Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

अमेरिकाको पहिलो रेलयात्रा

- केशव सुनाम

      बिहानै उटेर मैले हिजोसम्मको आफ्नो यात्राको विवरण दिँदै इटहरीमा पुनम र छोराछोरीलाई पत्र लेखेँ। अनि ब्रेकफास्टपछि जर्जले मेरो पोर्टल्यान्ड ( अरेगन स्टेट) जाने रेलको समय हुन लागेको जानकारी दिनुभयो।

       म एकै छिनमा तयार भएँ। जर्जले कोठामा आएर मेरो ठूलोचाहिँ सुटकेस झुन्ड्याउनुभयो र तल आँगलमा झर्नुभयो अनि बान्डी पनि आँगनमा निस्किइन्। अनि फेरि त्यही हिजो बेलुकाको दृश्य दोहोरिएको थियो।

      मात्रै तीन दिनको बसाइ थियो तर पनि बान्डी यति भावुक भएकी थिइन् मानौँ उनी आफ्नै छोरालाई बिदा गर्दै थिइन्। जर्जले गाडी स्टार्ट गरे, म गाडीमा चढेपछि हिड्यौँ। हामीलाई देखुन्जेलसम्म बान्डी हात हल्लाइरहेकी थिइन्.

      मलाई भर्खरै मात्रै अनुभूति हुँदै थियो संसारका जुन ठाउँका भए पनि मानिसको हृदय भगवान्‌ले एकै प्रकारको बनाएका हुँदा रहेछन्। मलाई विराटनगरमा बिदा दिने आमा र आज र आज टकोमामा बिदा गर्ने बान्डीको मन त एउटै रहेछ। उनीहरूको छालाको रङ र शारीरिक बनोटमा फरक भए तापनि मनभित्रको ममता त उस्तै रहेछ। यस्तै कुरामा मग्न भएको रहेछु जर्जले कार रेल्वे-स्टेसनभित्र प्रवेश गराइसक्नुभएको रहेछ र कार रोकेपछि मात्र मैले होस पाएँ।

      रातिदेखि नै बादल लागेको थियो र अहिले फाटफुट पानी पर्न थालेको थियो। मलाई कारमै बस्न लगाएर जर्ज रेलको टिकट लिन जानु भयो। टिकट ल्याएपछि जर्जले दुवै सुटकेस आफैँले बोक्नुभयो  र मलाई हिँड्ने इसारा गर्नुभयो। म भने छ्क्क परिरहेको थिएँ। यस्तो धनाढ्य मानिस, कुनै पनि नोकर छैनन् तर कुनै पनि काम गर्न पछि पर्दैनन्। न धनको अहंकार न ज्ञानको। अनि पो यस देशले यस्तो प्रगति गरेको रहेछ।

      हामी प्लेटफर्ममा पुग्यौँ। थाहा भयो रेल दस मिनेट ढिलो आउने रहेछ। अमेरिकामा पनि बस, रेलहरू प्रायः ढिलो हुँदा रहेछन्।

      अनि हामीले रेल नआउन्जेल एक अर्कामा देशका यातायातका साधनहरू र प्रणालीहरूका बारेमा चर्चा गर्‍यौँ। आजको स्थितिमा विश्वमा सबैभन्दा द्रुत, आरामदायी र सुरक्षित यात्राका साधन हुँदाहुँदै पनि अझै अमेरिकीहरू त्यसमा सुधार हुन आवश्यक ठान्दछन्  भन्ने कुरा जर्जले गर्दा मलाई आश्चर्य लागेको थियो।

       यत्तिकैमा एमट्र्याकको रेल आइपुग्यो। यो अमेरिकाको लामो दूरीको यात्रा गर्ने राष्ट्रिय यातायातको साधन रहेछ। अरू छोटो दूरीको यात्रा गर्ने रेलहरू पनि हुँदा रहेछन्। तर तिनको व्यवस्था फरक किसिमको रहेछ।

      जर्ज र म भएर सामान राख्यौँ।  यो रेल दुईतले रहेछ र भाग्यवश मैले बस्ने ठाउँ पनि दोस्रो तलामा नै पाएँ। जर्जसँग बिदा भएर म सिटमा मात्र पुगेको थिएँ रेल पनि चल्यो।

      ऐले सम्मको यात्रामा मेरो यो रेलको यात्रा पहिलो थियो। यहाँ बस, प्लेन र रेलको सिट एकै प्रकारका हुँदा रहेछन्। सफा, फोल्डिङ हुने र आरामदायक। घुइँचो छैन, हल्ला छैन, कसैले धुम्रपान गर्दैनन्।

      बिस्तारै रेल टकोमा स्टेसन र पोर्टलाई पछि छोडेर दक्षिणतिर हाँकिन थाल्यो। रेलको बाटो प्युजेट साउन्डको किनारैकिनार रहेछ। घरीघरी जङ्गलको माझबाट र घरी रान्चको माझबाट कुदिरहेको थियो। कतै ठूलाठूला गाईफार्महरू देखिन्थे। त्यहाँ सयौँ गाईहरू चरिरहेका थिए। कतै ठूला क्रिसमस ट्रिका फार्महरू देखिन्थे। जहाँ तीनचार इन्च अग्ला बिरुवादेखि लिएर बाह्र-पन्ध्र फिट अग्ला बिरुवाहरूको पङ्क्ति देखिन्थ्यो।

      कहीँकहीँ फाट्टफुट्ट कारखानाहरू, काठ चिर्ने स-समिलहरू देखिन्थे। मलाई यस्तै दृश्यहरू देखाउँदै त्यो रेल दक्षिणतिर हुइँकिरहेको थियो।

      चार घण्टापछि अरेगन स्टेटको प्रसिद्ध सहर पोर्टल्यान्टको युनियन भन्ने रेल्वे-स्टेसनमा पुगेर रेल रोकियो। म ओर्लिएँ, यहा पनि पहिले कहिल्यै भेट नभएकी साथी मलाई लिन आउँदै थिइन्। म मनमनै सोचिरहेको थिएँ - वाह मेरो यात्रा कस्तो गजबको छ, जहिले पनि एडभेन्चर। ओर्लन त ओर्लेँ तर अब कता जाने? मलाई लिन आउने को हो ? कतै त हिँड्नै पर्‍यो। लाटोजस्तो उभिनु त भएन, दुवै हातमा सुटकेस झुन्ड्याएर जतातिर सबै मानिस हिँड्दै थिए त्यतैतिर लागेँ। यहाँ प्लेटफर्मको एक्जिट अलिक टाढा रहेछ।

      यताउति हेर्दै बडो चनाखो भएर अगाडि जाँदै थिएँ। परबाट एउटी अग्ली, पातली, छोटो केश भएकी युवती मलाई हेर्दै मैतिर आइरहेकी थिइन्। म पनि मनमनै अनुमान गरिरहेको थिएँ। मलाई लिन आउने यिनै हुन् कि भनेर। नभन्दै हामी जति नजिक हुँदै जाँदै थियौँ एकअर्कालाई नै हेरिरहेका थियौँ। छेउमा पुग्नेबित्तिकै तिनले सोधिन्।

      ‘आर यु केशव फ्रम नेपाल?’

      बस्, मेरो सारा तनाव सकियो र मैले ‘हो’ भनिहालेँ।

      ‘आइ एम सुजी, वेलकम मि. सुनाम।’

      मैले धन्यवाद दिएँ , उनले एउटा सुटकेस टिपिन् र हामी स्टेसनबाहिर निस्कियौँ। कारमा सामान राखेर हामी सहरतिर लाग्यौँ ।

      पोर्टल्यान्ड सहर पनि अमेरिकाको गन्तीमा आउने सहर रहेछ। यसको माझैबाट कोलम्बिया नदी बग्ने हुँदा एउटै सहर दुई भागमा बाँडिएको छ र यो धेरैधेरै पुलहरूले जोडिएको रहेछ। त्यस सहरका अग्लाअग्ला घरहरू, नदीमाथिका विचित्र खालका पुलहरू देख्दा मलाई साह्रै रमाइलो लाग्यो र मैले कारभित्रबाटै सहरको फोटो लिएँ।

      अहिले मेरिल क्यालिफोर्नियामा भए पनि उनको स्थायी घर भने पोर्टल्यान्डमा नै थियो र सुजीसँग मेरिलको घरको बारेमा सोधेँ। अनि मेरिल नभए पनि उनको घरचाहिँ कहाँ रहेछ हेरौँ भनेर हामी गयौँ। उनले पहिले नै मलाई एकपटक त्यस घरको फोटो पठाएकी  हुँदा घर चिन्न सजिलो भयो। दुर्भाग्यवश उनको घरको हेरचाह गर्ने मानिस त्यसबेला त्यहाँ रहेनछन्। बाहिरबाट मात्रै हेरेर सुजीको घर वेस्टवुड पुग्यौँ र खाजा खायौँ।

      सुजी शिक्षिका र उनका पति केन्ट डाक्टर रहेछन्। केन्ट ऐले हाडसम्बन्धी सर्जरीका छात्र रहेछन्। हुन त उनले आफ्नो पाँचबर्से कोर्स सिध्याइसकेका रहेछन् र यहाँ उपचार गर्ने लाइसेन्स भने डाक्टरहरूले अरू चार वर्ष अभ्यास गरेपछि मात्र पाउने हुँदा अहिले उनी छैठौँ वर्षमा अभ्यास गरिरहेका रहेछन्। एक महिनापछि पश्चिम नेपालको तानसेन मिसन अस्पतालमा एउटा बच्चाको खुट्टाको अपरेसन गर्न नेपाल आउने रहेछन् र त्यसको तयारीमा लागेका रहेछन्।

      आजै बेलुका मेरो सम्मानमा रुसी (अर्मेनियाली) डाक्टर साथीका घरमा पार्टीको आयोजना गरिएको रहेछ। साँझ सात बजे रुसी डाक्टर हामीलाई लिन घरैमा आइपुगे। हामी तीनैजना उनको डेरामा पुग्यौँ। डाक्टरका दुई छोरा र श्रीमती गरी चारजनाको परिवार रहेछ। यी डाक्टर पनि अहिले विद्यार्थीकै हैसियतले अमेरिकामा बसेका रहेछन् र उनका छोराको पनि खुट्टाको हाडको सर्जरी गर्नुपर्ने हुँदा एक वर्षको थप भिसा पाएका रहेछन्। छोराको सर्जरीपछि उनले पनि रूस फर्कनुपर्ने रहेछ।

      हामी पुग्नासाथ उनकी श्रीमतीले स्वागत गरिन् र परिचय गरियो। अनि उनी मेरो बारेमा एसियन, त्यसमा पनि नेपाली भन्ने जानेर धेरै खुसी भइन्। त्यहाँको परम्पराअनुसार हामीले आ-आफ्नो रुचिअनुसार जुस, बियर लियौँ।

      एकछिनपछि डिनर टेबलवरिपरि बस्यौँ। डाक्टरले आर्मेनियाली शैलीले नै स्वागत गर्ने योजना गरेका रहेछन् र खानेकुराहरू पनि रसियन डिस नै बनाएका रहेछन्। सुजी अब खानाहरू धमाधम टेबलमा ल्याएर राख्‍न थालिन् र डाक्टर भने एकएक खाना बनाउने तरिकाको बारेमा क्रमैसँग बताउन थाले।

      -‘बार्बिक्यु’ यो मासु, चीज र टमाटरको अमिलो राखेर बनाइँदो रहेछ। स्याउका ताछेका दाना र सग्लो भन्टालाई बन्दाकोपीको पातमा बेरेर एउटै भाँडामा राखेर पकाइँदो रहेछ। एउटै भाँडामा पकाए पनि बार्बिक्यु, स्याउ,  भन्टाको स्वाद फरक-फरक हुँदो रहेछ।

      खाना खान थाल्नुभन्दा पहिले पाहुनालाई मदिरापान गराइँदो रहेछ। त्यसाका निम्ति डाक्टरले आर्मेनियादेखि ल्याएको ब्रान्डी ठीक पारेका रहेछन्। सानासाना कपमा एकएक पेग ब्रान्डी खन्याए। त्यसपछि ब्रान्डी मुखमा लाउनुभन्दा पहिले टोस्ट गर्नु भन्दा रहेछन्। केको निम्ति टोस्ट गर्नुपर्ने वा मदिरा पिउनुपर्ने त्यो कुरा होस्टले भन्नुपर्ने रहेछ।

      आज तीन देशका साथीहरू भेट भएको र एकअर्कामा सद्भाव बढेको खुसियालीमा पहिलो टोस्ट गरेर पहिलो पेग ब्रान्डी सिध्यायौँ। फेरि दोस्रो पेगको निम्ति अर्कै कारण दिनुपर्ने रहेछ। अर्थात् जतिपटक मदिरा थपिने हो त्यति नै पटक कारणसहित टोस्ट गरिँदो रहेछ। यो आर्मेनियाको अतिथिसत्कारको मौलिक परम्परा रहेछ। यसरी डाक्टरले धेरै बेरसम्म रसियन कल्चरका बारेमा बताए। आज मलाई भ्रमणको ठूलो महत्त्व हुँदो रहेछ जस्तो लाग्यो। किनकि विभिन्न देशहरूका कल्चरका बारेमा अलिअलि अध्ययन त गरिएको थियो तर पनि त्यस देशका मानिसहरूसँग प्रत्यक्ष भेटघाट र छलफलद्वारा थाहा पाउँदा अर्कै आनन्दको अनुभूति हुँदो रहेछ। पार्टी सकिएपछि हामी साढे दस बजेतिर वेस्टवुड, सुजीका घर आइपुग्यौँ।