|
|
|
|
साहित्यका मपाईँहरू-१ -डा. नरेन्द्र चापागाईँ
समाजमा धेरै थरीका मपाईँहरू हुन्छन् । एकथरी राजनीतिका मपाईँहरू हुन्छन् जो आफ्ना विचारका प्रतिकूल कोणमा उभिनेहरूलाई हान्ने राँगाले झैँ आँखा फुकालेर हेर्ने गर्दछन् । अझ यस वर्गका आशीर्वादले उचालिएकाहरू त काला सापले झैँ फुत्कारेर आफूभित्रको हीनताभावलाई ढाकछोप गर्ने गर्दछन् । एकथरी धनका मपाईँहरू छन् जो निर्धनहरूलाई गोहीले माछालाई झैँ माया गर्छन् । अझ टुप्पाबाट पलाएकाहरू त निमुखाहरूलाई यसरी हेर्ने गर्दछन् जसरी बनढाडेहरू कुखुराहरूलाई हेर्ने गर्दछन् । वैचारिक अभ्यासले पाकेका र आशीर्वादले उचालिएका राजनीतिका भालेहरू पुर्ख्यौली अर्थसंस्कारले औताएका र टुप्पाबाट पलाएका धनका ढाडेहरूको चरित्राङ्कनलाई भन्दा आफ्नै प्रतिभाका उपज साहित्यका स्रष्टाहरू र अर्काको चोरचार गरेर तथा अरूले कोरकार वा फेरफार गरिदिएर कृत्रिम साहित्यकार बन्ने सौभाग्य पाएका मपाईँहरूलाई चिनाउने प्रयासाई यस लेखमा महत्त्व दिनु उचित ठानिएको छ । कुनै पनि साहित्यकारलाई उसको कृतित्वसँगै तत्कालीन परिवेशले परिभाषित र प्रतिष्ठित गर्दै लगेको हुन्छ । जसले समयको मागअनुसार साहित्यको रचना गर्दछ त्यसलाई उसका कृतित्वले भन्दा समयले नै मास्तिर उठाउने काम गर्दछ । यस सन्दर्भमा साहित्यकारले उसभित्र उम्लिएका मपाईँ सार्थक-निरर्थक के भइरहेको छ बुझ्न सकिरहेको हुँदैन । असल साहित्यकारले आफ्ना प्रतिभाको उपयोग साहित्यसिर्जनामा गर्दछ तर उसको सिर्जनाको मिठास पाठकहरूले नै ठम्याउने काम गर्दछन् । फूलका बोटको धर्म फुल्नु हो र फूलको धर्म सुगन्ध प्रवाह गर्नु हो । फलका बोटको धर्म फल्नु र फलको धर्म स्वादको सञ्चार गर्नु हो । वस्तुतः न फूलका बोटले फुल्नुको मपाईँ राख्तछ न त फूलले सुगन्ध प्रवाह गरेकोमा मपाईँको भाव राख्तछ अनि न फलका बोटले फलेकोमा न त फलले स्वादको सञ्चार गरेकोमा नै मपाईँको राग अलाप्तछन् । सृजनाकालीन परिवेशले पनि साहित्यकारलाई परिभाषित र प्रतिष्ठित गरेकोमा मपाईँको उद्घोष गरिरहँदैन । बरु पाठकहरू सिर्जनाका मिठासको व्याख्या गर्न सक्तछन् । असफल साहित्यकारहरू भने साहित्यको सिर्जना गरेबापत आफूमा सिङजुरो पलाएको ठानी साँढेझैँ मपाईँ डुक्रन थाल्दछन्, अहन्ताको प्रलाप गर्न थाल्दछन् । साहित्यकार कि त मान्छेका मुखुन्डो लगाएका दानवहरूका शोषणको पीडा शमन गर्न कि त लघुताभासलाई ढाकछोप गर्न साहित्यको सिर्जना गर्ने गर्दछ । पीडाशमनका लागि गरिने सिर्जनामा विद्रोहको रन्को अन्तर्भूत रहने गर्दछ भने लघुताभासलाई ढाकछोप गर्न गरिने र्सिजनामा प्रख्यातिको तीव्र चाहना अभिव्यञ्जित रहन्छ । साहित्यसिर्जनाको तेस्रो प्रयोजन यौनविकृतिको समुद्घाटन हो । यस अन्तर्गत अतृप्त यौनकामनाका परिपूर्तिको भ्रम सँगाल्ने काम गरिन्छ । शोषणबाट भएको पीडा, लघुताभासको क्षतिपूर्ति एवम् यौनतृप्तिको भ्रमपूर्ण अनुभूतिसँग सम्बन्धित साहित्यका स्रष्टाहरूमा बढी मपाईँ रहेको पाइन्छ । पीडाको ज्वाला दनदनाउँदा त्यसको रन्को सहन नसक्ता सिंहगर्जनद्वारा आफूभित्रको सुषुप्त मपाईँलाई अभिव्यक्त गरेर यस वर्गका साहित्यकारहरू सन्तोषको सास फेर्ने गर्दछन् । मनोग्रन्थिमा हीनताबोधको उग्रता उकुसमुकुस रहँदा कीर्तिपिपासु साहित्यकारहरू आफ्नो अभिव्यक्तिका माध्यमबाट मपाईँको साँढेडुक्राइलाई प्रदर्शित गर्ने गर्दछन् । नसानसामा यौनविकृतिको रगत सनसनाउँदा सपनाविपना छिहिल्लिएका बोकाको ओठलेप्य्राइ र चटारिएका पठेक्रीको पुच्छरहल्लाइका शैलीमा आफ्नो मपाईँको राग हुरेल्न चाहने साहित्यकारहरू सधैँ अतृप्तिका डाहलाई शान्त गर्ने प्रयासमा रहन्छन् । शोषणको पीडाबाट जब विद्रोहको ज्वाला उर्लन्छ तब त्यसबाट मुक्तिको कामनाका साथै समाजपरिवर्तनको वाञ्छा एवम् स्वअस्तित्वको स्थापनार्थ आफ्ना जाज्वल्यमान चिन्तनको चिराग बाल्दै साहित्यकारहरू मपाईँको तीव्र वेगलाई साहित्यिक अभिव्यक्तिका रूपमा उराल्न चाहन्छन् । यस्तो चर्को अभिव्यक्तिले पाठकहरूका मनमा सुषुप्त अवस्थामा रहेका पीडा र विद्रोहलाई एकसाथ बिउँझाउन पुग्दछन् र सङ्घर्षका लागि चाम बाँध्दै मुठ्ठी बटार्न थाल्दछन् । यस सन्दर्भमा साहित्यस्रष्टा र साहित्यभोक्ताका मनोधरातलमा सामञ्जस्य उत्पन्न हुन्छ र ती दुवै वर्गको आकाङ्क्षा नवसमाजको संरचनाखातिर सचेत र क्रियाशील रहन्छ । यस वर्गका साहित्यकारहरू भाव र भाषा वा वस्तु र रूप दुवैमा सन्तुलनको स्थिति सिर्जना गर्ने प्रयासका लागि साधनारत रहन्छन् । यस किसिमको साहित्यस्रष्टाका मपाईँमा सामूहिकताको छवि झलमलाएको हुन्छ, पाठकहरूमा चेतना पस्कने जाँगर जुरमुराएको हुन्छ, समाजलाई परम्परा र यथास्थितिमा अँध्याराभासबाट उज्यालाका पहारिला पटाङ्गिनीतिर रूपान्तरित गर्न रौसिएको हुन्छ, मानव-मानवका बीचमा रहेका होचीअर्घेली हटाउने प्रखर विचारको मोहिनी लुकेको हुन्छ । यसमा मानवताको शुभसन्देश मुखरित रहेको उत्कर्षचिन्तन रहन्छ । लघुताभासको अभिव्यक्तिस्वरूप ख्यातिको तीव्र कामना रहेको साहित्यमा अन्तर्वस्तु गौण रूपमा र रूप प्रमुख रूपमा रहेको हुन्छ । यस्ता साहित्यको वस्तु रूपभित्र अलमलिएको हुन्छ । रूपीय चमत्कारको जालोमा अल्झेर मुखरित हुन नसकेका अवस्थाको विचारमा जीवनको अस्पष्ट छाया चलमलाएको हुन्छ, जीवनप्रतिको निराशा र अनास्था प्रतिबिम्बित रहेको हुन्छ, व्यक्तिवादी चिन्तनको झल्को कुण्ठित अवस्थामा रहेको हुन्छ । यस्तो साहित्यको सिर्जना गर्ने साहित्यकारका मनमा समुदिन हुने मपाईँ बाहिरबाहिर जति कलात्मकताप्रति र सौन्दर्यसज्जाप्रति आसक्त रहन्छ भित्रभित्र त्यति नै जटिल, कुरूप, कायर, विसङ्गत, पलायित, कुसङ्गत, असङ्गत स्वरूपमा विचलित रहेको हुन्छ । एउटी कुरूप आइमाईलाई राम्री बनेर अरूमा आकर्षणको जालो बिछ्याउन सक्तो शृङ्गारको आवश्यकता पर्छ। ठीक त्यसै गरी दुर्बल अपूर्ण, विच्छृङ्खलित तथा विचलित भाव वा विचारलाई शब्दजालमा बेरेर कलात्मकताका नाउँमा जटिल बनाउने मोह त्यस्ता साहित्यकारका मपाईँमा अन्तर्निहित रहेको हुन्छ । यस किसिमको प्रवृत्ति लघुताभास वा हीनताबोधको उपज हो । जसको स्पष्ट विचार हुँदैन, स्थिर चिन्तन हुँदैन र ती विचार र चिन्तन लक्ष्योन्मुख हुँदैनन् अनि जसको आस्था र विश्वास आफ्नै अस्तित्वप्रति पनि रहँदैन त्यसको सोच चमत्कार एवम् आडम्बरको प्रदर्शनप्रति अभिरत रहन्छ । यस्तो अवस्थामा मपाईँका स्वरूपले पनि उत्कर्षता प्राप्त गर्दछ र त्यो उत्कर्षता वैयक्तिकतातिर परिसीमित रहने गर्दछ, सङ्कीर्ण बन्ने गर्दछ । अरूले कोरकार वा फेरफार गरिदिएर साहित्यकार बन्ने सौभाग्य प्राप्त गरेकाहरूको मपाईँ भित्रभित्रै त्रास र लघुताभासले ग्रसित हुँदाहुँदै पनि बाहिरबाहिर भर्खरै पाइन चढाएको खुकुरीझैँ चम्कने कोसिस गर्दछ । प्रतिभा भुत्ते भए पनि, सीपमा खिया लागे पनि र साधनामा आलस्यले राज गरे पनि साहित्यकारको पङ्क्तिमा दरिन पाउँदा त्यस्ता साहित्यकारका मपाईँले धर्तीमा पाइला टेकिरहेका साहित्यकारहरूलाई पुड्कापुड्की देख्ने गर्दछ अझ धनको नसा लागेको वा राजनीतिका आशीर्वादले उचालेको मपाईँ त झन् खपिनसक्नुको हुन्छ, ऊ जताततै हाईहाई हुन्छ तर उसले आफ्नो औगातचाहिँ भुसुक्कै बिर्सिसकेको हुन्छ । उसको बाहिर फैलेको कृत्रिम ख्याति र उसभित्रको ठस्स गनाएको यथार्थका बीचमा विरोधाभास द्वन्द्वशील अवस्थामा रहिरहन्छ । त्यस प्रकारका विरोधाभासले उसका अवचेतन मनमा झस्का दिइरहन्छ, प्रेतले झैँ तर्साइहन्छ । त्यस्ता साहित्यकारहरू महत्त्वाकाङ्क्षातीत सपनाका सागरमा डुबुल्की मारिरहन चाहन्छन्, आफ्ना पारिएका रचनाहरूको गुणयुक्त समालोचनाको आस गर्दछन्, तल्ला खुड्किलो नटेकीकनै सिरानमा पाइला राख्न खोज्दछन् । उनीहरूको मपाईँ साह्रै उत्ताउलो बनेको हुन्छ तर पनि रहस्यको बादल फाट्ला कि भनेर चाहिँ बहुतै त्रसित रहेको हुन्छ । भगपिपासु भगवान् जस्तै बन्न खोज्दछन् भगेश्वर साहित्यकारहरू पनि । भगसाहित्यले सामान्यतः नैर्सर्गिकताको बोध गराए पनि त्यसका स्रष्टाहरूमा रहेको मपाईँ ढुसी परेका ठेकीको गन्धझैँ मगमगाउने गर्दछ, नाकै प्वाट्ट फुट्ला जस्तो हुन्छ । सम्पूर्ण नैतिक मूल्यहरूलाई त्यसले दुर्गन्धित बनाउँदछ, तापनि कतिपय पाठकहरू भने त्यसलाई लुकीलुकी निरन्तर पढ्ने र सुषुप्त यौनेच्छालाई सन्तृप्तिका सन्निकट पुर्याउने गर्दछन् । समाजमा रहेका सयकडौँ बाह्य तथा आन्तरिक समस्याहरूप्रति आँखा चिम्लेर यौन समस्यालाई मात्र साहित्यको विषय बनाउने मपाईँ अवश्य पनि विराट् भावना र विराट् दृष्टिचेत रहेको व्यक्तित्व होइन । कामपिपासा नै जीवनको मूल तत्त्व हो भन्ने कुरो त्यतिखेर मात्र सिद्ध हुन्छ जतिखेर मानिस गर्भाधान गर्न गराउनमा मात्र सीमित रहन्छ, पाशविक वृत्तिसँग मात्र सम्बन्धित रहन्छ । लघुताभासलाई र सामूहिक अचेतनलाई जीवनको मूलतत्त्व मान्ने मनोदार्शनिकहरू मानवप्रकृतिका बढी सन्निकट रहेका देखिन्छन् । यसले गर्दा मानवीय प्रकृतिलाई पाशविक प्रकृतिसँग अर्थ्याउने मनोदर्शन कुण्ठित र सङ्कुचित सिद्ध भइसकेको छ र यसलाई पृष्ठभूमि बनाएर सिर्जना गरिएको साहित्य मानवीय मूल्यबोधका सर्न्दर्भमा अव्याप्त दोषले ग्रसित बनिसकेको छ । साहित्यका मपाईँहरू समाजमा अनेकौँ अनुहारहरू लिएर विराजमान रहेका छन् । आत्मरतिले ग्रसित त्यस्ता मपाईँहरू बाहिरबाहिर जस्तो सुकै हुङ्कार गर्न सिपालु रहे पनि भित्रभित्रचाहिँ हीनताबोधले ग्रसित बनिरहेका हुन्छन् । हीनताबोधका रापले कसैलाई उच्चताबोधको सिकार बनाएको छ, कसैलाई अरूका तरक्कीले पिल्स्याएको छ, कसैलाई छिद्रान्वेषणका गन्धे आहालमा डुबुल्की मार्ने स्थितिमा पुर्याएको छ अनि कसैलाई 'अङ्गुर अमिलो छ' झैँ निराशाका खाडलमा जाकेको छ । त्यस्तै यसले कसैलाई सम्मानको थान थाप्न लगाएको छ, कसैलाई पुरस्कारको कारागारतिर धकेलेको छ । तर त्यस्ता मपाईँहरूले के चाहिँ सोच्नु आवश्यक देखिन्छ भने हामीहरू कुन पानीमा छौँ, आफूमा भएको पानीअनुसार नै महत्त्वाकाङ्क्षाको आकाशमा विचरण गरिरहेका छौँ कि त्यसका मर्यादाको उल्लङ्घन गर्दै हावामा उडिरहेका छौँ, आफूहरूका सिर्जनाले समाजमा कस्तो प्रभाव पारिरहेको छ, त्यस प्रभावले समाजलाई परम्पराका अन्धकारबाट परिवर्तनका उज्यालातिर अभिप्रेरित गरिरहेको छ कि छैन अनि यथास्थितिका भासबाट उकासिरहेको छ कि छैन । आफ्ना सिर्जनाको गुणात्मक मूल्यका परिधिमा मपाईँलाई कैद गरेर राख्नुमा नै व्यक्तिस्वाभिमानको उदात्तीकरण हुन सक्दछ ।
|