्यसै दिन सञ्चालक समितिको बैठक थियो र मलाई पढ्न जाने अवसर दिइएको थियो। उसका भविष्यवाणी अपूरा कुनै भएनन्। सबैभन्दा अचम्म लाग्ने वा विस्मयकारी भनौँ उसको भविष्यवाणी 2019साल चैतमा भएको थियो। गते त मैले हेक्का राखिनँ, त्यो दिन शनिबार थियो। छुट्टिको दिन हामी खरदारबाका माहिला छोरा स्व. ज्ञानेन्द्रसहित चार बरपीपलतिर डुल्न गएका थियौँ। त्यहाँ उनका मामाको घर थियो। त्यताबाट बाख्रा हुल्ने बेलातिर फर्कँदा सानासाना मालबाँसका लठ्ठी काटेर टेक्दै आएका थियौँ। घरमा सिकुवाको कोठामा मैले लठ्ठी ठड्याएर राखेँ। आधा सिकुवा बारेर बनाइएको त्यो कोठाको ढोका घरको मूलढोकासँगै समकोण परेको थियो। घरभित्रबाट बाहिर निस्कने जसको पनि आँखा त्यो कोठामा पर्दथ्यो। कोठाको पल्लो थोउमा एउटा खाट, त्यसकै सिरानतिर एउटा लामो बेन्च र बीचमा टेबल थियो। अर्को एउटा लामो बेन्च टेबलभन्दा केही पर खाटको खुट्टातिर पश्चिमपट्टि फर्केको थियो र सिकुवाको कोठामा आँगनपट्टि एउटा झ्याल थियो। साँझ पर्दै थियो। भाइबहिनीहरू हात खुट्टा धोएर पढ्न बसे। म काठको बारमा अडेसिँदै झ्यालको छेउमा बसेँ। झ्याल बन्द गरेको थिएन। मेरो कुमदेखि माथिको अङ्ग झ्यालमा थियो।भाइबहिनीले सोधेका कुरा बताउँदै थिएँ। अन्धी भित्रबाट दैलो समात्दै बाहिर निस्किई। मूल दैलाबाट सिकुवामा खुट्टै नटेकी उसका सेता आँखा झन् ठूला र डरलाग्दा पारेर चिच्याई, "आब्बुई, सरेदाजुको पछि सातो छ।" म झसङ्गै तर्सेँ। दिउसो बनाएर ल्याएको लठ्ठीमा हात पुग्यो।त्यही उठाएर ठाङठाङ र ठुङठुङ झ्यालमा ठटाएँ र खाटतिर सरेर बसेँ। अन्धी ( उसको नाम बुधुमाया भन्थी ) गुनासो गर्न थाली, "सरेदाजु ! तैँले नराम्रो काम गरिस्। त्यो सातो त यो गाउँको होइन, तेरो गाउँको मतवाली केटाको हो। 14/15 वर्षको कालो वर्णको केटो छ, खोलामा सातो गएको रै'छ। आजको रात काट्दैन, बिचरा।" सधैँ त्यै नामसालिङ गैरीगाउँवरपरका मानिसको सातो देख्ने अन्धी अब खोला पारी माघेसम्म पुगी। हामीले उसको खिल्ली उडायौं, ऊ एक छिन गनगन गरेर चुप लागी। पछिल्लो हप्ता घर आउँदा थाहा भयो, अन्धीले भनेकै मितिमा, उसले भनेकै जात, उमेर र वर्णको अमृतबहादुरदाइको छोरो परलोक भएको रहेछ। चैत महिनामा त्यस बेला हाम्रा गाउँलेहरूलाई धेरै फुर्सत हुन्थ्यो र खोलामा खेल्न जान्थे, दुवाली थुन्थे, माछा समात्थे। त्यस दिन पनि गाउँलेहरूसँग 'काले' खोलामा झरेको थियो अरे, दुवाली थुनेछन्। अरूले त माछा समात्न पनि सकेनन् अरे, कालेले चाहिँ निक्कै माछा समातेको थियो रे। खोलैदेखि टाउको दुख्यो भन्दै घर आएको काले आमाले माछा पकाइ नसक्दै सकियो अरे। हाल आएर रेडियो र टिभीबाट बोक्सीका कुरा सुन्दा म पनि पत्याउँदिनँ र नाति-नातिनालाई नपत्याउने उपदेश दिन्छु तर जब त्यो अन्धी बुधुमाया सम्झन्छु, मेरो वैज्ञानिकता, आधुनिकता र प्रगतिवादिता कताकता ओझेलमा पर्दछ र म निर्णय केही लिन सक्दिनँ।
|