Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

तिम्रो अनुपस्थितिमा

--कृसु क्षेत्री

 

माघेझरीमा

मनको बलेँसीबाट

भित्ताको तिम्रो तस्बिरसगै

बगिरहन्छ सम्झनाको हुस्सु

 

अभिशप्त मन

दुख्दै छ तिम्रो यादमा

एक्लै छटपटाइरहन्छ

सुहागरातको सिरानी

कसैको सौभाग्य कुरिरहेछ

बैँस कुँजिएको

बिजोडी सारौँ चरो

 

फुङ्ग उडेको छ

नगरकोटको डाँडो

छेउमा नमीठो धुनमा

अविरल रोइरहेको छ झरना

बरन्डामा ओइलाएको छ

गमलाको रातो सुनाखरी

 

बैरागलाग्दो रङमा

पोतिएको छ क्षितिजभरि

आकाश

पहिरो गएर खण्डहर छ

प्रेमको सहर

रोगी कुकुरसँगै रोइरहन्छ

हरेक रात भ्वाइलेन

सबेरै निथ्रुक्क भिजाउँछ

वियोगको शीत

 

मैनबत्तीको मधुरो प्रकाशमा

जडवत छायाझैँ तिमी

विस्मृतिमात्र बाँच्छ्यौ

हुरी सल्कन्छ कोठामा

निभाउँदै मैनबत्ती

सदैव उडाएर लैजान्छ

तिम्रो आकृति

 

यस्तो लाग्छ

जुलुसझैँ आउँछन् दुःखहरू

तिम्रो अनुपस्थितिमा ।