|
खीर
इन्द्रबहादुर राई
त्यति बेला मैले त्यस
घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले
सोच्नै सकेको थिइनँ । घटना, घटना नै भनूँ, यस्तो भएको थियोः
हररर आवाज गर्दै टिस्टा
बगेको वर्णन मैले कथाहुँदो धेरै ठाउँ र उपन्यासमा पनि धेरै नै पल्ट
पढिसकेको लेखिसकेको भए पनि साँच्चै टिस्टाले बहँदै कराएको मैले धीत
मारेर सुन्न पाएको थिइनँ । मध्यदिन र मध्यरातमा स्वाँ.... लामो
ढाक्दो आवाज गरेर टिस्टा खोला बास्छ भनेर पनि बर्खा र हिउँदोमा
त्यसको बगरतिर काम गर्न जानेहरूबाट सुनेको छु । तर
कालिम्पोङ-गान्तोक जाँदा-आउँदाको हतारमा गाडीदेखि एकछिन उत्रेर
पुलमा पुगेको, पानीमा मास्तिर तल्तिर हेरिपठाएको, त्यतिले टिस्टाको
आवाज सुन्ने मेरो तृष्णा र भोक अतृप्त नै रहेको थियो । महान् भन्न
मन लाग्ने हरियो-नीलो जलराशिको बग्दो फैलावटमाथिका सुप्तझैँ
बालुवाहरूमा अनेकौँ विगतका करङहरू कोरिएर रहेको, हावाको वेगले पङ्खा
लागेर वरपरका जम्मै झार-जङ्गलहरू हल्लिरहेको कल्पनाबीच टिस्टाको
हररर - भित्र कतै छुट्टै छललल- को आवाज, कतै भिन्दै भुरुरुरु-हरू
पनि भएको र बजेको याद आउँथ्यो... ।
गान्तोकबाट फर्किएको त्यस दिन त्यसै र त्यहीँ टिस्टामा मैले
वास
पारेको थिएँ ।
डाकबङ्गलाको कोठाहरू मरम्मत
गरिँदै रहेछ र मलाई दिइएको कोठा पनि हालै चुना पोतिएको आलो गन्धको
र चहकिलो सेतो असजिलो थियो । छेवैको सटेको कोठामा जम्मै डाकबङ्गला
मरमत गर्ने बढाई, राज, रङवाला र कुल्लीहरूले डरा बनाएका रहेछन् ।
तिनीहरू नै हुन् यस कथाका घटना । विशेष दिन बनाएर आज तिनीहरू
कोठाभरि थुप्रेका थिए, उछिनी-उछिनी कुरा गरिरहेका थिए, केही
पकाइरहेका थिए र बात त्यैमाथि भइरहेको थियो, तिनीहरूले खीर
पकाइरहेका थिए ।
खानेकुरोको कुरा
गरेको मन पर्दैन मलाई । तरै पनि केही नलागेर सुनिरहेँ। दैलोदेखि
बाहिर मध्यदिन बितिसकेको चकमन्नको उज्यालो थियो । पलङमाथि
बेडिङ
फैलाएपछि फेरि फर्केर बाहिर हेर्दा एक्कासि बढ्ता बेलुका पसिहालेको
अर्कै रङको उज्यालो रूखका पात र हाँगाका अभेक ठाउँहरूलाई पनि
छोइराख्न पुगेको थियो ।
"खीर खानु नै हो भने, एक
पावा चामललाई दुई सेर दूध चाहिन्छ", ओढार परेका चङ्कला आँखाको
चित्र दिने एउटा
सोरले किटान गरी-गरी भनिरहेको थियो- 'यति हाम्रो
चामललाई दस सेर दूध चाहिन्छ । कति सेर हाल्यो ?'
'कति सेर हाल्यो र ? चार
सेर त हाल्यो ।'
'टिस्टाजस्तो जग्गामा चार
सेर नाथू दूधको खीर खाएको, थुक्क -' त्यही अघिको
सोरले भन्यो ।
'चार सेर दूध हालेको
खीर !' पनि भन्योः यस्तरी भन्यो जस्तो कि त्यो कुरा कुनै कालो
फाटेको टालो हो र उचालेर सबलाई उसले देखाइरहेछ ।
'खीर खानु नै हो भने, धेरै
चीज चाहियो,' एउटा बूढो-बूढो
सोर माथि चढ्यो- 'पहिले त तिमीहरूको
चामलै भएन । नुनिया चामल ल्याउनुपर्छ, मसिनो सलसल परेको..... ।'
'अलुवा नै किनिसक्नु छैन
रै’छ यहाँ ।' गम्म परेको मान्छेको जस्तो
सोर बोल्यो- 'रङ्गुने
अलुवालाई पहाडे चामलसँग झुक्याएर के ।'
'ठिक्क पहाडे बएर्नी
जस्तै हुन्छ त्यो मुर्दा ।' अर्कोले सघायो तत्कालै ।
'चीज पाइयो र खीर खाने नै
हो भनेदेखि भनेको,' उसले नहारी भन्दै गयो- 'नुनिया चामल पुरानो,
कालो नुनिया अझ राम्रो, मगमग बासना आउँछ, दसबाह्र सेर खाँट्टी
दूधमा पकाउनू । पानी-दूध त पन्द्रह सेर लाग्छ ।
पाँच सेर पानी
सुकाउनुलाई पकाउँदा-पकाउँदा चामल जति फुटेर अब लिटो भइसक्छ, खोले ।
मुठ्ठी पारेको जस्तो बाक्लो दूध छ भने सिता सग्लोसग्लै बसेको
ठर्रो खीर हुन्छ । खोले खीर त मुनि डढिसक्छ, भरै जम्मै डढेको
गह्नाउँछ, मुनिको पर्नेलाई.......'
दाँत माझेको जस्तो हुन्छ
भन्यो कि के भन्यो अर्कोले मैले राम्रो सुनिनँ ।
एक छिनपछि अर्कै एक स्वर
एक छेउदेखि उम्ल्यो- 'दूध मात्रै ओइराएर हुन्छ - पेस्ता चाहिन्छ,
किसमिस, हाडे बदाम, दालचिनी, नरिवल, तेजपात, ल्वाङ जुटाउनुपर्छ ।
ठिक्कको धीमा आँचमा पकाउनुपर्छ । किसमिस पनि छोड्नुपर्छ । अघाडि
छोड्दा फुट्छ ।'
'त्यो सब हालेर के हुन्छ -' एउटा
उत्सुक सुरिलो स्वरले सोध्यो ।
'स्वादको लागि ।'- 'बास्नाको लागि
।'- 'तागतको लागि ।'- झ्याउँ-झ्याउँती त्यसलाई सबले कराए ।
'पल्केलास् ।' अझै त्यही भत्सर्नाको रहलपहलजस्तो कसैले भन्दै
थियो- 'सपनातिर खीर खोजिहिँड्लास् । त्यसरी मन बुझाउलास् ।'
'त्यसरी यहाँ खीर पकाएको छ भने
बास्ना उः पर बाटोमा हिँड्नेको नाकमा लाग्छ,' अर्कोले भन्यो ।
याद गरेर यति बेला मैले तिनीहरूको खीरको
बास्ना सुँघ्ने बल गरेँ,
पटक्कै पाएको जस्तो लागेन ।
'तेरो खीर, यहीँ बसेको हामीलाई त
बास्ना आउँदैन ।' बूढाले भनि पनि हाल्यो ।
'क्यै नहेरी, गज्जबकै खीर
खाऊँ भन्दा तिमी नै पैसा निकाल्नु मान्दैनौ,' प्रतिवादमा आयो उत्तर-
'चोरेर होस्, कमाएर होस्, अर्काको ऋण नतिरेरै होस् जसरी पनि
खाइहालेर बाँच्दै गर्नुपर्छ, बाँचिरहनु सक्नुपर्छ ।'
सबजना सामसुम भए ।
त्यही सामसुमलाई म पनि रुङिरहेको
रहेछु । विरोधमा उठेर म आहट दिँदै यता कोठामा टहल्नु थालेँ । फेरि
मेरो उपस्थितिको यो घोषणाले ठूलो ढुङ्गा लडेर आएकाले झैँ उनीहरूको
बातचीतको खोलालाई अलि अर्कैतिर फर्काइदियो ।
'सब चीज जुक्ताएर मात्रै कहाँ हुन्छ,
पकाउने सिप हुनुपर्छ' एउटाले थाल्यो, सेतो
बाफजस्तो ।
'जैलेसुकै खीर खाएर पनि त भएन, समय
पारेर, आफूलाई विचारेर खानुपर्यो,' अर्कोले थप्यो ।
'उसो भए मुस्किल रै’छ खीर खानु !'
तेस्रोले तीतो करायो- 'असम्भव
रै’छ ।'
हाँसो अलि-अलि रोक्न नसकी मैले
बाहिर हेरेँ । सब सामान्यजस्तै थियो । साँझका काला रूखहरू नहल्लिई
उभिरहेका थिए ।
'चलाऊ-चलाऊ ऐले डढ्छ यै पनि !'
'पाक्यो होला, अब त,'
'पाक्यो, पाक्यो !!'
'त्यतिको पाकेकै हो,'
'पाकेछ-पाकेछ,' भएर भाँडा
उतारियो । अलि परपर सबैजना हटेको र एकदुईले ठाउँ रोजेर ओगटेको
अनुमान आयो ।
खाँदाखाँदै एकजनाले
सोध्यो-
'के-के गन्हाएको जस्तो
लाग्छ ?'
'त्यस्तै लाग्छ ।'
'दाउरा हो दाउरा, अग्गिदेखि म
खुब याद गर्दै छु ।' कुन्नि कसले भन्यो । शङ्का मर्दै बौरँदै
गरिरह्यो ।
'चिनी लागेनछ ।' भनेर एकजनाले
एक-दुइ कदम हिँडी चिनी ल्याई आफ्नो भागमा छर्यो ।
‘खीरमा खानु नै हो भने,' फेरि त्यही
सुरुमा कुरा पकाउने मान्छे खाँदै बोल्दै थियो- 'चिनी होइन, खीरमा
गुँड हाल्नुपर्छ । रङ निस्किन्छ ।'
'गुँड पनि कालो गुँड होइन,
खजुरको पाना-पाना परेको सफा गुँड हालेको मात्रै रसिलो हुन्छ ।'
दोस्रोले लगत्तै सुधार्यो- 'कालो गुँड हालेको त कसरी खानु, छ्या
।'
'छ्याः है, कति खानुको कुरा
गरेको - कति दिनमा के खीर खाएको हो होइन, बडे-बडे कुरा हाँकेर.....
मलाई त कुरीकुरी लागिसक्यो ।' यो भन्नेले यता मलाई सुनाएर ग्लानि
कम गर्नखोजेको थियो मैले बुझेँ।
एक-दुई गाँसमा तिनीहरू व्यस्त भए ।
'चिनी हालेको गुलियो दूध-भातजस्तो मात्रै भएछ ।' मोटो
सोरले भन्दा जम्मै तिनीहरू एक्कासि
हाँसिनिस्के । पकाउनु सिपालु
सोर सबभन्दा लामो हाँसिरह्यो । उसले
रोकिँदै हाँस्दै गर्दा सँगै अरूहरू फेरि हाँसे ।
आज चार वर्षछि म त्यो
घटनाको अर्थ बुझिरहेछु । तिनीहरूले पकाएको खीर हाम्रो 'जीवन'जस्तो
रहेछः जीवनलाई यसरी पो बाँच्नुपर्ने, जीवनलाई उसरी पो काममा
लगाउनुपर्ने, प्रयोग गर्नुपर्ने भन्ने थुप्रै-थुप्रै आदर्शहरू
हाम्रा मनभरि छन् तर साँच्चैमा बाँच्दाका भूल अपुग र भत्कोसहरूले
नछोड्ने हाम्रो यो यथार्थ जीवन तिनीहरूकै खीरजस्तो भइरहन्छ जुन
तिनीहरूले कुरा गरेको आदर्श खीरको व्यङ्ग्यजस्तो मात्र थियो ।
जीवन के टिस्टाजस्तो नहोला जुन
जहाँ जसरी बगे पनि आदर्श नै छ ?
( स्रोत - कथास्था, प्रथम संस्करण, 1972, नेपाली साहित्यपरिषद्
दार्जिलिङ)
( केही हिज्जे परिवर्तन गरिएको)
|