Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

निर्णय

--विवश पोखरेल

      ‘बा बहुलाउनुभयो।’ घरभरि खासखुस चल्यो। हिजोसम्म केही नबोल्नुभएको बाले आज अप्रत्याशित यति ठूलो निर्णय गर्नुले घरका सबै आश्चर्य चकित भए।

      ‘बाँदर आफूपनि घर बनाउँदैन, अरूलाई पनि घर बनाउन दिँदैन।’ बाको निर्णयपछि माइत जान पखेटा उचालेका बुहारीहरूको बेग्लै गुनासो र विद्रोह रह्यो।

      ‘त्यस्तो थियो भने अगाडि नै खबर गरेको भए त्यति टाढादेखि हामी आउने नै थिएनौँ अनाहक खर्च। दक्षिणाको लोभ लाग्यो बालाई।’ जीवनलाई अर्थसँग तुलना गर्ने छोरीज्वाईँको बाप्रति बेग्लै आक्षेप रह्यो। जो लालाबालासहित वर्षौँपछि माइती-ससुराली आएका थिए।

      ‘त्यही त, जमरा राखुन्जेल बाले केही बोल्नुभएन। एकैचोटि नवमीको दिन जनमतसङ्ग्रह घोषणा गरेझैँ घोषणा गर्नुभयो- यसपालि टीका नलगाउने। बूढा खुस्किएकै हुन्।’ केही बेरअघिसम्मको बाप्रतिको आदर, सद्भाव दसैँमा टीका लाउन नपाएको रनाहामा अब तपाईँबाट तिमीमा झर्‍यो । तर पुच्छरपछाडि बाविरुद्ध यस्ता टीकाटिप्पणी चले पनि बाका अगाडि उभिएर ‘किन बा! यसपालि हामी टीका नलाउने?’ भनेर प्रश्न गर्ने आँट भने कसैमा थिएन। सबैलाई थाहा थियो बाको स्वभाव। निरन्तर आफ्नो निर्णयमा अडिग र आफ्नो निर्णयको प्रतिवाद सुन्न नरुचाउने उच्च रक्तचापको रोगी बासँग प्रतिवाद गर्नु खागाको घारमा झट्टी हान्नुबराबर थियो,  फेरि जसलाई पारिवारिक मर्यादाको विपरीत समेत मानिन्थ्यो। आजसम्म बाको कुनै निर्णयविरुद्ध कुनै छोराहरूले प्रतिवाद गरेको अभिलेख थिएन। घरका सबैले पुच्छर चिमोटेपछि अन्ततः कान्छो नाति सिरुले सार्वजानिक गरेको थियो सामूहिक जिज्ञासा। ‘बा! हामी यसपालि किन टीका नलाउने?’

      ‘बाबु! यसपालि देशलाई नै शोक परेको छ त्यसैले।’ एकाएक गम्भीर हुनुभएको थियो बा।  बालजिज्ञासाको निरूपणपछि मात्र थाहा यो सबैलाई - यसपालि दसैँमा टीका किन नलगाउने। तर जुन कारणप्रति कसैको चित्त बुझेको थिएन र प्रतिवाद गर्ने साहस पनि कसैसँग थिएन।

      ‘त्यसो भए अगाडि नै जमरा नराखेको भए हुन्थ्यो नि  त बा!’ दसैँ नमान्ने निर्णय सार्वजानिक भएपछि बाको स्वभाव पढेको मैले नम्र भएर डराई-डराई  बासँग प्रश्न राखेँ।

      ‘हुन्थ्यो, पछि बुद्धि आयो। हुन दे, अब जे भयो- भयो। मन लागेन टीका लाउन।’ मेरो प्रश्नको उत्तरपछि बा एकटक टोल्हाउनुभयो। उहाँका आँखा धमिलो अतीततिर हराएको अनुभूत गरेँ मैले। यसपल्ट बाले टीका नलाउने घोषणा गर्नु राष्ट्रिय शोकमात्र नभएर पारिवारिक कारणहरू पनि छन्। जुन सबैलाई थाहा थियो र पनि बाभित्रका मर्म र पीडालाई पढ्नेभन्दा दुई-दुई वर्ष टीका नलाएको निधार अकारण यो वर्ष पनि बुच्चो रहनुको विद्रोह सर्वत्र छताछुल्ल भएर बामाथि पोखिनु स्वाभाविक थियो। हुन पनि हो, दुई-दुई वर्षसम्म यो घरमा दसैँ आएन। यसपल्ट उल्लासमय दसैँ मनाउन सम्पूर्ण परिवारको अपूर्व उपस्थिति थियो, तर घरको आदरणीय र पूजनीय व्यक्तित्व बाको निर्णयविरुद्ध विद्रोह गरेर आफ्नो उमेरको तीन रजत काटिसक्नुभएका बृद्ध बाको मन दुखाउन पनि उपयुक्त थिएन ‘भैगो, छोड्देओ, अब यो वर्ष जो भयो-भयो, अर्को वर्ष रमाइलो गरेर दसैँ मनाउँला। जे होस् दसैँको बहानामा सबैसँग भेट त भयो।’ अन्ततः घरको जेठो हुनुको नाताले विद्रोही सम्पूर्ण परिवारलाई थुमथुम्याउनु मेरो कर्तव्य रह्यो।

      साँच्चै नै शून्य थियो यसपल्टको घर। दसैँ दसैँजस्तो थिएन। जुन बेला घरमा बाआमा हुनुहुन्थ्यो, त्यसबेला दसैँको रौनक पनि बेग्लै हुन्थ्यो। अहिले आमा बित्‍नुभएको पनि तेइस महिना भएछ, लगभग दुई वर्ष। बर्खान्त नसकिएकाले पोहोर साल पनि टीका लगाइएन। अब आमाको  स्मृतिमात्र बाँकी छ। फगत आँखा र भित्तामा टाँगिएको एउटा धमिलो तस्बिर भएको छ आमाको अनुहार। दसैँमा घर आउनेसाथ आफ्ना सन्तानप्रति वात्सल्यका न्याना शब्द प्रस्फुटित हुन्थे आमाको अन्तरमनदेखि ‘हेर, सबै दुब्लाएछन्। सहरको बसाइ दूधदही खान पाउँदैनन्। बीच-बीचमा यसो आए त हुन्थ्यो नि! तिमीहरूलाई घर आउन फुर्सद हुँदैन, दसैँमा मात्र आउँछौ झुल्केघामजस्तै! हामी हुन्जेलसम्म त हो।’ जागिरे जीवनका व्यथा नबुझ्नुभएकी आमाको चिन्ता सधैँ आफ्ना सन्तानहरूप्रति हुन्थ्यो। हामी जागिरे छोराहरू दसैँको बहानामा मात्र वर्षमा एकपल्ट घर आउँथ्यौँ। अब त आमाको त्यो सङ्लो स्नेह सम्झना गर्नसिवाय केही थिएन हामीसँग।

      यसपालि आमाको सट्टा बाको गुनासो रह्यो। ‘आमाको बर्खान्त सकेपछि बाबु! तिमीहरू कहिल्यै आएनौ, दिदीबहिनीहरू कहिल्यै आएनन्। म पनि त तिमीहरूको बा हुँ नि! आमा हुन्जेल मात्र हो र यो घर..? आमा गएदेखि किनकिन यो घर नै घरजस्तो लाग्दैन। यसो आउँदै गरे त हुने नि! आखिर म अब कति नै बाँच्छु र?’ हामीलाई देखेपछि घर पुग्नासाथ बा एकाएक भक्कानिनुभएको थियो। बाको शब्दले निकै आहत भएका थियौँ हामी। पोहोरको अनुपातमा निकै दुब्लाउनुभएछ बा! जिङ्ग्रिङ्ग दाह्री, मैलो लुगा, तुलसीको पात चपाइरहने अर्को बानी थपिएछ बासँग, सायद तुलसीको पातले पीर चपाउन सघाउ पुर्‍याउँदो हो बालाई।

      स्पष्ट छ यसपल्ट टीका नलाउनुको कारण, आमाको अभाव खट्क्यो बाभित्र। आमाको मृत्युपछि साँच्चै जीवनदेखि नै बिरक्तिनुभएको छ बा! म बाको गम्भीर अनुहार पढ्छु। बा भित्रबाट प्रस्फुटित प्रत्येक शब्द-शब्द तौलन्छु। गह्रुँगो पीडाबोध हुन्छ मलाई। साँच्चै नै आमाको अभावमा विक्षिप्त हुनुभएको छ बा! हो, बूढो भएपछि सानो केटाकेटी हुन्छ मान्छे, आफ्नो व्यस्तताका कारण आफ्ना घरका परिवारले समय दिन नसक्दा ऊ आफूलाई निरीह र उपेक्षित ठान्दछ। सम्भवतः यस बेला यस्तै भएको छ बालाई। आफ्नी जीवनसँगिनी आफू समीप नहुनुको पीडा भोग्नुभएको छ बाले। सके आफ्ना आगामी अशक्त दिनहरूप्रति सशङ्कित हुनुभएको छ बा। त्यही अन्तरद्वन्द्वको मन्थन हो यसपल्टको टीका वहिष्कार! यस कारणसँग कुनै राजनीतिक-आर्थिक सम्बन्ध छैन। कसलाई पुग्छ र दसैँको दक्षिणा र भेटीले जीवनपर्यन्त!  यो त एउटा संस्कार मात्र न हो, एउटा परम्परा, जो निरन्तर युगौँदेखि चलिआएको छ। हुन पनि हो - जसको मन पीरको झरीले लपक्क भिजेको छ उसलाई के महत्त्व उल्लासित दिनको। सम्भवतः एउटा सुखद अतीत प्रत्येक क्षण, प्रत्येक झिम्क्याइमा सुकिला दृश्य भएर आउँदो हो बाका आँखामा। प्रत्येक दसैँमा चण्डीपाठका लागि पूजासामग्री जुटाइदिने आफ्नी अर्धाङ्गिनीको सहभागिता, टीकाको दिन प्रत्येक निधारमा केन्द्रित आमासँगका सामूहिक हात, ‘आइन्द्रोनसुते’ को आशीर्वचनसहितका झझल्काहरू आरोहअवरोह गर्दा हुन् बाका स्मृतिमा र नै नरमाइलो लागेको हुँदो हो यसपल्टको दसैँ बालाई, र आफ्ना अन्तर्मनलाई नियन्त्रण गर्न नसकेर उद्‌घोषण गर्नुभएको हुँदो हो ‘यसपल्ट टीका नलाउने!’ जसमा कुनै राजनीतिक, धार्मिक, आर्थिक कारण छैन।

      फर्किने दिन पनि आयो, झन् उदास देख्छु बाको अनुहार। अझ नरमाइलो लाग्दो हो बालाई। केही दिनको चहलपहलपछि फेरि शून्य हुँदै छ घर।

      ‘अब हामी जान्छौँ बा।’ हामी बानजीक पुग्छौँ, सम्पूर्ण जागिरे छोराछोरी बुहारीहरूको प्रतिनिधित्व गर्छु म।

      ‘जान्छौ?’ पुनः बाका आँखा रसाउँछन्। बूढा आँखामा आँसु नरमाइलो लाग्दो रहेछ तर के गर्नु, बिदा हुनु नै छ, बाध्यता छ। ‘बाबु! तैँले र दुलहीले यी भाइबहिनीहरूलाई बिदा गऱ् । दसैँको टीका नलाए पनि बिदाइको टीका त लाउन हुन्छ नि! तिमीहरूले लाइदेओ आखिर मपछिको ठूलो तिमीहरू नै हौ।’

      ‘हुन्छ बा!’ म काट्न सक्तिनँ बाको आग्रह।

      ‘तिमीहरूचाहिँ भोलि जानू! सबै एकै चोटि जाँदा मलाई आजको दिन आमालाई बिदा गरेको दिनजत्तिकै नरमाइलो लाग्छ।’ बा फेरि भक्कानिनुहुन्छ। ‘म नै लाइदिन्थेँ तिमीहरूलाई टीका, तर बाबु! मेरो हात काम्छ, म लाउन सक्तिनँ, आमा सम्झन्छु त्यसैले यसपल्टको दसैँ....।’ बा त्यहाँभन्दा बढी केही बोल्नसक्नुहुन्र। बाको आग्रहअनुरुप बिदाइको टीका लाउन मेरा हात हिँड्न आतुर भाइहरूका निधारमा पुग्छ, दिदीबहिनीहरूका निधारमा पुग्छ। म पनि सम्झन्छु आमाको अनुहार......। सम्भवतः अरू पनि सम्झँदा हुन्। टीका लाएको हेर्न नसकेर बा ओझेल हुनुभएको छ हामीदेखि। देख्छु- बा धारामा मुख धुँदै हुनुहुन्छ। सके आफ्नो पीरलाई पानीले पखाल्दै हुनुहुन्छ उहाँ।