Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms



बाँसुरीको धुन
                                                                                                                 शर्मिला खड्का (दाहाल)
       तीन वर्षछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमान्-सँगै विदेश जान पाएको थिएँ । तीन वर्षसम्म माइत आउन नपाएकी चेली, म आउने खबर तीन महिनाअघि नै चारैतिर फैलिइसकेको थियो । अझ म आउने दिन र समय पनि धेरै जसोलाई कण्ठस्थ थियो । मैले पनि बा-आमा, काका-काकी, दाजु-भाउजु, ठूलोबुवा-ठूलीआमा, सानोबुवा-सानीआमा आदिलाई गच्छेअनुसारको उपहार ल्याएकी थिएँ । आफूभन्दा सानालाई भाग अनुसारको भागबन्डा लगाइदिएकी थिएँ । विदेशी साडी, घडी, खेलौना, कपडामा खुसीहरू साटिएका थिए । त्यस दिनभर घरका कुना-कुनामा खुसी र उमङ्गका लहरहरू फैलिएका थिए । विदेशी गफ र फोटोहरूमा घडीको सुई चलिरहेको थियो । लोग्नेमान्छेखलक मेरो श्रीमान्-सँग र स्वास्नीमान्छेखलक मसँग गफिन व्यस्त थिए । मेरी काखकी छोरीले झन् सुनमा सुगन्ध छरिदिएकी थिई । मसिना केटाकेटीहरू मेरी छोरीसँग मस्त थिए । मेरा बुवाको नाक घोक्रेर घिरौँलाजत्रो भएको थियो । छोरीले राम्रो ज्वाइँ पाएकी अनि विदेश गएर दुईचार लाख रुपैयाँ पनि ल्याएकी हुनाले आफैँ गर्वले फुलेर मख्ख हुनुहुन्थ्यो । मेरी आमा भने मैले ल्याएका सामानहरूको अनुमानित मोलतोल गर्दै असल कमसल मूल्याङ्कन गर्न व्यस्त हुनुहुन्थ्यो । घरका भाडावालहरू सबैका मुहारमा उत्सुकता र उमङ्गका भावहरू छरिएका थिए ।
            पहिलो दिन कति चाँडै बित्यो मलाई थाहापत्तै भएन । दोस्रो दिनदेखि मेरो चासो र उत्सुकता घरको सँघार काटेर छिमेकीको आँगनतिर पुग्न थाल्यो । मैले आमासँग छिमेकीको बारेमा पनि सोधीखोजी गर्न थालेँ । मैले आफ्ना पुराना दिनमा छिमेकीको एउटा झ्यालसँग नाता गासिएको अनायास सम्झना गर्न पुगेँ । मेरो जीवनको पानामा त्यस झ्यालसँग अतीतका केही घटना गासिएका थिए । त्यहाँ सुधीरको चित्र थियो । मैले आमासँग सुधीरको बारेमा सोधीखोजी गरेँ । हाल सुधीर कुनै प्राइभेट स्कुलमा टिचिङ गर्दै छ भन्ने कुरा पत्ता लगाएँ । त्यसपछि म घरायसी काममा व्यस्त भएँ । विदेश बसेर आएको मेरो माइतमा मैले श्रीमान्-को टहलपहल गर्नुपर्ने अभिभारा थियो । साँझ पर्‍यो, हामी खाना खाएर केही छिन सपरिवार गफिएर सुत्नतिर लाग्यौँ ।
          राति अचानक कतैबाट बाँसुरीको धुन बज्न थाल्यो । त्यस बाँसुरीको धुनसँग मेरो अतीत नाच्न थाल्यो । म छटपटाएँ । सुत्न सकिनँ । मेरो श्रीमान्-ले सोधे- के भयो ? मैले भनेँ- "हेर्नोस् न कसैले कति नमीठो गरी बाँसुरी बजाइरहेछ ।" उसले सजिलै उत्तर दिए - "होला कोही आफ्नी प्रेयसीको विरहमा बजाउने ।" उनको मार्मिक उत्तरले मेरो मुटु ढुकढुक गर्न थाल्यो । कतै उनले थाहा पाए भने । हुन त हामी यस्ता कतिपय गफहरू खुल्लारूपमा गर्छौँ । उनी पनि विवाह अघि आफूलाई मन पराउने केटीहरूको लिस्ट नै सुनाउँथे । म पनि केही कम थिइनँ । अझ मरमसला थपेर स्वादिष्ट व्यञ्जन बनाएर पस्कन्थेँ । यस्ता व्यञ्जन पस्कने क्रममा हाम्रो होडबाजी नै चल्थ्यो । अनि अन्त्यमा मैले नै हार खानुपर्दथ्यो ।
            म सुत्न नसके पनि ओछ्यानमा पल्टेर बाँसुरीको धुन सुनिरहेँ । त्यो करुणरसले भरिएको धुनको तालसँगै मेरो अतीत तरङ्गित भइरह्यो । आजभन्दा करिब चार वर्षअघिको कुरो, म धनाढ्य बाबुकी छोरी थिएँ । सुधीर, उही बाँसुरी बनाउने युवक, छिमेकमा कोठा लिएर बसेको थियो । ऊ निम्नवर्गीय थियो । हामी दुवै साइन्स क्याम्पस पढ्थ्यौँ। ऊ मभन्दा एक वर्ष सिनियर थियो । प्रायः घरमा अनि क्याम्पसमा हाम्रो देखादेख हुन्थ्यो । सुरूमा म उसलाई त्यति चासो राख्दिनथेँ । क्याम्पसमा आफ्नै ब्याचका केटाहरू, त्यो पनि सम्पन्न परिवारका केटाहरूसँग मात्र मेरो सम्पर्क हुन्थ्यो । उसको लवाइ साधारण थियो, तर बोलचालमा भने केही गम्भीरता र दार्शनिकता थियो । ऊ कहिलेकाहीँ आफ्नो झ्यालबाट हाम्रो महलको भव्यता, सानसौकत एकोहोरो हेरिरहन्थ्यो । ठूलो घर, ठूलो परिवार अनि ठूलै रौनकतालाई ऊ गाउँको मान्छे भएर आकर्षित गरेको होला म ठान्दथेँ । तर होइन रहेछ, ऊ त विशाल आकाशमा चन्द्रमाको चाँदनीमा शीतलताको अनुभव गर्न चाहँदो रहेछ । मैले पछि थाहा पाएँ, ऊ मसँग नजिक हुन चाहँदो रहेछ । क्याम्पसमा पनि केके बहाना बनाएर मसँग बोल्न खोज्दथ्यो । कहिलेकाहीँ कविगोष्ठीमा कविता सुनाउँदा मलाई नै भनिरहेछ भन्ने भान हुन्थ्यो । बिस्तारै उसको चासोको पारो चढ्न थालेको थियो । हुन त मेरो अनुपस्थितिमा मेरी आमासँग मेरो पढाइको विषयमा सोधीखोजी गर्दथ्यो । मेरी आमालाई साइन्स गाह्रो हुन्छ मसँग पढ्न पठाइदिनोस् म पढाइदिन्छु भन्दथ्यो । आमा उसको कुरालाई फोटोकपी गरेर मलाई सुनाउनु हुन्थ्यो, तर म बेवास्ता गर्दथेँ ।
           हाम्रो घरमा एकसे एक स्मार्ट र पढेलेखेका केटाहरूको आवतजावत हुन्थ्यो । कोही काकीको भाइ, कोही भाउजूका दाजु, अनि कोही भाडावालका आफन्तहरू । सबै मसँग वैवाहिक सम्बन्ध गाँस्न केही न केही बहाना लिएर आउँदथे । बिस्तारै घरमा मेरो बिहेको कुरो चल्न थाल्यो । म भने तुरुन्त विवाह गर्ने पक्षमा थिइनँ । समय लम्बिँदै गयो । बीचमा क्याम्पस केही दिन बन्द भयो । ऊ त्यस झ्यालमा देखा पर्न छोड्यो । मैले सोचेँ सायद ऊ घरमा चामल र खर्च लिन गयो होला । मलाई उसप्रति किन हो बिस्तारै दया र सहानुभूति जागेर आउन थाल्यो । केही दिनपछि ऊ पुनः देखा पर्‍यो । किनभने उसले आफ्नो पढाइखर्च पूरा गर्न केही ठाउँमा ट्युसन पनि पढाउने गरेको थियो । घरबाट आएको दिन उसले यति मीठो बाँसुरी बजायो- म सुनिरहेँ । उसले बजाउन पहिल्यै नै सिकेको हुनुपर्छ । नत्रभने यति छोटो समयमा कसरी सिक्यो होला ! ममा कौतुहलता जाग्यो । कौतुहलतालाई मौनताको बाकसमा बन्द गर्दै दैनिक क्रियाकलापमा आफूलाई व्यस्त बनाएँ।
           उसले फेरि मेरी आमालाई मेरो परीक्षाको चिन्ता गर्दै नोटकापी लिन आउन समाचार छोडेछ । मैले पनि आफूलाई फाइदा हुने काममा किन पछि पर्ने भनेर एक दिन उसको कोठामा गएँ । उसको कोठामा स्टोभ बलिरहेको थियो । कराहीमा भात र तरकारी एकै ठाउँमा पाकिरहेको थियो । मैले झट्ट देखेँ । उसले हतारहतार छोप्यो । अनि स्टोभ बन्द गर्‍यो । सायद गफ गर्दा डिस्टर्ब हुन्छ भनेर होला । मैले 'किन बन्द गर्नुभएको पाकोस् न' भन्दा 'हैन पाकिसक्यो' भनेर मलाई विशुद्ध झूटो बोल्यो । मैले त्यो काँचै छ भन्ने अनुमान लगाइसकेकी थिएँ । कुराको सन्दर्भ मोड्दै मैले आफ्नो परीक्षाको विषयमा सोधीखोजी गरेँ। उसले केही कुरा सिकाइदियो अनि नोटकापीहरू पनि दियो । त्यस समयमा म अलिक उट्पट्याङ्गे स्वभावकी थिएँ । त्यसमाथि यौवनका उन्मुक्त छालहरू, हँसीमजाकमा तरङ्गित हुने समय थियो । मैले उसलाई 'खाना खुवाउनुहुन्न ?' भनी ठट्टा गरेँ। उसले मेरो कुरा नकार्न सकेन- मलाई प्लेटमा अलिकति हालेर दियो । मैले उसको खाना काँचो छ भनेर आफूले बोलेको कुरालाई सत्य साबित गराउन 'खाना खुवाउनु हुन्न ?' भनेको थिएँ । साँच्चिकै खाना काँचो थियो । मैले 'यो पूरै काँचै छ' भनेर एक चम्चामात्र मुखमा हालेर मिल्काइदिएँ। उसलाई सायद नराम्रो लाग्यो होला । उसले अनुहार नमीठो बनायो अनि 'फेरि पकाउँछु' भनेर गम्भीर भयो । म भने उसको यथार्थको खिल्ली उडाउँदा र आफूले बोलेको कुरा सत्य साबित गर्न पाउँदा खुसी भएकी थिएँ । मेरो व्यवहारले सायद उसलाई चोट पर्‍यो होला, किनभने पीडा भोग्नेलाई मात्र थाहा हुन्छ पीडाको भोगाइ । त्यो रात उसले रातभर बाँसुरी बजाइरह्यो । मध्यरातमा म ब्यूँझिँदा पनि बजाइरहेको थियो । सायद मैले उसको विपन्नताको नचाहिँदो प्रदर्शन गरेर होला उसको आत्माबाट वेदना छरिएर बाँसुरीको सुरसँग निस्किरहेको थियो । मलाई आत्मग्लानि भएर आयो । मैले आफ्नो सम्पन्नता र वैभवकताको मादकतामा कुनै निर्धनको उपहास गर्नु ठीक थिएन । उसले मलाई धेरै पटक सहयोग गरेको थियो । मैले उसलाई कृतज्ञताको बदला कृतघ्नता दिइरहेकी थिएँ । मलाई उसप्रति दयाको साथसाथै माया र सहानुभूति जागेर आयो । त्यसपछि ऊ प्रत्येक रात बाँसुरी बजाउँथ्यो । कुनै रात बजाएन भने म छट्पटिन्थेँ, किन बजाएन भनेर, म उसलाई निकै चासो दिन थालेको थिएँ ।
       केही समयपछि ऊ क्याम्पस आउन छाड्यो । उसलाई मैले नोटकापी बुझाउनु पर्दथ्यो। तसर्थ मैले उसको डेरा जाने निश्चय गरेँ ।
       योजनामुताबिक म उसको डेरामा पुगेँ । डेरामा उसको आमा आउनुभएको रहेछ । ऊ निकै बिमारी भएको रहेछ । मैले नोटकापीहरू दिएँ र धन्यवाद पनि । ऊ निकै सिकिस्त भएको रहेछ । म पनि गम्भीर भएँ ।
       "नानीको घर कहाँ हो -" उसकी आमाले परिचयको पर्दा खोल्नुभयो । मैले पनि सम्पूर्ण औपचारिकता पूरा गरेँ । अनि उहाँले भन्न थाल्नुभयो- "हेर न नानी, बाँसुरी नबजाउनू, छातीको बिमार छ भनेर डाक्टरले भनेको थियो, मानेन । अस्ति जबरजस्ती घर जाँदा लिएर आयो । सायद रातभरि बजायो होला । बिमारी भएछ । पढ्ने मान्छे यसरी बिमार भएर कहाँ हुन्छ र ! म यही समाचार सुनेर आएकी नि नानी ।"
       उसकी आमाको कुरा सुनेर म स्तब्ध भएँ, आत्मा पोल्न थाल्यो । त्यो बाँसुरी बजाउन बाध्य गर्ने त म नै थिएँ । उसको पहेँलो अनुहार, दार्शनिक हेराइ अनि अशक्तताले मलाई पिरोल्न थाल्यो । उसकी आमालाई सब कुरा भन्न पनि सकिनँ अनि असमञ्जसको खाडलबाट उक्लँदै 'राम्रो उपचार गर्नुपर्छ' भन्ने सल्लाह दिँदै म बाहिरिएँ । कोठाबाट बाहिरिए पनि त्यो घटना र परिवेशबाट बाहिरिन सकिनँ ।
      मैले घरमा आमासँग आएर यो सब कुरा सुनाएँ । किनभने मेरी आमा मेरा प्रत्येक क्रियाकलापको निगरानी राख्नुहुन्थ्यो र म पनि उहाँलाई अनभिज्ञताबाट टाढा राख्न सक्दिनथेँ । उहाँले मेरो र सुधीरको विषयमा भित्रभित्रै धेरै कुरा मनन गरिरहनुभएको थियो । उहाँको पनि उसप्रति सहानुभूति थियो । हाम्रो घरमा गाई पालिएको थियो । मैले उसलाई दूध पठाउन आमालाई भने । आमाले पनि मैले भनेमुताबिक नै गर्नुभयो । उसको कोठामा मेरो आवतजावत केही बढ्न थाल्यो । उसले बाँसुरी बजाउन छोडिसकेको थियो । कहिलेकाहीँ म उसको कोठामा जाँदा बाँसुरी हेरिरहन्थ्यो । मेरो सुधीरसँग सम्पर्क केही बढेकाले घरमा गाइँगुइँ कुरा चल्न थाल्यो । म घरकी जेठी छोरी थिएँ । मैले केही काम गर्दा पनि सबैका आँखा सतर्क हुन्थे । अनि घरभरि मसम्बन्धी कुराहरू असरल्ल छरिएका हुन्थे । त्यस समयमा छोरीलाई परपुरुषसँग हेलमेल बढाएको राम्रो मानिँदैनथ्यो । अझ प्रेम सम्बन्धलाई अपराधजत्तिकै मानिथ्यो । मेरो विवाहको कुरामा घर, खान्दान, सम्पत्तिको कुरा अगाडि आउँदथ्यो । यी सब कुराको अगाडि हाम्रो प्रेम लाचार र विवश थियो । मेरी आमाले यी सब कुराबाट विज्ञ भए पनि केही गर्न सक्ने हुर्मत उहाँमा थिएन । म आफैँ पनि घर, खान्दान र सामाजिक प्रतिष्ठाको बलि दिएर सुधीरसँग सम्बन्ध गाँस्न सक्दिनथेँ । तर म उसप्रति कसरी हो धेरै नजिक हुदैँ गएकी थिएँ ।
        मैले वास्तविकतालाई क्षणिक प्रेमले अन्धो बनाउन हुँदैन भन्ने कुरालाई मनन गरेँ । उसले जस्तै म पनि उसलाई प्रेम गर्थे । तर प्रेम भनेको प्राप्ति मात्र हैन बलिदान पनि हो । प्राप्तिले भन्दा प्रेम बलिदान र त्यागले अमर हुन्छ र सधैँ स्मरणीय पनि । मैले यो सब कुरा उसलाई अवगत गराएँ । ऊ मेरो सबै जसो कुरामा सहमत भयो । मैले अबउप्रान्त बाँसुरी नबजाउनू भन्ने वाचासमेत गराएँ ।
     घरमा मेरो विवाहको कुरा चलिरहेको थियो । भनेजस्तो कुटुम्ब अनि विदेश पढ्न जाने योग्य वर सबैबाट स्वीकृत भएपछि मेरो विवाह भयो । विवाहपश्चात् म दुईपल्ट माइत आएकी थिएँ । मैले उसप्रति खासै चासो राखिनँ । त्यसपछि म तीन वर्षका लागि बिदेसिएकी थिएँ ।
     अचानक छोरीको रुवाइले मेरो तन्द्रा टुट्छ । उसले बाँसुरी बजाउन छोडिसकेको हुन्छ । म बिहान उठेर उससँग भेटेर गफ गर्ने निश्चय गरेर निदाउन प्रयत्न गर्न थालेँ।
        बिहान म उसको कोठामा पुगेँ । कोठामा ताला लगाइएको थियो । म छक्क परेँ । यति बिहान ऊ कहाँ गयो भनेर । मैले उसको घरपट्टीलाई सोधेँ । उसको घरपट्टी मेरो हातमा सानो पत्र राखिदियो ।
        'सानू, म तिम्रो जीवनदेखि धेरै टाढा जान चाहन्छु । त्यसैले यो ठाउँ छोडेर जाँदै छु । तिम्रो सफल जीवनका लागि शुभकामना - उही सुधीर ।'
       पत्र पढेर म केहीछिन स्तब्ध भएँ । अनि परिचित छिमेकीसँग केही औपचारिक गफ गरेर त्यहाँबाट सधैँका लागि बिदा भएँ । मन एकतमासको भइरह्यो । सुधीरको अनुहारले पछ्याइरह्यो अनि सोधेजस्तो लाग्यो- तिमीले बिर्से पनि मैले बिर्सन सकिनँ । अब मेरा लागि कुनै सोधखोज नगर्नू..... कुनै खराब सपना देखेजस्तै गरी बिर्सनू ।



साहित्यसञ्चार समूह
इटहरी
 


शर्मिला खड्का (दाहाल)
प्रकाशित कृतिः सानी( बाल उपन्यास)
सम्प्रतिः एसओएस हर्मन माइनर विद्यालय, इटहरी, सुनसरी।