|
|
|
|
मनसुनबाट भागेर --ज्योति जङ्गल
एक अँगालो वर्षात् निर्बाध झरिदिन्छ झमझम ममाथि र पोखिदिन्छ भित्र कतै अल्झिएका तिम्रा यादहरू ल्याएर आँखाभरि।
म, यो मौसम, मनसुन र वर्षात् अथवा तिम्रै यादसँग पनि युद्ध गर्न सक्दिनँ अचेल।
यी छिटाहरू, पानी हुन् रैपनि न्याना छन्, यी लरङ्गहरू, कतै भाग्छन्, रैपनि आफ्ना छन् जो सधैँ तिमीलाई बोकेर मेरो आकाङ्क्षासम्म आइपुग्छन्।
उनीहरूसँगै म हेरिरहेछु तिमीलाई म छोइरहेछु तिमीलाई
ब्रह्माण्डको पल्लो छेउ पनि नजिक आइपुग्छ र छेवैबाट गुज्रन्छ तिम्रो स्पर्श दिएर यो हावासँगै। म पनि त यो हावासँगै तिमीसम्म आइपुगेको छ सुस्तरी छोएर हेर त !
विराटनगर
|