|
|
|
| पिताजीको सम्झनामा
(शोककाव्य) मृत्यु जीवनको अभिन्न घटना यस्मा बिलौना किन ? रोजै मानिस मर्दछन् खुरुखुरु मान्नु अनौठो किन ? ज्ञानी मूर्ख धनी गरीब सब नै लाचार भै एक्दिन जानै पर्दछ छोडि यै नियम हो रोएर बस्ने किन ? मृत्यु गीत रचेर सुन्छ कसले कस्को छ पो फुर्सत ? पीडा बाँड्न सकिन्न हुन्छ जब त्यो नित्तान्त वैयक्तिक आफ्नो दुःख समेटि राख अरुमा बाँडेर के हुन्छ र ? अर्काको दुःखमा दुखी भइ रूँदै को आज पग्लिछ र ? यस्ता तर्क उठे र एकमनले सोचें म क्यै लेख्तिनँ मेरो दुःख मभित्र नै रहिरहोस् - देख्ने अरुले किन ? छाती दन्दन शोकमा जलिरहोस, चिन्ताग्निले खाक हूँ जे जे पर्छ सहन्छु मै सब कुरा चाहे स्वयम् नै ढलूँ सोचेँ के रुनु काम हो निरिहको, भावूक वा मूढको ? आँसू के जल झैँ फगत् तरल हो बग्ने बिनामूल्यको ? पीडा व्यर्थ भए समस्त सुख वा हाँसो पनि व्यर्थ छ जो रुन्छन् यदि मूर्ख हुन् तिनिभने ज्ञानी हुनू व्यर्थ छ शोकाक्रान्त म हुन्नँ भन्छ जसले मृत्यु हुँदा बाबुको त्यस्मा देख्तिनँ गर्व क्यै पनि म ता - त्यो आसुरी शक्ति हो आफ्नो मात्र नभै सबै मरणमा पग्लिन्छ आध्यात्मिक सारा सभ्य समाज भन्दछ यही - होस् पूर्व या पश्चिम टोमस् ग्रे कसरी महान कविता लेख्थे व्यथा, शोकको देख्ता भावुक भै चिहाननजिकै बेलायती गाउँको जन् डन् ले पनि भन्दथे जब कुनै मान्छे यहाँ मर्दछ घट्छु मै किनकी मनुष्य सबमै मेरो हुनू अर्थ छ लाइसीडास रचेर विश्वभरमै नामी भए मिल्टन शेलीको झन शोक किट्स प्रतिको सक्छु म के बिर्सन ? कालिदास बिलाप लेखि अजको - मृत्यु हुँदा पत्नीको हाम्रै राष्ट्रकवि प्रसिद्ध हुनुभो लेखी व्यथा गौरीको यी सारा कविका अगाडि म जती लेखौँ कुनै मूल्य छ ? दीयो ल्याइ धपक्क सूर्यनजिकै देखाउनू तुल्य छ किन्तु शोक र छट्पटी सहज छन् मेरा म त्यो मान्दिनँ पीडा सुन्छु, सुनाउने कसरि हो - सायद् म त्यो जान्दिनँ मेरा यी कविता मभित्र जलने शोकाग्निका राप हुन् तिन्मा हुर्हुर बल्दछु म चरुझैँ पढ्दा सबै पग्लिऊन् थाहा छैन मलाइ पाठकहरु - मिल्लान् यहाँ के कति गल्ती ती सबमा क्षमा गरिदिनू ठानी सिकारु कवि । |
![]() |
साहित्यमा गहिरो रुचि राख्नुहुने धरानका श्री भण्डारी हाल अमेरिकामा Information Systems मा विद्यावारिधि गर्दै हुनुहुन्छ। |