|
|
|
|
केही लघुकथाहरू -लक्ष्मण नेवटिया रक्तदान 'रक्तदानमा पहिले नाउँ मेरो लेख ।' 'होइन पहिले नाउँ मेरो लेख ।' 'क' र 'ख'मा झगडा बढ्दै गयो । दुवै आ-आफ्नो अडानमा कायम थिए । त्यत्तिकैमा खबर आयो समयाभावले मन्त्रीज्यू रक्तदान कार्यक्रमको उद्घाटन गर्न आउन नभ्याउने भएकाले सिभिल सर्जनबाटै उद्घाटन गरिने कार्यक्रम तय भएको छ । अब 'क' र 'ख' बीचको झगडा साम्य भयो । दुवै "पहिला तपाईँ नै गर्नुस्, होइन तपाईँ नै गर्नुस्"को मुद्रामा थिए ।
आयोग-गठन
उग्रवादीहरूले एउटा गाउँमा पसेर आगो लगाए । लाखौँको सम्पत्ति स्वाहा भयो । विभिन्न मन्त्री, नेता पीडित पक्षलाई सहानुभूति र समवेदना दिन गाउँ पुगे । मन्त्रीजीले सो काण्डको जाँचआयोग गठन गर्ने घोषणा गरे । "हजुर ! जाँचआयोग गठन गरेर त्यसको प्रतिवेदन सरकारी दराजमा राख्नुको सट्टा बरु सो आयोगमा खर्च हुने बजेटको आधा रकम हामीलाई पाऊँ, हाम्रो जलेको गाउँ बन्छ ।" गाउँलेहरूको अनुरोध थियो ।
आदेश
सधैँ कार्यालय ठीक एक घण्टा ढिलो गरेर आउने हाकिमसाहेब आज आधा घण्टामात्र ढिलो गरेर आएका थिए । त्यत्तिकैमा अफिसका सुब्बा श्यामजी पनि आएछन् । हाकिम रिसाए । "अफिस समयमा आउनुपर्दैन ? आधा घण्टा ढिलो गरेर आउनु हुन्छ ?" श्यामबाबूले भने 'हस् हजुर, गल्ती भयो माफ पाऊँ, भोलिदेखि समयमा आउनेछु ।' तर सधैँ पौने घण्टा ढिलो गरेर आउने श्यामबाबू आज पन्ध्र मिनेट छिटो आएका थिए । यो कुरा एक घण्टा ढिलो गरेर आउने हाकिमलाई कसरी बताऊँ, उनी सोच्दै थिए ।
प्रशंसाको लोभ
ब्वाँसो आएको हेर्दै सबै कछुवाले आ-आफ्नो घाँटी लुकाएछन् । घाँटी नसमाई कछुवालाई मार्नु उसको लागि गाह्रो काम थियो । अन्ततः ऊ सबैभन्दा मोटो कछुवाको छेउमा पुगेर उसको प्रशंसा गर्न थाल्यो । "भगवान् विष्णुले पनि कच्छपजातिमा अवतार लिएको तपाईँको कछुवाजाति महान् छ । हे प्रतापी वीर कछुवाधिपति ! धन्य छौँ हामी तपाईँको दर्शन पाएर, यो श्रद्धा गाँसिएको सयपत्रीको माला हजुरलाई लाउन पाए यो सेवक धन्य हुने थियो ।" ब्वाँसाले बल्ल अब मेरो पुरुषार्थ चिनेछ र मलाई माला लगाएर अभिनन्दन गर्न चाहिरहेको छ । भगवान् विष्णुले पनि कच्छप-अवतार लिएको, वास्तवमा म त कच्छपनरेश पो रहेछु । सोच्दै घाँटीमा माला थाप्ने लोभ थाम्न नसकी ब्वाँसोको प्रशंसाबाट प्रफुल्लित भएर मोटो कछुवाले घाँटी बाहिर के निकालेको थियो, झट्ट ब्वाँसाले घाँटी च्याप्प समातेर आफ्नो दुनो सोझो गर्नमा लागिसकेको थियो ।
|