|
|
|
|
शब्दकोश तपाईँका लागि -दिनेश पौडेल "हलिगोडे हदेखि उताका अक्षरबाट बन्ने त शब्दै रहेनछन् ।" यो नयाँ खोज-अनुसन्धानको परिणाम हो त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषय लिएर प्रथम श्रेणीसहित एम.एड. उत्तीर्ण गरी कामको खोजीमा लागेका हाम्रा एक विद्वान् युवकको । कुरो नेपाली बृहत् शब्दकोश पल्टाएर "क्षमा" शब्दको अर्थ लगाउँदाखेरि केही वर्षघि, कोटेश्वर काठमाडौँको । ती अहिले पूर्वाञ्चलको कुनै जिल्लामा श्री ५ को सरकारको राजपत्राङ्कित अधिकृत भई सेवारत छन् । ती बिचराले एउटा स्तरीय शब्दकोशमा "हलिगोडे हदेखि उताका शब्द" कहाँनेर खोज्नुपर्छ भन्नेसम्म सिक्नै नपरी त्यत्रो "योग्यता" हासिल गरिसकेछन् ! बडो विस्मयका साथ आफ्नो "डिस्कभरी" प्रस्तुत गर्दै गरेका बेला तिनले त्यो आफ्नो लाजमर्दो अज्ञानता हो भन्नेसम्म बुझिराखेका थिएनन्। नेपाली साहित्यमा एमए गरेर नेपाली साहित्यमै पूर्वाञ्चलबाट नाम कमाएका एकजना चर्चित युवा साहित्यकारलाई 'ज्ञान' शब्द शब्दकोशमा कहाँ खोज्नुपर्छ भन्ने थाहा रहेनछ, कुरो एकदमै भर्खरको । नेपाली विषय लिएर बी.ए., एम.ए. पढ्नेहरूको ठूलो हिस्साले नेपाली शब्दकोश किनेको हुँदैन भने कसैकसैले त अझ जिन्दगानीमा एकपल्ट पनि त्यस्ता कोश छोएकै हुँदा रहेनछन्। हाम्रा अरू विषय पढ्ने विद्यार्थीको त कुरै छाडौँ । "आ.. चलिहाल्छ नि..." भन्ने गतिछाडा प्रवृत्ति हुनेको न शब्दभण्डार, न ज्ञान, न बोधक्षमता न त हिज्जेसम्बन्धी शुद्धता नै गतिलो हुन्छ । शब्दकोश प्रयोग गरिरहनेको शब्दभण्डार ठूलो हुन्छ र अभिव्यक्तिमा निखार आउँछ । कुनै पनि भाषाको शब्दकोश मूलतः त्यही भाषाभाषीको खाँचो हेरी तयार गरिन्छ । अङ्ग्रेजी मातृभाषीले नै अङ्ग्रेजी शब्दकोशको प्रयोग बढ्ता गर्छन् । दोस्रो भाषाको रूपमा सिक्नेका लागि भन्दा त्यो भाषा बोल्नेका लागि धेरै शब्दकोश बन्छन्, छापिन्छन् र बिक्छन् । हामीमा हाम्रो भाषाका सबै शब्दको पर्याप्त ज्ञान कहाँ छ र ? नेपालका बहुसङ्ख्यक लेखक, राजनेता, पत्रकार, वकिल, सरकारी कर्मचारी, शिक्षक, व्यापारी, डक्टर, इन्जिनियर, विद्यार्थी र अन्य पेसाका शिक्षित भनिने व्यक्तिहरूका हस्तलिखित वा मुद्रित सामग्रीहरू हेरौँ न, हाम्रो भाषिक लापर्बाही र हिज्जेसम्बन्धी अज्ञान कति घृणास्पद र लज्जास्पद छ! नेपाली भाषासम्बन्धी यस्तो अराजक प्रवृत्ति हाम्रो भ्रष्ट मनोवृत्ति, भ्रष्ट आचरण, अनुशासनहीनता, हीनताबोध, हुतिहारापन, निराशा र अनास्थाको प्रतिविम्ब हो । "जस्तो लेख्ता पनि भइगो नि, बुझिन्छ भने" भन्ने छाडावादी तर्क घोर अराजक कुतर्कबाहेक केही होइन । "जस्तो लेख्ता पनि" बुझिँदैन । संसारको कुनै पनि सभ्य भाषामा यस्तो अराजकता छैन । भाषाको शिष्ट परम्परा हुन्छ । भाषाको अनुशासन हुन्छ । परम्पराको अर्थ हुन्छ । अनुशासनको अर्थ हुन्छ । बढ्दो साक्षरताप्रतिशत र प्रविधिको सुलभतासँगै पुस्तक र पत्रपत्रिका प्रकाशनको बाढी नै आएको छ । नेपाली शब्दकोशहरूको सङ्ख्या पनि अब अपमानजनक छैन, गुणस्तर सन्तोषजनक नभए पनि । देशभित्र र बाहिरै पनि व्यक्तिगत तथा संस्थागत प्रयासहरू हुँदै आएका छन् । एकपछि अर्को शब्दकोश निस्किरहेका छन् । ती प्रयासलाई स्तुत्य मान्नैपर्छ । भाषाको विकासमा यिनको ठूलो योगदान छ । हाम्रो राज्यले एउटा गतिलो शब्दकोश निर्माण गर्न एउटा गतिलै कोष खर्चेर ठूलै डफ्फा पालेको पनि हो । गरिब नेपालीको करमा तर मारे पनि तिनले हल्काफुल्का कोठे अध्ययन गरी एउटा सङ्क्षिप्त कोश तयार पारी "नेपाली बृहत् शब्दकोश" नाम दिएका छन् । तर जे भए पनि हुँदै नभएको ठाउँमा यत्ति त भयो । समयसालमा साँच्चैको बृहत् शब्दकोश बन्ला नै । जे निस्केको छ त्यसैको पनि सदुपयोग भने भएको छैन । त्यो सर्वसुलभ पनि छैन अझै । कमसे कम अधिराज्यका प्रत्येक विद्यालय, छापाखाना, सरकारी, सामुदायिक र संस्थागत कार्यालयहरूका त्यो एक-एकप्रति पुर्याउन सके भाषाको वर्तमान भद्रगोल केही घट्थ्यो कि? कोशकारको अर्को वर्गचाहिँ अभावको यस धमिलो पानीमा माछा मार्दै एउटा मामुली किताब छापेर त्यसमा जथाभावी अनेपाली शब्द हाल्ने अनि एकै शब्दका अनेक हिज्जेमा प्रविष्टि दिएर "सबभन्दा बढी शब्द सङ्कलन गरेको" भन्दै एउटा घरबारी किन्न पुग्ने दाम तोकेर एकैप्रति मात्रै बिक्यो भने पनि सम्पूर्ण लगानी उठाउँला भनी जुके दाउमा छ । त्यस्ता नाथे किताबको मोल पनि दुईतीन हजार राख्न सुहाउँछ हाम्रामा? पुस्तक जस्तो भए पनि "जसको बिहे उसैलाई हेर्न नदिए" हुनुपरेको छ विद्यार्थी, शिक्षक, कर्मचारी र आमपाठकले । ती कोशकार तथा अनुसन्धातामहाशयहरूलाई आफ्नो बायोडाटामा एउटा अर्को विशेषण थप्न भने अवश्यै काम दिन्छ जे भए पनि । अरू जे उद्देश्य पूरा भए पनि त्यस्ता "अनमोल" ग्रन्थले हाम्रो भाषाको सेवाचाहिँ हुँदैन । विचारको प्रसार, विकास र सञ्चयमा शब्दको महत्त्व अहम् छ । शब्दको मर्म ठीकसँग नबुझी विचारको समुचित सम्प्रेषण हुन सक्तैन । सही शब्द, सही हिज्जेसँग सही वाक्यमा राख्न सकेमात्र सही अर्थ निस्कन सक्छ । शब्द नै अस्पष्ट र अशुद्ध भएपछि त्यसबाट व्यक्त हुने हरेक अभिव्यक्ति त्यसै हिसाबले कमजोर हुन पुग्छ । रेडियो नेपाल, नेपाल टेलिभिजनजस्ता राष्ट्रिय प्रसारणसंस्थाका समाचारवाचक र कार्यक्रम-प्रस्तोताहरूको भाषिक स्तर हेरौँ न, यी संस्थाले चाहेमा उत्कृष्ट जनशक्ति नपाउने कुरो के छ र, तर त्यहाँ छिर्ने एउटा आधार योग्यता पनि भइदिएको भए "उद्यत", "ऐन", र "प्रत्यक्ष"जस्ता सामान्य शब्द उच्चारण गर्न सक्ने कोहीकोही त पुग्थे होलान् त्यहाँ ! सामान्य सतर्कता अपनाइदिए प्रज्ञाप्रतिष्ठान र विश्वविद्यालयका प्रकाशनहरू वा प्राज्ञमहोदयहरूका हस्तलिखित वा मुद्रित चिठीपत्र, लेखरचनाका पाण्डुलिपि शुद्ध हुन्थे होलान्! नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपूर्जाजस्ता महत्त्वपूर्ण कागतपत्रमा व्यक्तिका नाम र अन्य विवरण लेखिरहनुपर्ने सरकारी अधिकृतहरूले लेखेको हेर्नोस् त ? कति सरमलाग्दो अज्ञान छ नेपाली भाषाको हामीमा ! कति घिनलाग्दो लापर्बाही छ आफ्नो भाषाबारे हाम्रो ! हिज्जेको मात्र कुरो गरिरहेको छैन म । तीतो सत्य के पनि हो भने हाम्रो समाजका अगुवा वर्गको एउटा ज्यादै ठूलो हिस्सामा जति अशुद्ध नेपाली बोल्यो वा लेख्यो त्यति आफू ठूलो, जान्नेसुन्ने र आफ्नो विषयको विशेषज्ञ ठान्ने प्रवृत्तिसमेत झ्याङ्गिँदै छ । यो क्यान्सरभन्दा खतर्नाक रोग हो । क्यान्सरले तपाईँको शरीर नष्ट गर्न सक्ला, तर यस रोगले त तपाईँलाई क्रूरतम तरिकाले निस्सन्तान बनाएर मार्नेछ । मान्छेको भाषा खोसिदियो वा बिगारिदियो भने ऊ समूल नष्ट हुन्छ । संसारमा यस्तो भएका प्रशस्त उदाहरण छन् । तपाईँको घरमा सजिलै भेट्न सकिने ठाउँमा एउटा नेपाली शब्दकोश छ ? -साहित्यसञ्चार समूह, इटहरी
|