Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


पूर्णमाया हराई

--अमोद भट्टराई

 

      सात-आठ वर्षको अवधिमा पूर्णमायाका सङ्गिनीहरू एक-एक गर्दै छुट्टिए। गट्टा खेल्ने सङ्गिनीहरू छुट्टिए, गुफा राख्दा दिनभर ठट्टा गरेर बस्ने अनि ढुङ्गेधारामा पानी भर्न  जाने सङ्गिनीहरू पनि छुट्टिए पूर्णमायासँग।

      पूर्णमायाका सङ्गिनीमध्ये अधिकांशलाई मागेरै बिहे गरी लगिएका थिए। तीनजनाको चाहिँ जुजुमठमा बिहे बएको थियो। दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमामा जुजुमठमा आउने अविवाहित केटा-केटी एक-आपसमा प्रस्ताव राखेर रोकटोकबिना बिहे गर्न सक्थे। बर्सेनी पाँच-सात जोडीको बिहे हुने गर्थ्यो जुजुमठमा। आधुनिकताको नाममा जुजुमठमा प्रस्ताव राखी पछि घरबाटै धुमधामसँग बिहे गर्ने संस्कार पनि बढ्दो थियो। तर पूर्णमायालाई यी कुनै औजारले छोएका थिएनन् आजसम्म।

      जुजुमठको यो संस्कार कति शताब्दीदेखि चल्दै आएको थियो पूर्णमायालाई थाहा त थिएन तर विगत तीन वर्षदेखि प्रत्येक कोजाग्रत पूर्णिमामा जुजुमठ घुम्न जान्थी ऊ र रित्तै घर फर्किन्थी।

      आफूले कल्पना गरेका लोग्ने-मान्छेको स्वरूपहरूले आफ्नै सङ्गिनीहरूलाई टिपेर लगेको देखेर पूर्णमाया मनमनै चिच्याउँथी। र भावातिरेकमा मूर्च्छित हुन्थी। कोइलीको मधुर कण्ठ सुनेर कराउने कागझैँ पूर्णमाया भित्रभित्रै जल्थी, पिल्सन्थी।

      यसपालि दसैँअगाडि पूर्णमायाले आफ्ना अत्यन्त गहकिला पुर्खौली गहनाहरू बेची र ... मानवीय दुःख, पीडा, इच्छा र चाहना आफूमा समाहित गर्ने भनी विश्वास गरिएको जुजुमठ र त्यसभित्रको जुजुदेवलाई जीर्णोद्घार गर्ने चन्दा दिई।

      कोजाग्रत पूर्णिमाका दिन जीर्णोद्धार गरिएको जुजुदेवको अनावरण स्थानीय नेताले गरे। पूर्णमाया अत्यन्त प्रफुल्ल थिई त्यस दिन। .... साँझ पर्‍यो  र रात।पूर्णमायाले ठूलो संयन्त्रभित्रको फगत् एउटा पूर्जाझैँ अगाडि बढेर जुजुदेवलाई अङ्गाली। आश्चर्य !! जुजुदेव पनि चलमलायो।

      हेर्दा-हेर्दै समुद्रबीच आकाशबाट परेको पानीको थोपाझैँ पूर्णमाया जुजुदेवभित्र हराई, जुजुदेव पूर्णमायाभित्र हरायो।