|
|
|
| भार -चूडावसन्त लम्साल हिमगिरि सरिताको स्वच्छ हावा र पानी प्रणय रस भिजेको पोसिलो जिन्दगानी थरीथरी जनजाति संस्कृतिको खजाना अलगअलग पारा नाचगाना बजाना । जहीँतहीँ मनहारी लक्ष्य आफैँ बनेका झरझर झरना छन्, ताल धेरै जमेका यहीँ चुली चुचुरा छन्, नागबेली नदी यी रनवन भीरपाखा औषधीले भरी यी । उपरी तह हिमाली फाँटमा चौँरी गोठ मधुर मिलन च्याङ्बा-च्याङ्बी एकान्त भेट अलि तल घरगाउँ ब्याँसी पाखापखेरा मिलीजुली दिदीबैनी पानी भर्ने पँधेरा । फरकफरक ढाँचा लेकब्याँसी तराई फलफूल जलवायु स्वाद छुट्टै गराई प्रकृति खटन गर्ने यो सबै तारतम्य मननयन मिलाए हुन्छ त्यो भाव गम्य । तल अझ तल सारी-पारीजस्तो मधेस लहलह झुली बाला अन्नभण्डार बेस कति मन-टन फल्ला धान, गहुँ, तोरी, आलु प्रविधि नव सिकेका खेतीवाला सिपालु । जलथल नव ऊर्जाको मिलाएर योग ट्रलीबस, बिजुलीको रेल गर्दा प्रयोग सबकुछ छ यहीँ के खोज्न जानु विदेश - झिलिमिली यहीँ हामी पार्न सक्छौँ स्वदेश । नझर! नझर !! खाडी काखी च्यापेर राडी भुवनभर छ ऐले रक्तरक्ताम्य बाढी जडीबुटी गरी खेती खाऊँलाऊँ रमाऔँ नवयुवकहरू हो ! अन्त ऐले नजाऔँ। यति असल छ हाम्रो राष्ट्रको कर्मक्षेत्र कुशल छ जनशक्ति देशभित्रै विचित्र कलुषित मन, सत्ता-होली खेल्ने रगतको सहन अब नसक्ने भार हामी फगतको । -बालग्रामचोक, इटहरी |
![]() |
दिङ्ला, भोजपुरमा जन्मनुभएका श्री लम्साल साहित्यबाहेक सहकारी
गतिविधिमा समेत सक्रिय हुनुहुन्छ। उहाँ सुनसरीका विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरूको जिम्मेवार पदमा हुनुहुन्छ।
|