|
जङ्गलयात्राको संस्कृति र
एक्लोपन
२०५४ सालको नयाँ वर्षे तीन रात
काटेपछिको बिहान हो आज । सिक्किमको रिगु बस्तीस्थित के.बी.राईको
घरमा हिजो आइपुगेका थियौँ जय छाङ्छा र म । म साथी र जयजी ज्वाइँ यस
घरको । बिहान ब्यूँझनासाथ जयजीलाई हेर्छु, उहाँ उठेर बाहिर
गइसक्नुभएको थियो । बार्दलीमा आएर हेर्छु जतासुकै अग्लाअग्ला
डाँडाहरू देखिन्छन् । बिस्तारैबिस्तारै हुस्सुका झुन्डहरू आरोहण
गर्न खोजिरहेका छन् । विभिन्न नाम र जातका चरीहरू चिरबिराइरहेछन्,
त्यसैको धुनमा हावा कमर मर्काउँदै ओहोरदोहोर गरिरहेको छ ।
कोठामा चिया
आइपुग्छ र म चिया पिएर तल आँगनमा ओर्लन्छु । केहीबेर गफिन्छौँ
पहाडको प्रकृति र गाउँलेहरूका प्रवृत्तिका बारेमा । केही
सम्झेजस्तै गरी के.बी.दाइले भन्नुहुन्छ - "आज रामनवमी हो, नेपाली
वर्षको पहिलो चाड । यता यो चाडमा खाएरपिएर निकै रमाइलो गरेर
मनाउँछन् । आजको दिनमा सिकार खेल्नैपर्छ ।
मलाई अचम्म
लाग्छ, हिन्दूसंस्कृतिमा त झन् रामनवमीको दिन मांसाहारीहरू पनि
शाकाहारी बन्दछन् । आजको दिनमा काटमार गर्न हुँदैन भनी
मासुपसलेहरूले पनि पसल बन्द गर्छन् । तर यहाँ काटमार गर्नैपर्ने,
एउटै संस्कृतिमा किन यति ठूलो अन्तर भएको होला - म आश्चर्य मान्दै
जिज्ञासा राख्छु के.बी. दाइप्रति ।
"आज राम जन्मिएको
दिन, उहाँ बाण लिएर सिकार खेल्नुहुन्थ्यो, जङ्गल पस्नुभएको थियो ।
हामी उहाँकै सन्तति भएकाले हामी यताको सबैजना जङ्गल पस्छौँ ।
हुनेहरू बन्दुक बोकेर सिकार गर्छन् । नहुनेहरू गुलेलीले भए पनि
चराचुरुङ्गी मार्छन् ।"
एकै जाति, एकै संस्कृति भए
पनि भूगोलले पारेको प्रभावमा आश्चर्य मान्दै थिएँ म । जयजीले
प्रसङ्ग मोड्दै भन्नुहुन्छ- "अहिले जङ्गलमा फूलहरू पूरै फुलेका
हुन्छन्, यो समयमा त चराहरू पनि भाका फेरेर मीठो आवाजले गाउँछन् ।
यस्तो वातावरणमा जङ्गल पस्दा जो पनि टेन्सनमुक्त हुन्छन् ।"
सिकार कस्तो हुन्छ भन्ने
चलचित्रमा हेरेको र पुस्तकमा पढेको मात्र छु, त्योभन्दा बढी एउटा
भँगेरा पनि मारेको छैन मैले आजसम्म । जे भए पनि जङ्गल घुम्न
रुचाउने गरेकोले यस्तो अवसर गुमाउन चाहन्नथेँ म । यात्रा प्रारम्भ
हुन्छ । जङ्गलका पातपतिङ्गर टेक्दै, बुट्यानहरू पन्साउँदै घरबाट
खोलातिर ओर्लन्छौँ । चिलाउनेका रूखहरू हाम्रो उपस्थितिले सतर्क भएर
उभिएका जस्ता छन् । हामी लठ्ठीले झारपातमा हान्दै हिँड्दै छौँ ।
"रूखमा उक्लेर सुनाखरी कसरी फुलेको
होला ?" म प्रश्न गर्छु।
"खोइ, फुल्छ जसरी फुले पनि ।" जयजी
ठट्टैमा टारिदिनुहुन्छ ।
उहाँ अघिअघि र म पछिपछि छु । अलि अप्ठेरो
ओरालोमा डराईडराई ओर्लँदै थिएँ । जयजीले आत्तिएजस्तो गरी कराउनुभयो
-सर्प, सर्प ! म डराएर कालो हुन्छु, पछि उहाँ मरीमरी हाँस्न
थाल्नुहुन्छ । केको सर्प हुनु, उन्यूका काला लहरा हुन् भन्दै
समाउनुहुन्छ ।
"श्रीओमजी, हेर्नुस्, उः त्यो फलेदाको रूख हो, ऐँसेलु
चिनिहाल्नुहुन्छ, त्यो कुकुरडाइनो, त्यो धूपीको बोट हो ।"
जयजी चुप लाग्नासाथ के.बी.दाइ
आएर बताउनुहुन्छ- "हामी बसेको ठाउँ रिगु हो । लेप्चा भाषामा रि
भनेको डाँडा र गु भनेको नौ अर्थात् यो बस्तीको नाम नौ डाँडा हो ।"
हामी गफिँदै सानो झोलुङ्गे पुलमा आइपुग्छौँ । पुलको वारि दक्षिण
रिगु र पारि उत्तर रिगु बनेर छुट्टिएको रहेछ । अब हामी एकदम
सानो एकजना मात्र हिँड्न मिल्ने गोरेटोमा आइपुगेका छौँ, गोरेटाको
दाहिनेतिर ठूलो डाँडो
छ र देब्रेतिर भीर छ । हामी कमिलाझैँ लाइन
लागेर हिँडिरहेका छौँ । यही बेला केही घोडाहरू दुई-दुई बोरा बालुवा
र लामालामा काठ बोकेर आउँछन् । डाँडाकाँडाको एक मात्र भरपर्दो
यातायात हो यो हाम्रो देशको । केही अगाडि समथरमा पुगेपछि जयजी र म
मात्र बाँकी हुन्छौँ । अन्य अन्यत्र लाग्छन् । हामी प्रकृतिलाई
खोजेजस्तो गरी हेर्नका लागि अग्लो डाँडामा उक्लिन्छौँ र नदीमाथिको
भीरतर्फ लाग्छौँ । जयजी फटाफट अगाडि हिँड्नुहुन्छ, मचाहिँ बसेर
घाँसहरू समाउँदै बिस्तारै
सर्न थाल्छु । जयजी मस्तले हाँस्दै
भन्नुहुन्छ- "के डराउनु भा' तपाईँ, मलाई त पटक्कै डर लाग्दैन ।
यस्तै भीरभीरमा गएर घाँस काट्नुपर्थ्यो ।
कुथर्के चराको क्वारक्वार आवाज र
खोलाको आवाजले वातावरण सोचेभन्दा साङ्गीतिक बनेको छ । लामिडाँडाका
दुई डाँडाबीच माथि नीलो आकाश र सेता बादलहरू हामीलाई चियाइरहेका
जस्ता छन् ।
हलेदाको रूखमुनि अलिकति घाम र बढी
बतासमा झ्याउँकीरी नजिक आएर जोडजोडले कराएजस्ता छन् । जुका लाग्ला
भन्ने शङ्का मनमा पिङ बनेर मच्चिरहेको छ । जोडी न्याउलीको आवाजले
मनोरम र सन्त्रास दुवैलाई बढावा दिइरहेको छ । जयजी आफ्नै धुनमा
लेखिरहनुभएको छ, हामी प्रकृतिको सौन्दर्यपान गर्न नभई लेख्नका
लागि आ' जस्ता भएका छौँ । उकालोमा हिँड्दा पनि कहिले उहाँ कापी
झिकेर लेख्नुहुन्छ र पछाडि पर्नुहुन्छ कहिले म लेख्न थाल्छु र
पछाडि पर्छु।
"ऐया.... सातचोटेले टोक्यो ।" म अलमल्ल
पर्छु र सोध्छु - "सातचोटे कमिलाले टोक्यो - यस्तो अप्ठेरो ठाउँमा
नजाऊँ त म भन्दै थिएँ ।" मेरा लागि होइन तपाईँका लागि हो भन्दे
अगाडि बढ्नुभएको थियो उहाँ।
एउटी बूढी बजै घाँसको भारी बोकेर बाटो
लाग्छिन् । दुईजना स्कुलड्रेस लगाएका केटाकेटी सम्भवतः घरटिर
फर्कँदै छन् । एउटी केटी भने अलैँचीको झाङवरिपरि घाँस काट्दै
डोकामा राख्दै गरेको देखिन्छे। यतिन्जेलसम्म पनि दाइहरू
नफर्कनुभएकाले सुनसान जङ्गलमा यताउति भौँतारिएर खोज्न थाल्छौँ ।
केहीबेरपछि म भुइँमा बस्छु थकाइ मार्न । जयजी यताउता गर्दागर्दै
देखिनुहुन्न । एक्लो भएपछि त्यसैत्यसै आत्तिन थाल्छु म । यता
हेर्छु उता हेर्छु कतै देख्दिनँ। जयजीले मलाई तर्साउन खोज्नुभएको
होला भनेर मन बलियो गर्छु तर जयजी कतै देखा पर्नुहुन्न । ठूलो
ढुङ्गामाथि उक्लेर जोडले सिटी बजाउँछु, आफ्नै आवाजबाहेक केही
सुनिँदैन । के गर्ने के - स्वाराक्क हावाले पात हल्लाउँछ, त्यतै
फर्कन्छु । हावाले पातहरू बज्न थाल्छन्, त्यतै हेर्छु कुनै जनावर
आयो भने के गर्ने - अर्को डर पस्छ मनभित्र । जाऊँ भने कता जाऊँ -
कहाँसम्म जाऊँ - फर्कूँ भने कसरी - छाती ढुक्क फुल्छ, पानी छिट्याउला
जस्तो हुँदै थियो । केहीबेर अत्तालिएरै बित्यो । मन दरो पारेर
चिच्याउँछु जयजीको नाम लिएर । त्यति नै बेला टाढाबाट जयजी हतारिँदै
आउँदै गरेको देख्छु । खुसीले दौडेर अगाडि पुग्छु । उहाँ त
दाइहरूलाई खोज्दैखोज्दै निकै टाढा पुग्नुभएको रहेछ र म पछिपछि
आउँदै छु भन्ने ठानेर ढुक्कसँग अगाडि बढ्नुभएको रहेछ ।
मान्छेलाई मान्छेको साथ
कत्तिको महत्त्वपूर्ण हुँदो रहेछ भन्ने ठूलो ज्ञान भयो मलाई । सधैँ
काठमाडौँमा मान्छेको जङ्गलमा घुम्ने मान्छे भएकाले मान्छेको
महत्त्व यसरी बुझ्न सकेको थिइनँ। मान्छेलाई चिन्न मान्छे भेटेर
हुँदैन, मान्छेलाई जान्न मान्छे जोखेर हुँदैन रहेछ ।
पानी पर्न थालेकाले ओत लाग्नका लागि
ठूलो रूखको छहारीमुनि जान्छौँ । त्यही बेला दाइहरू पनि दौडँदै
त्यही रूखमा ओत लाग्न आइपुग्नुहुन्छ । हामी सबैजना खुसी हुन्छौँ ।
पानीलाई बेवास्ता गरेर केही समय कुरा गर्छौँ तर पानी रोकिने छाँट
पटक्कै देखिँदैन । साँझ पनि पर्न थालिसकेको थियो, बाटोमा अप्ठेरो
हुन सक्ने भएकाले पानीमा रुझ्दै घर
फर्कन्छौँ पहिलेकै बाटो
पङ्क्तिबद्ध भएर । वर्षको पहिलो पर्व रामनवमीको संस्कृतिले दिनभरिको
जङ्गलयात्रा र साँझभरिको मुसाचुटाइ जहिले पनि हिजै जस्तो लाग्छ
अहिले पनि ।
-हिमाली गुराँस, २०५५
|