गजल-१
धीरेन्द्र प्रेमर्षिउड्दा-उड्दै परेवा त्यो आकाशमै ढलेको छ
चारो छर्ने हातबाटै गोली हजुर चलेको छ
अमृत फल्ने आसमा नै शहीदले रगत सिँचे
तैपनि त्यो फूलबारीमा विषै किन फलेको छ -
सङ्कटको बादल फार्न सूर्य रच्छु भन्दै थियो
पौरखी त्यो कलम उफ् ! हिँड्नै नपाई गलेको छ
सबै भन्छन् तेरो आँगन पार्दै
छौँ उज्यालो
यही अनुसन्धानमा घर त मेरो जलेको छ
मेरो मुहार हँसाउनलाई मेरै दुवै हातले
मलम भन्दै मेरै घाउमा नुन-चुक दलेको छ
बत्ती सारा निभे पनि, जून-तारा उँघे पनि
'प्रेमर्षि' को छातीभित्र प्रेम-दियो बलेको छ
।
२०५९/०४/२९
गजल-२
खोलो साह्रै बढेको छ, पारि जाउँला घटेपछि
ऐले बाबै ज्यान जोगाउने, बाँच्ने सङ्कट हटेपछि
'लगनी' को भाका हाल्दै गाउँछे बिर्खी बुढिया
कहिले पेटभरि खाउँला, दिनभरि खटेपछि !
उनी ठान्छन् सबै व्याधि भाग्ने गर्छ यसैगरी
छू मन्तरकी बाचा भन्दै सुगा-रटान रटेपछि
माटामा नै मन्दिर देख्ने चलित्तरले पनि अब
बलि दिने 'गहबर' मा रे, साढेसाती कटेपछि
शान्तिपूर्वक देउता पनि कहाँ गई गुहार्ने होला
परेवाको खोपमा नै बाजहरू अँटेपछि
मौसमै छ प्रतिकूल, आइहाल्छ नि बाढी-पहिरो
वसन्त नि फुल्छ तर, प्रेम-पथमा डटेपछि
।
२०५९/०४/३१
|