Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

 

नियात्रा

महारानी बन्ने विचार छ कि कसो ?

 

भीष्म उप्रेती

 

      आज पौष ३० गते अर्थात् जनवरी १४ तारिख मेरो इरान बसाइको चौथो दिन पनि म आफ्नो नियमित नेपाली समयमै ब्यूँझिहालेँ । उठेँ र बसेँ एकछिन त्यतिकै । एकतमासको शून्यताको अनुभूति भयो बिहानै । एक्लो र अथाह एकलास ओढेको कोठा र त्यसभित्र एक्लो म । एकाबिहानै यो विचित्र अनुभूति ! मैले यो वातावरणलाई बिथोल्न उठेर टेलिभिजन खोलेँ तर मेरो मन भने एकतमासको भइ नै रह्यो । हेरेँ, टेबुलको एक छेउमा डायरी र एउटा कलम राखिदिएको रहेछ होटलले । बिस्तारै उठाएँ कलम र सोचेँ - यो नरमाइलो एक्लोपनलाई यहीँ घोप्ट्याउनुपऱ्यो डायरीमा ।

 

      यो कोठामा

      कोठाजत्रै शून्यता छ

      कोठाजत्रै एकान्त छ

      र कोठाजत्रै उदासी छ ।

 

      शून्यताले

      कोठाजत्रै मुख बाइरहेको छ

      एकान्तले

      आतङ्कजस्तो हात फैलाइरहेको छ

      र उदासीले

      त्रासद आँखाले हेरिरहेको छ ।

 

      कतै भाग्न पनि नसकेको

      लड्न पनि नसकेको यी सबैसँग

      कोठामा

      म पनि छु कोठाभन्दा ज्यादै सानो

      निरीह र एक्लो ।

 

      यो कोठामा

      कोठाजत्रै शून्यता छ ...

 

      यति लेखिसकेपछि हलुका भएँ म । चङ्गा मन लिएर गएँ बाथरूममा र नुहाएँ ।

      श्री एस. एम. हुसेनियनले मेरो टिकटमा केही समस्या छ जस्तो छ, पासपोर्ट ल्याउनुस् है भनेका थिए हिजो । त्यसैले पासपोर्ट झिकेँ सुटकेबाट र कोटको भित्री गोजीमा राखेँ । त्यसपछि उही नियमित प्रक्रिया आठ बजे लबीमा गयो, शुभप्रभात भन्यो साथीहरूलाई र ब्रेकफास्ट खाएर सेमिनारको लागि प्रस्थान गर्यो ।

      दिउँसो खाना खाइसकेपछि श्री हुसेनियन र म निस्कियौँ बजारतिर इमिरेट्स एयरलाइन्सको अफिसमा जान । मैले तेहरानबाट कनको लागि १७ तारिखको मिति निश्चित गरेको टिकट लिएको भए पनि त्यसलाई फेरि कन्फर्म गरेर ढुक्क हुनका लागि हुसेनियनजीलाई भनेको थिएँ हिजो । यो उनको कार्यक्षेत्रभित्रै पर्थ्यो पनि । हिजो फोनबाट बुझदा पासपोर्ट लिएर आउन भन्यो होला एयरलाइन्सले । त्यसैले हामी आज निस्किएका थियौँ यसरी । मेरो लागि त यो एउटा अवसर थियो इरानलाई अर्को एउटा नयाँ पाना पल्टाएर पढ्ने ।

      मैले हुसेनियनजीलाई सोधेँ - "किन इरानीहरू अङ्ग्रेजी बुझ्दैनन् - अङ्ग्रेजी पढ्नु पर्दैन हो ?"

      "इस्लामिक क्रान्ति अघि पढ्नु पर्थ्यो । तर क्रान्तिपछि इरानलाई पश्चिमी प्रभावबाट बचाउने नाममा अङ्ग्रेजी पठनपाठन बन्द गरियो । तेहरान विश्वविद्यालय धेरै प्रसिद्ध थियो यस क्षेत्रमा । युरोप र अमेरिकाबाट आएका सबै प्राध्यापकहरू उतै फर्किए क्रान्तिपछि ।"

      "तपाईंको अङ्ग्रेजी त राम्रो छ त?" मेरो जिज्ञासा बोल्यो ।

      "मैले विदेशमा पढेको हुँ, त्यसैले ।" उनले भने । र, अझै भने - "राजा पहल्वीलाई हटाएर गरिएको क्रान्तिपछिको इरानीहरूको एउटा सिङ्गै पुस्ताले अङ्ग्रेजी बुझ्दैन ।"

      मलाई आफूले अलिअलि पढेको इरानको इस्लामिक क्रान्तिका केही झलकहरूको सम्झना भयो । पर्सिया नाम रहेको प्राचीन मानवसभ्यताको एउटा धरोहर रहेको यस देशको पुनः नामाकरण गरी इरान बनाइएको थियो सन् १९३५ मा । यस देशमा शासन गर्ने राजपरम्परा थियो । तर सन् १९७९ मा भएको क्रान्तिले राजसंस्थको अन्त्य गरिदियो । त्यस बेला इरानमा राजा शाह रेजा पहल्वी थिए । उनकी रानीको नाम इमप्रेस फराह थियो । तर राज्यका महत्त्वपूर्ण पदहरूमा आफ्नै नातेदारहरूलाई मात्रे राख्ने, मोजमस्ती र निर्लज्ज भ्रष्टाचार गर्ने एवं जनताले विरोध गरेमा त्यसलाई क्रूरतापूर्वक दबाउनेजस्ता गतल क्रियाकलापले इरानमा राजालाई ज्यादै अलोकप्रिय बनाइदियो । जनताको असन्तोष बढेपछि राजा पहल्बीले निर्वासनमा पठाएका इरानका धार्मिक नेता आयोतोल्लाह रोहोल्लाह खुमेनी फ्रान्सको १४ वर्षे निर्वासित जीवन त्यागेर १९७९ जनवरी १ मा इरानमा फर्किए । त्यस रात तेहरान रातभरि जागै थियो । कर्फ्युको कुनै पर्वाह नगरी दसौँ लाख जनताहरू सडकमा निस्किएका थिए । त्यसपछि उनैको नेतृत्वमा इरानमा आन्दोलन र क्रान्ति प्रारम्भ भयो । सरकारी संयन्त्रहरू गतिहीन भए । राजाको क्रान्तिलाई दबाउने सबै उपायहरूले काम गर्न नसकेपछि सोही वर्ष जनवरी १६ मा राजारानी इरान छाडेर निर्वासनमा जान बाध्य भए । शुरुमा विदा मनाउन र औषधी गर्न भनेर विदेशिएका राजा फर्केर फेरि कहिल्यै इरान आएनन् । फेब्रुअरी ११ मा आयोतोल्लाह खुमेनीले इरानको राज्यशक्ति हातमा लिएपछि अप्रिल १ मा इस्लामिक रिपब्लिक इरानको घोषणा गरिएको थियो । निर्वासित राजा शाह रेजा पहल्बीको भने सन् १९८० मा इजिप्टमा क्यान्सर रोगले मृत्यु भयो ।

      मैले बल्ल बुझेँ किन हामीले पसलहरूमा अङ्ग्रेजी बोल्ने मानिसहरू भेटेनौँ, किन सेमिनारका इरानी सहभागीहरू विषयवस्तु बुझेर पनि छलफलमा भाग लिन सकिरहेका थिएनन्, फुर्सदको समयमा किन हामीसँग चाहेर पनि खुलेर कुरा गर्न सकिरहेका थिएनन् ।

      "तपाईंहरू खुसी हुनुहुन्छ त यस्तो प्रणालीसँग जसले मानिसको स्वतन्त्रतालाई कुँजो बनाउँछ ?" मैले उनको भित्री विचार जान्न चाहेँ ।

      "खुसी त छैनौँ । तर इरानीहरूले धेरै रक्तपात भोगिसकेका छौँ । अझ रक्तपात चाहँदैनौँ । रक्तपातविहीन परिवर्तन हाम्रो चाहना हो ।" उनले भने ।

      "यो त राम्रो कुरा हो । तर सम्भव होला र ?" मेरो सानो आशङ्का बोल्यो ।

      "हामी आशावादी छौँ । हेर्नुस् न सन् असीको दशकभन्दा निश्चय नै धेरै खुकुलो भएको छ अहिले । इरानी युवाहरूले ठूलो मर्थन गरेर सुधारवादी राष्ट्रपति (मोहम्मद खतामी) लाई जिताएका छन् । उनी सकेसम्म सुधार गर्न चाहिरहेका पनि छन् । अङ्ग्रेजी भाषालाई पनि बिस्तारै फेरि अध्ययन गराउन थालिएको छ विद्यालयमा । तर राष्ट्रका सर्वोच्च व्यक्ति त धार्मिक नेता नै हुन् । उनीहरू अझै पनि धेरै बलिया छन् । त्यसैले राष्ट्रपतिले ज्यादै होसियार नभकन सुखै छैन ।"

      हामी इमिरेट्स एयरको कार्यालयमा पुग्यौँ । एकैछिनमा सकियो हाम्रो काम र पुनः फर्कियौँ इरानको केन्द्रीय बैँकमै ।

-  -  -

 

      साँझ ज्वेलरी म्युजियम हेर्न जाने कार्यक्रम थियो । मन त्यसैले पनि चञ्चल भइरहेको थियो । अहिले गाडीमा बसेर म्युजियमतिर हुँइकिएपछि त उत्सुकता ह्वात्तै बढेको थियो । मनको फुर्फुरको त के कुरा !

      हामी इरानको केन्द्रीय बैँकको सबैभन्दा पुरानो भवनमा पुग्यौँ । विशाल दरबार रहेछ यो भवन । यसै भवनलाई इरानको केन्द्रीय बैँकले ज्वेलरी म्युजियम बनाएको रहेछ । हामीलाई यस भवनको मूल ढोकामै क्यामरा र अन्य चुम्बकीय वस्तुहरू भए सुरक्षाकर्मीलाई बुझाउन भनियो । जवाहरातको फोटो खिचौँला भन्ने उत्साहमा पानी परिहाल्यो सुरुमै । हामी सबैले क्यामरा बुझायौँ र एकएकवटा टोकन प्राप्त ग-यौँ सट्टामा ।

      मूल ढोकाबाट भित्र पसेको मात्र थिएँ, वाफ रे ! अचानक सासै रोकिएझैँ पो भयो । अकल्पनीय सौन्दर्य, भव्यता र विलाससँग जम्काभेट भयो सुरुमै । इरानका राजाहरूले प्रयोग गर्ने गरेका सुनचाँदी र अरू के के हो के के जवाहरातले निर्मित झलझलाकार भव्य पलङ । म त अवाक्, केवल टुलुटुलु हेरिरहेको थिएँ । सँगै उभिएकी सादियाले भनी - यो पलङचाहिँ पाएँ भने मलाई संसारका अरू कुनै चीज चाहिँदैन । मैले पुलुक्क उसलाई हेरेँ र उसको कानैनेर फुसफुसाएँ - "निद्रा लाग्छ यस्तो पलङमा ?"

      ऊ मतिर हेरेर मीठोसँग मुस्कुरई मात्र । तर मलाई त साँच्चै निद्रा लाग्ने छैन यस्तो पलङमा सुत्न पाए पनि । यो भव्यताले, जवाहरातको रापले मजस्तो साधारण मान्छेको साधारण निद्रालाई नजिक आउनै दिने छैन पक्कै पनि । यो मेरो सामर्थ्य त के, कल्पनाभन्दा पनि कोसौँ टाढाको कुरा भयो । कसरी चैनले निदाए होलान् इरानी राजारानी यहाँ ! के इरानी जनताको दारुण गरिबीको टीठलाग्दो मुहार र करुणाले पोलेन होला र उनीहरूलाई भत्भती ?

      हामी अर्को ढोकाबाट भित्र छिर्यौँ । विशाल कोठा थियो । विशाल कोठा थियो यो र बिजुलीबत्तीको मधुरो प्रकाश बालिएको थियो । यस कोठाभित्रको दौलत र तिनको चमचमाहट, वाफ रे ! मेरो जीवनको सर्वथा नौलो कुरा थियो । के मात्र हेर्ने र कुन कलाकारिताको प्रशंसा गर्ने ! कुन गहना हेर्ने र आफ्नी मायालुलाई सम्झिने ! म त अलमलिएँ साह्रै नै । आजको यस साँझलाई खोइ कसरी सम्झने हो मैले मेरो जीवनमा ! यति धेरै दौलत, बहुमूल्य जवाहरात एकै ठाउँमा देखुँला भन्ने त मैले कहिल्यै कल्पनै गर्न सकिनँ भने देख्ने आशा त कसरी गर्नु ! , फेरि जिन्दगीभरिमा देखुँला भन्ने किन्चित अपेक्षा पनि छैन । झलझलाकार हीरा, मोती, मुगा, रुवी, पन्ना र अरू केके हो केके नामै नजानेका रत्नहरूले बनेका कलापूर्ण श्रीपेचहरू, महारानीले लगाउने ताजहरू, विभिन्न किसिमका गरगहनाहरू, मालाहरू, कम्मरपेटी, तरबारका म्यानहरू, ढाल, कलात्मक कचौरा, चम्चा र प्लेटहरू । राजारानीको यिनै रत्नजडित भव्य सिंहासन र औपचारिक पोशाकहरू । सुनचाँदी मात्र त तुच्छ ढुङ्गा बराबर लाग्न थाले मलाई त्यहाँ ।

      त्यस्तै, तत्कालीन इरानी राजाले वितरण गर्ने विभिन्न तक्माहरू पनि सजाइएका थिए । कुनै पनि गहना अथवा केहीमा जडित नगरिएका हीरा, मोती, रुबी, सुनका टुक्राहरू आदि पनि त्यत्तिकै सजाएर राखिएका थिए । हामी सबैका विस्फारित आँखाहरूले मानौँ झिमझिमाउन समेत बिर्सेका थिए त्यहाँ, हामी सबैका मुटुहरूले मानौँ ढुकढुकाउन समेत बिर्सेका थिए त्यहाँ । त्यहाँ त केवल आश्चर्यहरू थिए सलबलाइरहेका, भावुकताहरू थिए चलमलाइरहेका ।

      त्यहाँको एउटा कर्मचारी हामीलाई प्रत्येक गहनाको, प्रत्येक वस्तुको बारेमा, त्यसलाई प्रयोग गर्ने व्यक्तिको बारेमा, त्यसको कालिगढी र निर्मितिको बारेमा टेपरेकर्ड खोलेजसरी फरर्र भट्याइरहेको थियो एउटै प्रवाहमा । जब उसले केही हीराका ठूलाठूला टुक्राहरू र अन्य हुमूल्य जवाहरातहरूलाई देखाउँदै भारतको हैदरावाद, दिल्ली र अन्य हरहरूबाट ल्याएको भन्न थाल्यो, मैले सुटुक्क भारतीय साथीहरूको अनुहार हेरिहालेँ । उनीहरूको अनुहारमा अथाह आश्चर्यहरूबीच पनि एउटा तनाव र तम्तमाइलो उदास रङ चढेको देखेँ मैले । एक किसिमको क्षोभजस्तो, सबैभन्दा प्रिय वस्तु गुमाउनुपरेको पीडाजस्तो ज्यादै नमीठो भाव देखेँ मैले । विशेषतः श्रीमती बलबीर कौर र डा. शर्मिष्ठा मित्राको अनुहारमा यो भावना प्रष्ट पढेँ मैले ।

      त्यस भव्य कक्षबाट बाहिर निस्कँदा सादिया फेरि मेरो नजिकै आइपुगेकी थिई । "के छ तपाईंको विचार अहिले ?" बिस्तारै सोधेँ मैले ।

      "मलाई यो पलङ र त्यो परको एउटा ताज भए पुग्छ ।" उसले भनी ।

      मैले कालो बुर्काले छोपेको उसको जीउडाल र उमेर नियालेँ एकपल्ट र भनेँ - "महारानी हुने विचार छ कि कसो ?"

      ऊ फेरि मुस्कुराई तिनै जवाहरातजस्तै उज्यालो मुस्कान ।

      हामीलाई मूल ढोकामा हाम्रा क्यामरासँगै एकएक सेट पोस्टकार्ड उपहार दिइयो । यी पोस्टकार्डहरू यिनै जवाहरात र गहनाहरूसँग सम्बन्धित थिए ।

- - -

 

      होटलमा फर्केपछि आफ्नो कोठामा टेलिभिजन हेरिरहेको थिएँ, ढोकामा कसैले आवाज दियो । खोलेर हेरेँ सामुन्नेको कोठामा बस्ने अन्जनेलुजी मुस्कुराइरहेका थिए । उनले हतार गर्दै भने -"ल ल, चाँडै तयार हुनुहोस्, ढिला भइसक्यो ।"

      "किन, के भो र?" मलाई अचम्म लाग्यो ।

      "दिल्ली दरबार निकै टाढा छ यहाँबाट । निकैबेर लाग्छ त्यहाँ पुग्न ।" यति भनेर उनी तल लबीमा भेट्ने भनेर हिँडिहाले ।

      यो अल्पसूचनाले जन्माएको उत्सुकताले लगाएको काउकुतीले मलाई पनि हतार लगायो । हतारहतार कपडा बदलेर ओर्लिएँ म लबीमा । अन्जनेलुजीका साथमा डा. शास्त्री र स्वामिदास मलाई पर्खिरहेका  थिए । हामी चारजना होटल परिसरबाट एउटा ट्याक्सीमा बसेर हुइकियौँ तेहरानको ल्याम्पोस्टको बत्तीले रङमङिएको सडकमा । ड्राइभरले कहाँकहाँ घुमाउँदै करिव ४० मिनेटपछि पुर्यायो हामीलाई 'दिल्ली दरबार'मा ।

      हामीले ड्राइभरलाई विदा गर्न चाह्यौँ । तर ऊ जान मानेन । "जति समय लाग्छ लागोस्, तपाईँहरूलाई मै पुर्याइदिन्छु नि, बढी भाडा लिन्नँ ।" हामीले केही भनेनौँ ।

      मलाई बल्ल थाहा भयो, दिल्ली दरबार भनेको त तेहरानमा रहेको भारतीय रेस्टुरेन्टको नाम पो रहेछ । दिउँसो डा. शास्त्रीले भारतीय रेस्टुरेन्टको विषयमा गाइँगुइँ कुरा गरेको त सुनेको थिएँ, उनीहरूले त पूरै कार्यक्रम नै पो बनाएछन् अहिले त ।

      हामीले लगभग १ घन्टा बितायौँ दिल्ली दरबारमा ।

     फर्कँदा केही ड्राइफुड किन्ने विचार गरे साथीहरूले । ड्राइभरले त्यहीँ नजिकै एउटा पसल देखाइदियो र भन्यो - "तपाईंहरू सामान छान्नोस् मात्र । पैसा तिरेर म किन्छु । मलाई पछि पैसा दिनुहोला, नत्र त तपाईंहरूलाई ठगिहाल्छ त्यसले । किन ठगिनुहुन्छ व्यर्थैमा ।"

      अहो ! यो ड्राइभर त साँच्चैको मित्रवत् पो रहेछ । चिन्नु न जान्नुका मान्छेलाई पनि कति हार्दिक व्यवहार गरेको ! इरानी हृदयको कोमलताको सानो नमूना - यो ड्राइभर । हामीले छोकडा लगायत केही ड्राइफुड किन्यौँ ।

      होटलमा फर्कँदा आधा रात बितिसकेको थियो ।

- - -