Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


लील दाजै !
                                                                  --मोहनप्रसाद काफ्ले
ल है लील दाजै ! नमस्ते समाऊ,
सबै हाल राम्रो उताको सुनाऊ,
उता ब्रह्मपुत्रै नदीछेउछाउ
छ सन्चैसुबिस्तै सबैमा ? बताऊ ।

उता ती बसेका उतै तृप्त छन् कि ?
अतृप्तै भई ती यतै फर्कलान् कि ?
सुनाऊ न दाजै फलाकीफलाकी,
त्यहाँको अवस्था नहोस् सुन्न बाँकी ।

यहाँ दुःख पाई फटाहा हँसाई
रुँदै ती हिँडेका उतै नै बसाइँ
उहाँ ता बसेका हुनन् ती रमाई ?
अझैसम्म उस्तै छ या त्यो दुखाइ ?

छ उस्तै धने या भयो कुन्नि कस्तो ?
भएको हुँदो हो निकै वृद्धजस्तो ?
कडा नै छ या ऊ भयो रुग्णजस्तो ?
छ जस्तो धने त्यो, सुनाऊ न त्यस्तो !

छ मैना फुलेकी त्यहाँ सुख्खमा कि ?
छ मैना डुबेकी त्यहाँ दुख्खमा कि ?
छ छोरो कि साथै कि छाडी हिँड्यो कि ?
धनेको पछिल्लो कहानी सुनौँ कि !

उतै नै छ मोटे कि अन्तै कतै छ ?
सँगै त्यो झुमा छे कि एक्लै कतै छ ?
झुमासाथ छोरो कि छोरी छ आज ?
झुमाको सहारा छ के त्यो समाज ?

कि बैदार-नन्देहरू छन् सँगै नै ?
कि त्यो रिक्रुटे-प्रेत आयो त्यतै नै ?
हजारौँ धने छन् यहीँ नै त्यहीँ नै
हजारौँ झुमा छन् यहीँ नै त्यहीँ नै ।

हजारौँ धनेका कथा कथ्न सक्ने,
हजारौँ झुमाका व्यथा बुझ्न सक्ने,
महाकाशजत्रो दिलै बोक्न सक्ने
तिमी लील दाजै ! यतै बस्न सक्ने ?
- इन्द्रपुर-१, मोरङ
 

श्री काफ्ले सुकुना बहुमुखी क्याम्पस, मोरङका शिक्षक हुनुहुन्छ। उहाँ नेपाली भाषासाहित्यको सेवामा तीस वर्षदेखि निरन्तर लागिरहनुभएको छ। प्रशस्त फुटकर रचना प्रकाशित।