Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


चीँमुसी खेलिरहेका साना नानीहरू

-अमृतलाल श्रेष्ठ

वल्लो घरबाट/पल्लो घरबाट

माथ्लो घरबाट/तल्लो घरबाट

भेला भएका साना नानीहरू

घरको आँगनमा बसेर

कहिले चीँमुसी चीँ खेल्छन्

कहिले बेहुला-बेहुली हुन्छन्

कहिले लुकामारी खेल्छन्

कहिले चोर-सिपाही भएर खेल्छन् ।

अर्थात्

साना नानीहरू कलाकार नभए पनि

अभिनय गर्न सिपालु छन्

तिनै साना नानीहरू

ठूला भएपछि नेता हुन्छन्

चुनावमा जितेर विधायक बन्छन्

आफूले बनाएको विधानका पाना च्यातेर

कहिले जाडामा आगो बालेर ताप्छन्

कहिले गर्मीमा पङ्खा बनाएर हम्किन्छन्

कहिले चिसो भुइँमा ओछ्याएर बस्छन्

कहिले पानी पर्दा टाउकामा ओढ्छन्

त्यसो नगर भनेमा रिसाउँछन्

तिनैका विरुद्धमा

नारा, जुलुस र सभा गर्छन्

ठूलाठूला चर्का भाषण गर्छन्

कोही सत्तापक्ष हुन्छन्

कोही प्रतिपक्ष हुन्छन्

कोही मर्यादापालक हुन्छन्

अधिवेशन गर्छन्/प्रस्ताव पारित गर्छन्

कहिले प्रजातन्त्रको कुरा उठाउँछन्

कहिले मानवाधिकारको कुरा गर्छन्

ठूला नानीहरूका अभिनय देखेर

उनीहरूका खेल-खेलौना सम्झेर

जनता भोको पेटमा पटुकी कसेर पनि

टुलुटुलु हेर्दै थपडी बजाइरहेका हुन्छन् ।

 

धुलाबारी, झापा