|
|
|
|
लघुकथा पूर्णता कृष्ण बजगाईँ उनको आत्महत्याको खबरले सारा टोलवासी अचम्भित र स्तब्ध भए । कुनै दुःख, पीडा र अभाव नभएकी एक बच्चाकी आमाले किन र कसरी आत्महत्या गरिन् त - बडो रहस्यमय भयो त्यो आत्महत्या छिमेकीहरूलाई । छिनमै ठूलो भीड जम्मा भयो गाउँलेहरूको त्यस घरमा । सबैले उनलाई असल गृहिणी, ममतामयी आमा, पतिव्रता पत्नी र असल छिमेकीको रूपमा देखेका थिए । व्यवहारकुशल, भद्र र शालीन व्यक्तित्वका धनीका रूपमा परिचित थिए उनका श्रीमान् छिमेकमा । त्यस्तो अप्रिय निर्णय लिइहाल्नुपर्ने कुनै कारण नभएको ठहर गरे छिमेकीहरूले । बडो दुखी भए सारा टोलवासीहरू । मृतकको सिरानअगाडि विषको बोतल र केही लेखेर छोडिएको पत्र प्राप्त भयो । अब सबैको कौतुहलको विषय बन्न पुग्यो त्यो पत्र । पत्र पढ्नलाई भीडले जोड गर्यो । र पत्र पढ्न सुरु गरियो । लेखिएको थियो-"जिन्दगीमा अरूलाई खुसी पार्न आफू दुखी हुनुपर्यो । एउटासँग प्रेम गरेँ, बाबु-आमालाई खुसी राख्न अर्कैसँग विवाह गर्नुपर्यो ।र उसले बाँचुन्जेल प्रेममात्रै दियो अरू केही गर्न सकेन । जससँग विवाह गरेँ उसले विवाहित भएको प्रमाण मात्रै दियो । बाँकी भूमिका निर्वाह गरेन । तेस्रो व्यक्ति जसले आइमाई हुनुको पूर्णता दियो । त्यसभन्दा बढी हिम्मत गरेन । पूर्ण पुरुषको खोजीमा तीनजना अपूर्ण पुरुषहरूसँग सम्बन्ध स्थापित भयो । ती अपूर्ण पुरुषसँगको सम्बन्ध सँगसँगै बढाउन कठिन भो । फलस्वरूप पूर्णताको खोजीमा चिर यात्रामा निस्केकी छु ।" पत्रको ब्यहोरा सुनेर भीड छक्क पर्यो । घृणा, दुःख, सहानुभूति र समवेदना व्यक्त गर्दै भीड क्रमशः पातलिँदै गयो । अन्तमा अवाक् तीनजना पुरुष मात्रै बाँकी थिए त्यस मृत शरीरको अगाडि ।
-धरान, हाल ब्रसेल्स, बेल्जियम
|