Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

 


गीत
                                                                    -- नवराज कार्की

कुन घाटमा मिसिएछ दुई खोलाको पानी
एउटै भयो सँगै बग्यो दुई खोलाको पानी

कुन खोलाको पानी कुन हो रङ छुट्टिँदैन
एउटै भयो जिन्दगानी अर्को नै छैन
पानीमाथि छायाँ प-यो छायाँ त्यहीँ रह्यो
पानी भयो जिन्दगानी बग्दैबग्दै गयो

कल्लाई भन्नु माया गर्छु मान्छे छानीछानी
माया भए एउटै हुन्छ दुई खोलाको पानी

धरती उस्तै जहाँ पनि जूनघाम उस्तै
माया दिने साथी भए सबै आफूजस्तै
जानेलाई हेरिरह्यो किनारको ढुङ्गो
यही बसूँ कि सँगै बगूँ नलागेर टुङ्गो

के पर्खनु, के फर्कनु अर्थ जानी-जानी
सागरसम्मै पुग्छु भनी बग्दै गयो पानी ।
 


  कवि तथा गीतकार श्री कार्की साझा प्रकाशनका महाप्रवन्धक एवम् गरिमा मासिकका प्रधान सम्पादक हुनुहुन्छ।