Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms



गजल - १    

                                                                                समुन्द्रा शर्मा


पहिलो किरण अन्जुलीमै थापूँजस्तो लाग्छ ।
तिम्रो तस्बिर हृदयमै छापूँजस्तो लाग्छ ।

इन्द्रेणी यो मनको अब रङ बनी घुल्दा
सारा रङ तिमीलाई नै छ्यापूँजस्तो लाग्छ ।

जिन्दगीको बाढीभित्र रुमल्लिँदाखेरि
तिम्रो माया मात्र मलाई टापूँजस्तो लाग्छ ।

तीतामीठा अनुभूतिमा हराउँदै जाँदा
कहिलेकाहीँ माया पनि नापूँजस्तो लाग्छ ।

गजल - २

तिम्रो-मेरो नाममा अविश्वासको छाप लाग्यो ।
ओत लाग्ने ठाउँ आज खुकुरीको दाप लाग्यो

हिँड्दै जाँदा जीवनका उकाली-ओरालीलाई
आफूमाथि राखिएको चट्टानको खाप लाग्यो

हिजोसम्म सँगै थियौँ परेवाको जोडीजस्तै
शीतल त्यो साथ तिम्रो आगाको राप लाग्यो

चोखो माया नबुझेर भौँतारिँदै हिँड्दाखेरि
गङ्गाजस्तै पवित्र यी आँसुको श्राप लाग्यो ।
 


श्रीमती शर्मा साहित्यसञ्चार समूहकी संस्थापक सदस्या, कवयित्री, कथाकार।