|
|
|
|
तीन कविता डा. अभि सुवेदी
-क) निचरेर सुकाएको आकाश
आकाशबाट धर्धरी भक्कानो फोरेर रोएको कानमा खसेपछि वेगले भेट्न दौडेँ, पृथ्वी मेरो मोटरसाइकलको चक्कामा पहिरन अल्झाएर झन्डै नाङ्गिइन्, पानी जस्तै थ्याच्च बसिन् म भिजेको सरि मायाले टाँगिएँ र एक निचरेर सुकाएको हलुका आकाश भएँ ।
-ख) मायाको ढिस्को
धेरै बगेपछि आँशु जस्तो पानी सुकेर गए पनि आकाशमा कटक्क माया लाग्ने ढिस्को बनाएर जाँदो रहेछ ।
-ग) शब्दको किनारैकिनार
राती कति आँशु बगे थाहा पाइनँ बिहानको खोलाको स्वाँ ! सुनेपछि वगेको मन झिक्न हतारहतार शब्दको किनारैकिनार दौडेँ ।
|