| वृक्षसँग
--जीवनाथ उपाध्याय अधिकारी
(स्रग्धरा छन्द)
कोदाको सानु दानासरि अति मसिना
बीजमा खुम्चिएर
बस्ता क्यै कष्ट भो वा खुसिसित लिइयो त्यो समाधिस्थ रूप ।
हावा, पानी र न्यानोपनसँग जननी भूमिको स्निग्ध काख-
मिल्दा टूट्यो समाधि क्रमसित उभिने गर्न थाल्यौ प्रयास ।।
भोग्यौ दुःसह्य आपद्-विपदहरू त्यसै
बालपनभित्र वृक्ष
के मानिस, के जनावर सब मिली तिमिमा गर्दथे दुष्प्रहार ।
कोमल् त्यो तन
बचाई जिउन अति विषम् कष्ट भोगेर आज
आयौ कल्याणकारी स्वरूप लिइ जगत्भित्र हे वृक्षराज ।।
हित्कारक् यस जगत्मा तिमीसरि अरु क्वै छैन हे वृक्षराज ।
गर्छो निःश्वार्थ सेवा चरअचर सबै जीवको एकनास ।
तिम्रा शीतल् छहारीमनि बसी दुनियाँ ग्रीष्मको ताप छल्छ ।
तिम्रै हाँगाबिँगामा विहग गण रची नीड संसार
हेर्छ ।।
तिम्रा फलमा चरीका हुलसँग मनुवा झुम्मिई पेट भर्छन्
गाई, भैँसी र बाख्रासरि अरू पशुले पातले पेट पाल्छन् ।
यसबाहेक वायुमण्डलभरि छ जति धुवाँ जातको दुष्ट तत्त्व-
त्यसलाई शुद्ध पारी तिमी गरिदिँदछौ प्राणवायुस्वरूप ।।
मानिसमा तुच्छ स्वार्थीपन
बढी अहिले गर्छ
तिम्रो विनाश
चाँडै भोग्नेछ यसले परिणति त्यसको स्वास्थ्यमा आई ह्रास ।
तिम्रो काया ढलेरै पनि अरूहरूको गर्छ कल्याण वृक्ष
बन्छन् त्यसबाट राम्रा घरमहल बुटे खाट,
कुर्सी, दराज ।।
पृथ्वीको वायुमण्डल चरअचर सबैनिम्ति हितकर
बनाई-
राख्नेमा वृक्ष
तिम्रो अतिशय दरिलो भूमिका चाल पाई ।
लोकले गर्दै छ हल्ला अब गर सबले वृक्षरोपण भनेर
बिस्तारै बन्छ होला अब तिमीहरूको वंशविस्तार वृक्ष ।।
|