|
|
|
| अङ्क दुई ( साउन भदौ असोज) सम्पादकीय कविताः कृष्णभूषण बल, श्रीधर शर्मा, रश्मिशेखर, कमला प्रसाईँ गीतः रवीन्द्रनाथ ठाकुर, विनीता राई गजलः मनु मन्जिल, रीता ताम्राकार विचारः कृष्ण धरावासी, कमला सरूप, दिनेश पौडेल मुक्तकः भूषण ढुङ्गेल लघुकथाः शर्मिला दाहाल, टीका सुवेदी, आर. सी. रिजाल
हाम्रो राष्ट्रभाषा नेपाली
समृद्ध भाषा हो। यस कुरामा त दुईमत नहोला तर अचेल नेपाली भाषाको
प्रयोगमा व्यापक रूपमा देखिएको लापरवाही र अराजकताले हामीलाई अत्यन्त
मर्माहत पारेको छ। ‘आ आफ्नै भाषा त हो नि, बुझे भैहाल्यो नि किन शुद्ध
चाहियो र .....?’ भन्ने खालका अभिव्यक्तिहरू जताततै पाइन्छन्। प्रधान सम्पादक
कृष्णभूषण बल
टुङ्गा को लक्ष्य
साधेर हिँडेको हुँ फेदीदेखि टाकुरासम्म
जसरी उकालो लागेको
थिएँ म, आफूले खाम्न सक्ने एउटा भारी उचालेर
डाँडालाई तल झार्नु
पनि डाँडामाथि उक्लनै पर्दो रहेछ
म फट्फटाएर भोलि
बास्ने बिहानसँग निश्चिन्त छु
केही औषधीहरू छन्
भारीमा, बिरामीहरूलाई बाँडौँला
श्रीधर शर्मा
घामका उज्याला,
न्याना किरणहरूले
दूर क्षितिजमा
रमाएर उफ्रिरहने
बिम्ब र प्रतीकले
दुलही सजाउने रहर
कविता !
-रश्मिशेखर
जुनकीरीहरू
लाटोकोसेराहरू
रातको
गङ्गा नुहाएर -बिर्तामोड, झापा
कमला प्रसाईँ (ढकाल), अस्तित्वविहीन छ यो यात्रा
यतिखेर मेरो गोरेटामा जन्मः 7 मे 1861 मृत्युः 7 अगस्त 1941 साहित्यमा नोबेल पुरस्कार, कृति ‘गीताञ्जली’मा ( 1913) अन्य कृतिहरूः गीतवितान, सञ्चयिता, गल्पगुच्छ, छिन्नपत्र आदि ।
गीताञ्जली - 7
तिमी नवनव रूपमा आऊ प्राणमा । आऊ सुगन्ध चयनमा आऊ गानमा । आऊ अङ्गमा पुलकित स्पर्शमा आऊ मनमा अमृतमय हर्षमा आऊ मुग्ध मूदित दुई नयनमा । तिमी नवनव रूपमा आऊ प्राणमा । आऊ निर्मल उज्ज्वल कान्त, आऊ सुन्दर स्निग्ध प्रशान्त, आऊ, आऊ है विचित्र विधानमा । आऊ दुःखमा सुखमा, आऊ मर्ममा, आऊ नित्यनित्य सब कर्ममा, आऊ सब कर्म-अवसानमा । तिमी नवनव रूपमा आऊ प्राणमा ।
गीताञ्जली - 31 म यहाँ बस्छु मात्रै गाउँदै तिम्रो गान देऊ मलाई तिम्रो जगत्-सभामा अलिकति स्थान ।
म तिम्रो भुवनमाझमा लागिनँ नाथ कुनै काममा केवल सुरमा बज्छ बिनाकामको यो प्राण ।
निशाको नीरव देवालयमा तिम्रो आराधन तब मलाई आदेश गर गाउन हे राजन् ।
बिहान जब आकाश जोडिँदै बज्दछ वीणा सुनको सुरमा तब म नरहूँ टाढा यही देऊ है मलाई मान ।
मूल बङ्गाली भाषाबाट अनुवादः कुमुद अधिकारी
-विनीता राई न त ज्यानको माया न त मनको माया, जाँदै छु म त्यो पारि वन घाँसदाउराको निम्तेरी हँसिया र नाम्लोसँग डुल्दै छु म त रानीवन ।
हरियाली वन छ, वनैमा किन मन हुन्छ उदास न्याउलीको रुवाइ सुनेर हो कि मन भयो उराठ भागेझैँ लाग्छ छेउछाउको चरी उजाड भो यौवन घाँसदाउरा खोज्दै बित्ने हो कि जीवन ।। शिरमा नाम्लो कम्मरमा हँसिया, ढाडैमा डोको छ फाटेर गयो एकसरो चोली ज्यान पाल्न गाह्रो छ क्यै राम्रो लाउने, क्यै मीठो खाने सपना नै हुनेभो वन र पाखा धाउँदाधाउँदै जिन्दगी बित्नेभो (-सङ्गीतः राम थापा)
-मनु मन्जिल तिमीलाई सम्झी आफ्नो नाम भुली आएँ जून भेट्ने रहरमा घाम भुली आएँ ।
पाखाभरि फुल्ने गुराँस ‘बैँस लैजाऊ’ भन्थे तिम्रा लागि फूलैफूलको इनाम भुली आएँ ।
एक छेउ आँचल देऊ न, गोप्य लिखत दिऊँ हतारमा दौडेको थेँ, खाम भुली आएँ ।
कोइलीहरू हराएको धुन खोज्दै होलान् आउँला भन्दै हिँडेको म जमान भुली आएँ ।
तिम्रै तस्बिर बनाऊँ कि एक जिन्दगी म ? यसकै लागि आखिर सारा काम भुली आएँ ।
-रीता ताम्राकार
मेरो कथा शून्यशून्य ठाउँहरूमा खोज । मेरो व्यथा चह-याउने घाउहरूमा खोज ।
चुँडिएको चङ्गाझैँ म बेठेगान उडिरहेँ , मेरो ठेगाना निर्जननिर्जन गाउँहरूमा खोज ।
भत्किएको मन्दिरजस्तो आस्थाभन्दा पर, मलाई खोज्दा बिर्सिएका पाउहरूमा खोज ।
बाँसुरीझैँ चोट बोकी धेरै गीत गाएथेँ, अब मौन सागरमाथि नाउहरूमा खोज ।
फूल छोडेँ जून छोडेँ उज्यालो सब छोडेँ, अब मलाई नियतिका दाउहरूमा खोज ।
बहुनायकत्वको लीलाचेतः लीलालेखन -कृष्ण धरावासी बहुलता आजको युगचेतनाको मेरुदण्ड हो। बहुवाद आजको मानवसंस्कृतिको प्रारम्भ हो । विश्वको कुनै कुनामा पनि आज विकसित हुँदै आइरहेको कुरै यही हो। साहित्यमा, राजनीतिमा, कलामा, वैचारिकतामा, संस्कृतिमा सबैतिर पसेर सक्रिय भइरहेको यही नै अबको जीवन हिँड्ने बाटो हो। कुनै एउटा मात्र व्यक्ति, एउटा मात्र पात्र वा एउटा मात्र विचार मुख्य रहने र बाँकी सबै त्यही मुख्यलाई प्रमाणित गर्न सहायक बन्ने परम्परा अब कमजोर हुँदै गएको छ। विषय, गुण र उपयोगितामा कुनै पनि वस्तुको महत्त्व त्यसको त्यहाँ उपस्थित हुनुले नै स्वतः सावित गरिरहेको हुन्छ। उपभोक्ताले त्यसलाई कतिसम्म महत्त्व दिने भन्ने स्वनिर्णय गर्दछ। उपभोक्तामाथि उसको रुचिविरुद्ध केही कुरा पनि लाद्न सकिँदैन । उसलाई मनपर्ने वस्तुको छनौट गर्ने पूर्ण स्वतन्त्रता छ उसलाई । आजको व्यापारमा पनि क्रेताले आफ्नै हातले आफूलाई आवश्यक पर्ने सामान पसलबाट रोजीरोजी छानेर विक्रेताका अघि बिल बनाउने ठाउँमा थुपार्न खुसी हुन्छन् । डिपार्टमेन्टल स्टोर्सहरूको लोकप्रियता बढ्नुको पछि पनि क्रेताको यही स्वतन्त्रताको आधार रहन्छ । स्वतन्त्रता प्रत्येक जीवन बाँच्ने प्रथम सर्त हो । जुनसुकै तह र अवस्थाको व्यक्ति पनि आफ्नै हैसियतभित्र स्वतन्त्रताको हक खोज्दछ। सामाजिक, राजनैतिक, धार्मिक वा अरू जुनै पनि बन्धनहरू उसका विरोधी हुन्छन्। मुक्त जीवनको महान् सपना बोकेको ऊ सदा कुनै न कुनै रूपमा सङ्घर्षरत छ नै। आ-आफ्नो स्तरभित्रै ऊ द्वन्द्वमा छ। मजदुरी गरिरहेको ऊ ठेकेदारसँग सङ्घर्षरत छ, अधिकारफ्राप्तिका लागि लड्न खडा गरिएको युनियनसँगै त्यसको नेतृत्वसँग असन्तुष्ट छ ऊ। कहीँ पनि उसलाई कँज्याउने कुराका विरुद्ध भित्रभित्रै सदा सङ्घर्षरत छ। समाजको जुनै क्षेत्रमा पनि कुनै एउटा विषय वा व्यक्तिलाई विशेष बनाई त्यसकै वरिपरि अरू गतिविधि सक्रिय हुने पुरानो परम्परा हो । आफूलाई गौण ठानी, उसलाई महान् स्वीकार गर्ने परम्परा धेरै कालसम्म चल्यो। पिछडिएको समाजमा चेतना कम भएको समाजमा, यो परम्परा अहिले पनि यथावत् छ। गाँउसमाजमा एउटालाई मूली मानेर, नायक मानेर बाँकी सबै उसैका सहायक पात्ररूपमा गतिशील हुने चलन धेरै पुरानो चलन हो। यस चलनले समाजमा एउटा थिति त बसालेको होला तर त्यसले समाजलाई अघि जान भने पटक्कै दिएको हुँदैन । प्रत्येक कुराको अनुमति नायकबाट लिनुपर्ने, अनुमति नपाइएको कुरा स्वेच्छाले गरे नायक रिसाउने र त्यसको ठूलै सास्ती पाइने हुन्छ। तर अब समाज बिस्तारै एकल नायकत्वबाट मुक्त हुन खोजिरहेको छ। संसारका कैयौँ विकसित मुलुकहरू यो एकल नायकत्वबाट मुक्त भएको कति भयो, भयो....., हामीकहाँ भर्खरै यो चेतनाले प्रवेश गरिरहेको छ । बहुलताको यस चेतनाभित्र मुक्तिको लडाइँ लडिरहेका हामी आपसमै पनि द्वन्द्वरत छौँ । हजारौँ वर्षदेखिको एउटा सिलसिलामा आइरहेको यस परिवर्तनले स्वयं मुक्ति चाहने पात्र पनि अन्यौलमा छ । ऊ ठीक गरिरहेको छ कि त ? मौलिकताको ठूलो ज्ञानभण्डार बोकेको व्यक्ति पनि कहिलेकाहीँ परम्परागत प्रभावका कारण चमत्कारहरूतिर आकर्षित हुन पुग्छ । विज्ञानले अस्वीकार गरेको भाग्यवादमा बज्रिन पुग्छ। आज पनि कैयौँ द्वन्द्वात्मक भौतिकवदीहरू कहिले साईधामतिर कहिले सिक्किम,कोप्चेको निर्मलधामतिर लुकीलुकी धाइरहेका छन् । हजारौँ वर्षदेखिको एकनायकत्व स्वीकार गर्दै आएको लुप्त मनोअवस्थामा कहिलेकाहीँ ‘म कहाँ छु’ भन्ने वर्तमान चेत हराउन गई मानिसले आफैँलाई बिर्सिएको बेला थाहै नपाई विगततिर फर्किसकेको हुन्छ। आज कैयौँ ठूलाठूला मार्क्सवादीहरू मन्दिरनिर्माण र जीर्णोद्धार-समितिहरूमा सक्रिय छन्। क्याम्पसको सहयोगार्थ आर्थिक सङ्कलन गर्न भनी क्याम्पस हाताभित्र सप्ताह पुराण आयोजना गरी त्यसका कर्ता भई निधारमा चन्दन लगाइरहेका छन्। उपप्रधानमन्त्री भएका बेला माधवकुमार नेपाल तिरुपति बालाजीको दर्शन गरिरहेका थिए। आज पनि कमरेड आर. के. मैनाली बेलाबखत ज्योतिषीहरूलाई घरमा बोलाई हस्तरेखाको लम्बाइ नापिरहेका छन्, चिनाको दशागोचर गनाइरहेका छन्। वर्तमान विश्वासमा जब आफ्नो नायकत्व कमजोर हुन्छ, पात्र फर्किन्छ पुरातन विश्वासतिर। समूहले आफ्नो नायकत्व स्वीकार गरेसम्म सम्पूर्ण विगतका विरुद्ध एक्लै सङ्घर्ष गर्ने अठोटका साथ संसारतिर हेलिएको ऊ उमेरको वृद्धतासँगै फर्किँदै गरेको पाइन्छ पुरातन विश्वासहरूतिर। अभाव र गरिबी प्रायः सबै दुःखका कारणहरू हुन्। अभाव र गरिबीका कारण पछि परेको शिक्षा र चेतनाले व्यक्तिलाई शासित र निरीहत्व प्रदान गर्दछ। हारिएको मानसिकता जहाँ पनि समर्पित हुन्छ- मालिकसँग, देवतासँग, जोसँग पनि। तर अब बिस्तारैबिस्तारै हाम्रो समाजमा पनि बहुलताले प्रवेश गर्दै गरेको बेला छ। एकल नायकत्वको विघटन हुन प्रारम्भ भएको छ। अब गाउँमा एउटा साहुमहाजनका हातमा मात्र त्यहाँको अर्थतन्त्र केन्द्रित छैन, टोलटोलमा सामुदायिक वित्तीय संस्थाहरू गठन भएका छन्। सस्तो ब्याजदरमा ऋण प्रदान गर्ने संस्थाहरूका अघि किर्ते साहु धराशायी हुँदै गएको छ। राजनीतिमा कुनै एउटा व्यक्ति सर्वमान्य नेता अब रहेन, नाताहरू एउटै दलभित्र पनि अनेक भए, अनेक विशेषताले कुनै एउटा जातिविशेष, धर्मविशेष, विश्वासविशेषले काम गर्न छाड्दै छ अचेल। अचेल कोही पनि आत्मविश्वासका साथ कुनै कुराको जिम्मा लिन सक्दैन। बाबुआमाको पूर्ण नायकत्व स्वीकार गर्दैनन् छोराछोरी, नोकरचाकरले मालिकको मूर्दा दासता स्वीकार गर्दैनन्। समाजको यही बदलिँदो अवस्थाको अध्ययन गरिरहेछौँ हामी साहित्यकारहरू पनि आफ्नो लेखनमा। परम्परागत लेखनमा एउटा नायक वा नायिकाकै अघिपछि सम्पूर्ण कथाले केन्द्रित हुनुपर्ने, तिनै नायकनायिकालाई तिनको विशिष्ट भूमिका सार्थक गराउन अरू सानातिना भूमिकामा अरू पात्रहरू आउनुपर्ने, सम्पूर्ण कथाले अन्त्यमा एउटा विशेष उपदेश-सन्देश दिनुपर्ने र त्यसलाई पाठकले मान्नुपर्ने, संयोग वा वियोगमा कथा केन्द्रित रहनुपर्ने आदि परम्परागत लेखनले पाठकहरूलाई पनि त्यसअनुरूप रुढदृष्टि दिइआएको थियो/छ। तर यथार्थमा अबको समाज यति सानो र सीमित घेरामा रहेको छैन। समाज धेरै अघि गइरहेको छ र हाम्रो लेखन धेरै पछि छुटेको छ। पहिलेपहिले लेखनको पछि समाज हुन्थ्यो, आज समाजको पछि लेखन घिस्रिरहेको छ। लेखनले समाजको भविष्यको नेतृत्व गर्नुपर्ने हो तर यो अडिएको छ कहालीलाग्दो भूतकालमा। उति पछाडिको लेखनले वर्तमान कसरी सन्तुष्ट हुनसक्छ? त्यसैले अबको लेखनमा बहुनायकत्व, बहुविचार र बहुकथाहरूको सन्जाल बुनिएको हुन्छ। समाजका सबै वर्गलाई प्रतिनिधित्व गर्ने लेखनमा समाजको यथार्थचित्रण उठाउँदा त्यहाँ विशेष नायक कोही बन्नै सक्दैन। नायक खडा गरेर लेखन गर्न थाल्दा त्यस लेखनमा लेखकको वैयक्तिक कमजोरी वा उसका अहम्-हरू प्रमुखरूपमा अभिव्यक्त भइरहने हुन्छ तर समाजको लेखन गर्न थाल्ने हो भने कथाले आफैँले नायकको छनौट गर्दै जान्छ। सुरुमा एउटा नायक होला भनी गरिएको अनुमान कथा अघि बढ्दै जाँदा टुट्दै जान सक्छ। सोचेको नायक साधारण पात्रमात्र बनी सोच्दै नसोचेको साधारण पात्रले नायकत्व ग्रहण गर्नसक्छ। कुनै एउटा पात्रलाई नायक बनाउने परम्परा पुरानो सामन्ती विश्वासको अवशेष हो। त्यस नायकको शासनमा अरूले बस्नुपर्ने र त्यसलाई स्थापित गर्न अरूले उसको भन्दा कमजोर भूमिका खेलिदिनुपर्ने, यो अवस्था पुरानो सामन्ती समाजको चिन्तनपरम्परा हो। समाजमा रहेको कुनै एक धनी मानिसले सारा गाउँलाई आफ्नो इसारामा चलाई त्यस गाउँको नायक आफूलाई उभ्याई पल्लो गाउँको नायकसँग जोरी खेलिरहेको हुन्थ्यो र अरूले आफ्नो नायकको पक्षमा बिपत्तामा पल्लो गाउँको नायकका पक्षधरहरूसँग जुधिरहनुपर्थ्यो। समाजको यो परम्परा नै साहित्यमा पनि आउँदा एकल नायकत्वको परम्परा विकसित भएको हो, तर अब लेखन यस खाडलबाट पाखा आइरहेको छ। हाम्रो साहित्यको नयाँ युगचेतना र उत्तरआधुनिकताले प्रवेश गरिरहेको बेला छ। मुक्त लेखनको यस अभियानमा अब हामी बहुनायकत्वको लीलाचेत लिएर लेखन गरिरहेछौँ लीलालेखन।
एमिली डिकिन्सन र पारिजातको साहित्यमा अमूर्तता मेरो जीवन समाप्त हुनुअघि मेरो जीवन दुईपल्ट समाप्त भयो। यो भनाइ लेख्ने एमिली डिकिन्सनले प्रतिपादित गरेको मानवीय सम्बन्ध र त्यसको मूर्त स्वरूपलाई कसरी वर्तमान मूल्य र मान्यतामा स्वीकार्नुपर्छ भन्ने मूल आधार विश्वसाहित्यमा सोचिएको छ। विश्वप्रसिद्ध साहित्यकारहरू सेल्मा लागप्लोफ, ग्रेजिया देलेछा, पर्ल एस बक, सिग्रिड उढ्डस सेट, ग्राबिला मिस्त्राल, नेली साक्स, नादिन गार्डिनर, टोनी मासिनका साथै नेपालकी प्रसिद्ध साहित्यकार पारिजातका साहित्यमा पाइने अमूर्तताको सरसरती मूल्याङ्कन गर्दा जीवन र साहित्यको प्रतिबिम्बित रूप भनेको शृङ्गारिक कला र त्यसको प्रत्यक्ष सम्बन्ध जीवन हो भन्ने कुरा प्रस्ट हुन्छ। हुन त अमेरिकी प्रसिद्ध साहित्यकार एमिली डिकिन्सनको कविता र साहित्यमा वर्तमान विसङ्गति, प्रेमको पूर्ण स्वरूपतालाई सरसरती उतारेको पाइन्छ। पारिजातका साहित्यमा पाइने स्वच्छन्दतावाद, प्रयोगवाद र यथार्थवादलाई प्रतिस्पर्धात्मक अभिव्यक्ति र नवीन शिल्पशैलीका माध्यमबाट जसरी सिरिसको फूलले एउटा मूर्तता खडा गरेको छ नेपाली साहित्यमा त्यसरी नै एमिली डिकिन्सनले पनि अङ्ग्रेजी साहित्यको धारमा नयाँ प्रयोगवादी मूर्तरूप दिएकी छिन्। डिकिन्सन र पारिजातका साहित्यहरूमा पाइने एक साझा अभिव्यक्तिको कुरालाई सम्झँदा मृत्यु, प्रेम र मानवीय सम्बन्धको आधारमा जीवन भोग्नु हो भन्ने कुरा स्पष्ट हुन जान्छ। हुन त दुवै लेखिकाहरूका आ-आफ्नै भिन्नाभिन्नै शैली र लेखनको कुरा गर्दा दुवैजनाले आफ्नो लेखनमा परम्परा, चेतना र अनुभूतिलाई कलात्मक ढङ्गले लेख्तै लेखनको विशिष्टता र संरचनापद्धति, मौलिक भेदको व्यख्या शब्दचयनमा उत्कृष्टताजस्ता कुराहरूलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको पाइन्छ। हुन त केही समालोचकहरूले के पनि निर्क्यौल निकालेका छन् भने डिकिन्सनका साहित्यिक कृतिहरूमा पाइने विषयवस्तु र शैलीको प्रयोगबाट विश्वसाहित्यमा नयाँ आयाम थपिएको छ। समग्रमा मानवजातिको प्रेमलाई आफ्नो जीवनसँग र जीवनका सुखी क्षणहरूसँग कसरी एउटै आधारबाट स्वीकार्न सकिन्छ भन्ने साहित्यको एक धारमा असीको दशकपछि विश्वसाहित्यले नयाँ प्रतीकात्मक आयाम थपेको छ। सन् १८३० डिसेम्बर १० तारिखका दिन मासाचुसेट्स राज्यको अन्यएर्ट गाउँमा जन्मिएकी एमिली डिकिन्सन अमेरिकी कविहरूमध्ये प्रख्यात कवयित्री रूपमा मानिन्छिन्। नेपालकी प्रसिद्ध लेखिका पारिजात जसरी नेपाली साहित्यिक इतिहासमा नबिर्सिने नाम हो, डिकिन्सन पनि अङ्ग्रजी साहित्यमा बाँचिरहने नाम हो। सरसरती भन्नुपर्दा यथार्थवादी लेखिकाहरू एमिली डिकिन्सन र नेपाली साहित्यकार पारिजातको लेखनलाई कोमल भाषाशैली, छन्द, अलङ्कार र सहज शब्द मिलाएर उजिल्याउने परिष्कारवादी धारमा उभिएर पनि विश्लेषण गर्नुपर्ने हुन्छ। हुन त यहाँ हामी फ्रान्सिस रेको रोमान्टिक उपन्यास ‘‘हर्ट अफ द फाल्कोन’’ले देखाएको स्वन्छन्दतावादी दृष्टिकोण र त्यसको संरचनात्मक पद्धतिलाई हेरेर पारिजात र एमिली डिकिन्सनको साहित्यमा पनि त्यो प्रेमलाई खोज्ने प्रयास गर्न सक्छौँ। या अर्कोतर्फ अमेरिकी लेखिका सिली हेल्सटकको नयाँ यौनवादी उपन्यास ‘‘मिरर इमेज’’ भित्रको यौनविश्लेषणात्मक प्रेमको स्वरूपतालाई पनि यी दुवै लेखिकाहरूमा देख्न सकिन्छ। यहाँ बीपी कोइरालाको सुम्निमा र त्यसले प्रतिपादित गरेको यौनविश्लेषणको पनि व्याख्या गर्नुपर्ने हुन्छ। हुन त अर्की अमेरिकी लेखिका भी.सी. एन्डियुजको उपन्यास ‘‘गेट्स अफ प्याराडाइज’’ले देखाएको अन्तरवस्तु र आफैँमा सीमित भएर प्रेम गर भन्ने उनको भनाइ र लेखाइको प्रतिबिम्बित रूप पनि पारिजात र एमिली डिकिन्सनमा पाइन्छ भन्दा फरक नपर्ला। हुन त एमिली डिकिन्सन जीवनप्रेम र कलालाई जीवनसँग प्रतिस्थापित गर्दै जीवनको मूलधारमा पुग्न सफल भएकी थिइन् जुन अङ्ग्रेजी साहित्यको एक विशेषता हो भन्ने कुरालाई समालोचकहरूले स्वीकारेका छन्। हुन त डिकिन्सनले सौन्दर्यपरक र भावपरक साहित्यका बारेमा एउटा मान्यता के पनि स्थापित गरेकी थिइन् भने मनोवैज्ञानिकता र मनोविश्लेषणात्मकतालाई आफ्ना कविताका माध्यमबाट कसरी प्रतिबिम्बित गर्न सकिन्छ भन्ने हो। यहाँनिर पाठकहरूले सोच्न सक्ने एक साहित्यिक धार - जुन पारिजातको सिरिसको फूलले देखाएको छ-मा स्वच्छन्दतावाद र कलात्मक शिल्पमा मानवपरकतालाई बुझ्नुपर्छ। सिरिसको फूलले देखाएको मानवता र मानवीय सम्बन्धको एक महत्त्वपूर्ण धार पनि यथार्थवादसँग मिल्न गएको छ। हुन त सिरिसको फूलको प्रेम एटलान्टिकका लेखक थोमस वेन्टवर्थ हिगिनसनको जस्तो प्रेम थियो भन्दा फरक पर्दैन। प्रेम अमर हुन्छ र प्रेम मुटुबाट सुरु भएर मनमस्तिष्क र आत्मासम्म पुगी त्यो मानवतावादमा परिणत हुन्छ भन्ने कुरालाई सिरिसको फूलले देखाएर मानवतावादको वकालत गरेको छ। मनोविज्ञान, भावुकता र आदर्शलाई आफ्नो मुख्य विषयवस्तु बनाएर लेख्ने विश्वप्रसिद्ध लेखिकाहरूमा ग्राबिला मिस्त्राल, नेली साक्स या सेल्मा लागप्लोफको लेखनको विस्तृत चित्रण पनि डिकिन्सनमा र पारिजातमा पाइने विशेषता हो। यसर्थ पूर्वीय काव्यधारामा आएको परिवर्तन होस् या पश्चिमी स्वच्छन्दतावादी शैलीमा लेखिएको परिवर्तनलाई आत्मसात् गर्दै जसरी वर्ड्सवर्थ, सेली र किट्सले मानवपरक अभिव्यक्तिलाई प्रेमको उचाइमाथि प्रतिस्थापित गर्दै यथार्थवादको वकालत गरेका थिए, तिनलाई एमिली डिकिन्सनले पनि पछ्याएकी थिइन्। हुन त पारिजातले पछिल्ला दशकमा आएर मैले नजन्माएको छोरो लगायतका आफ्ना कथाहरूमार्फत भारतीय लेखिका अमृता प्रीतमले देखाएकै जस्तो आत्मपरकतालाई सरसर्ती आत्मपरक अवस्थामा उभिएर पनि उतारेकी थिइन्। डि एच लरेन्सले सौन्दर्यलाई, किट्सले प्रेमलाई र लर्ड टेनिसनले प्राप्तिलाई जीवनसँग हेरेर साहित्यको र जीवनको मनोविश्लेषणात्मक खाका तयार गरेका थिए। हुन त पारिजातको मैले नजन्माएको छोराले अमेरिकी नारीवादी लेखिका एडियानीको पनि सम्झना गराउँछ। भाषा प्रेमपत्रको भाषा आत्महत्या सूचनाको लाग्छ त्यो ठाउँ नआए पनि आज त्यही परिचित सन्नाटा हामीसँग छ भन्ने एडियानीको कविताजस्तै नै ‘मैले नजन्माएको छोरो’ या ‘सिरिसको फूल’ले वकालत गरेको छ। अर्की अमेरिकी साहित्यकार डेनिस लिभटोमेको कविता विवाहविच्छेदमा उनले लेखेकी छन् तैपनि हामी प्रेम गर्थ्यौँ तर थाहा छैन आज छुट्टिएपछि यसरी पनि बाँच्न सकिन्छ कि सकिँदैन। यो कविताले प्रेमको विद्रोह गरेको थियो र यो कवितामा जुन कुण्ठा र विद्रोह पारिजात, डिकिन्सन र शङ्कर लामिछानेमा पनि थियो। एमिली डिकिन्सनले मानव-जीवनका दुईवटा पक्ष हुन्छन् भन्दै तिनको व्याख्या गरेकी छिन्। ती पक्षले उनको कलात्मक शिल्पको संयोजन र भावमय भोगाइसँगको जीवनको विश्लेषण पनि गरेको देखिन्छ। यहाँ हामी बर्ट्रयान्ड रसेलको निबन्ध ‘‘जेनरल इफेक्ट्स अफ साइन्टिफिक टेक्निक’’लाई सम्झन सक्छौँ। जीवनका जस्तै स्वतन्त्रताका पनि यस्ता रूपहरू छन् जुन वाञ्छनीय छन् र जुन गम्भीरतापूर्वक सङ्कटमा परेका छन् र यी रूपहरूले मानवतावादको वकालत गर्छन् भन्ने कुरा देखाएको सो निबन्धले पनि एमिली डिकिन्सन र पारिजातको साहित्यलाई समेत वकालत गरेको देखिन्छ। हुन त सो मानवीय सम्बन्ध भनेको एमिली डिकिन्सनले देखाएको जीवनप्रतिको दृष्टिकोण पनि हो र पारिजातको पनि हो। यद्यपि रेक्स वार्नर, अज्ञात, विट्स, वर्ड्सवर्थ, टिक फेरेरा सबैको अन्तिम भनाइ नै यही थियो। मानवतावादमा उभिएर लेख, कुण्ठा लेख र सो कुण्ठामा जीवनका विविधता लेख। हुन त हेनरी मुर र मापकस अर्नेस्टको परिभाषाजस्तै हामीले विकृति र कुण्ठाविरुद्ध लड्न लेख्नैपर्छ भन्ने भनाइलाई पनि त्यति नै महत्त्वकासाथ हेर्नुपर्ने देखिन्छ। हुन त एमिली डिकिन्सनका कविताहरूले महिलाहरूको आर्थिक समानताका लागि आवाज उठाएका छन्। हुन त ‘‘द सेकेन्ड सेक्स’’ले पनि कैयौँ पुरुष लेखकहरूलाई पछारेर एक नारीवादी आत्मपरकता र मानवतालाई परिष्कृत ढङ्गले अगाडि सारेको थियो जसलाई सरसरती मूल्याङ्कन गर्दा हामीले भन्नैपर्छ मानवतावाद, भावनात्मकता र सौन्दर्यपरकता नै सर्वोच्च मानवताको व्याख्या हो। सो व्याख्या पारिजातको कलमले पनि देखाएको छ, सो व्याख्या डिकिन्सनका कविताहरूले पनि देखाएका छन्।
- भूषण ढुङ्गेल 1 तिम्रो अनुपम सौन्दर्यलाई फर्कीफर्की हेर्न कर लाग्छ तर, उत्ताउलो भन्छ्यौ कि भन्ने कताकता डर लाग्छ । यो मनजस्तै त्यो मन पनि भैदिए हुन्थ्यो तै पनि मनको धोको पुग्छ कि भन्ने अलिकति भर लाग्छ । 2 यौवनको अति भारले कम्मर मर्किएझैँ लाग्छ चाकर नपाएर सुन्दरता तिमीसितै झर्किएझैँ लाग्छ । कताकता के चर्किएझैँ लाग्छ,के के थर्किएझैँ लाग्छ तिम्रो अपूर्व रूप देख्दा धरतीमा उर्वशी नै फर्किएझैँ लाग्छ ।
-शर्मिला दाहाल( खड्का) उनले आफ्नी आमा पालेकी थिइन्। चार भाइ छोरा कसैसँग अटाउन सकेकी थिइनन् उनकी आमा। कुनै समय उनकी आमाको विचार यसरी सार्वजनिक भएको थियो -‘मैले किन अंश भाग लिनु र? सबै छोराहरूले बाँडून्। म एउटी आमालाई कुनै न कुनै छोराले एक छाक खान र लाउन त देलान् नि! उनकी आमाको इच्छाअनुसार चारै भाइले अंश भाग लिएका थिए। साइँलो छोरो अलिक पढेको र ढिलो बिहे गरेको हुनाले बूढीआमैले साँइलो छोरासँग बस्ने निधो गरेकी थिइन्। साइँला छोरालाई उसको शिक्षाले डो-यायो जागिरतिर र पु-यायो सहरमा। उसले जागिरे केटी नै बनाएथ्यो जीवनसँगिनी। बूढी आमै पनि छोरालाई पछ्याउँदै पुगेकी थिइन् सहरमा। तर सहरको वातावरणले उनको गाउँले परिवेशलाई रमाउन दिएन। छोराबुहारी जागिरमा गइहाल्ने अनि दिनभर समय काट्ने साधनको अभाव हुन्थ्यो उनलाई। उनको सुखदुःख उनी आफैँसँग पौँठेजोरी खेल्थे। छोरासँग बसेर बुहारीको घरधन्दामा हैकम चलाएर बस्ने बूढी आमैको चाहना मनको लड्डु भयो। छोराबुहारीको सीमित आय अनि समयको पाबन्दीमा बूढी आमैका धेरै इच्छाहरू खुम्चिए। बूढी आमैसँगै उनका छोरीहरू र नातिनातिनाहरूको आवतजावतले छोराबुहारीको व्ययभार अझ बढ्न गयो। आफूहरूले मात्रै बूढी आमैको सम्पूर्ण खर्च बेहोर्नुपर्दा उनीहरू कुँढिन थाले। कहिलेकाहीँ असन्तुष्ट भाव पोखिन्थे बूढीका पोल्टामा। बूढीआमैको मनको मानो पनि छोराबुहारीको स्याहारबाट कहिले भरिन सकेन। अरू छोराबुहारीहरूले आमाको चाहनासँग साक्षात्कार हुनै चाहेनन्। फ्याँकेको थोत्रो वस्तुसरह व्यवहार गरे। केही समयपछि आमा ओछ्यान परिन्। अनि उनले जागिरे भाइबुहारीको समस्या बुझेर घरैमा ल्याएर, आमा पालेर, आमाको सत्गत गरेकी थिइन्। उनलाई लागेथ्यो आमाले आफ्नो साथमा सम्पत्ति नराखेको हुनाले सबै छोराबुहारीबाट तिरस्कृत हुनुपरेको भनेर। त्यसैले उनले विचार गरेकी थिइन् आफूले मर्ने बेलासम्म आफ्नो सम्पत्ति कसैलाई नदिने। त्यसैले उनले छोराहरूलाई अंशभाग गर्दा आफ्नो भागमा पनि सम्पत्ति राखेकी थिइन् । अहिलेका छोराबुहारीले पाल्छन् भन्ने भरोसा उनलाई थिएन। समयको पाना पल्टँदै गयो। उनकी आमाले जस्तो गल्ती गरेको छैनँ भनेर जीवनका पानाहरू सुनौलो अक्षरले भर्ने उनको चाहना थियो। ‘म ताक्छु मूढो बन्चरो ताक्छ घुँडो’ भनेझैँ उनको उचित मार्गदर्शन पाएर जीवनमा सफलता नै सफलता पाउँदै गएका उनका छोराहरूले सम्पत्तिलाई महत्त्व दिएनन्। उनीसँग सम्पत्ति त थियो तर छोराहरू धेरै टाढा भइसकेका थिए। ‘आमासँग सम्पत्ति छँदैछ नि, मान्छे राखेर काम लाउँदा भइहाल्छ नि। हामी बेफुर्सदी हुन्छौँ।’ छोराबुहारीहरूको यस्ता अभिव्यक्तिबाट मर्माहत हुन्थिन् अनि खोज्थिन् आफ्नोपन। आधुनिक परिवेशको प्रतिस्पर्धामा छोराबुहारीहरूको जीवनचर्याले आमाप्रतिको दायित्व र कर्तव्यलाई सुलुत्त निलिदिएको थियो। अनि पिल्सिएको थियो उनको बुढ्यौली। उनले उमेरभरि आफ्ना दुई छोराहरूका लागि गरेका त्याग र बलिदान समयको हुरीले धेरै टाढा पु-याइसकेको थियो। जीवनले थकाइको सुस्केरासँगै धेरै अनुभुतिसँग लुकामारी खेलिसकेको थियो। उनले बुझिन् समयको धारले जीवनको महत्त्वपूर्ण सम्पत्तिलाई उजिल्याउँदो रहेछ अनि सबैले त्यसलाई आत्मसात् गर्नुपर्दो रहेछ।
-टीका सुवेदी दृश्य एक सहरको अफिस जाने समय। व्यस्त सडकमा एउटा दुर्घटना हुन्छ। मोटरसाइकल-चालक एउटा युवक र ठक्कर लागेकी एउटी युवती दुवै अत्यन्त नराम्रोसँग घाइते हुन्छन्। हल्लाखल्ला मच्चिन्छ, भीड जम्मा हुन्छ। पुलिसहरू आउँछन्, घटनाको जायजा लिन्छन् र दुवै घाइतेहरूलाई नजिकैको ‘नर्सिङ होम’ मा भर्ना गराईदिन्छन्। संयोग, दुवै एउटै वार्डको एउटै कोठामा भर्ना हुन पुग्छन्। दृश्य दुई नर्सिङ होमको कम्पाउन्डमा दुइटा ट्याक्सी रोकिन्छन्। एउटाबाट एक युवक र अर्कोबाट एउटी युवती ओर्लन्छन्। उनीहरूका आँखा एकै छिनलाई चार हुन्छन्। तर तुरुन्तै दुवै हतारहतार गर्दै नर्सिङ होमभित्र प्रवेश गर्छन्। दृश्य तीन सोधखोज गर्दै दुवै अन्त्यमा एउटै अर्थो वार्डमा पुग्छन्। फेरि एक क्षणलाई उनीहरू दुवैका आँखा जुध्छन्। तर तुरुन्तै उनीहरू आ-आफ्ना घाइते सुतेका बेडतर्फ लाग्छन् र उनीहरूका बारेमा जानकारी लिन थाल्दछन्। घाइते युवकको टाउकामा गम्भीर चोट लागेको र एउटा हात भाँचिएको रहेछ भने घाइते युवतीका दुवै खुट्टा भाँच्चिएका रहेछन्। भर्खर आएका युवकयुवतीका आँखा पुनः एकपटक जुध्छन्। तर अहिले परिस्थिति पहिलेको जस्तो सहज छैन। अत्यन्त तनावपूर्ण वातावरणमा दुवै एकअर्कालाई झम्टन तयारजस्ता देखिन्छन् । दृश्य चार वार्डमा डाक्टरको प्रवेश हुन्छ, युवक अगाडि सरेर भन्छः ‘डाक्टर, मेरी श्रीमती...............।’ उसको बोली पूरा हुन नपाउँदै युवती रिसाएको स्वरमा युवती भन्छेः ‘एक्स्क्युज मी डाक्टर, मेरो श्रीमान्-को कुनै ..............।’ ‘ओहो, तपाईँहरूको यो के चाला हो ? हेर्नुस् दुर्घटना नहुनुपर्ने थियो तर भइसक्यो। अब त्यसका बारेमा बहस गरेर केही फाइदा छैन। घाइतेहरूको स्थिति निक्कै चिन्ताजनक छ, बरु तपाईँहरू दुवै वहाँहरूको उपचारमा एकजुट भएर लाग्नुहोस्।’ डाक्टरको यस्तो भनाइले उनीहरूमा घाइतेहरूको गम्भीरताका बारेमा बोध हुन्छ क्यार, दुवैले सहमतिमा टाउको हल्लाउँछन्। वातावरण निक्कै सहज बन्छ, दुवै दत्तचित्तले आ-आफ्ना घाइतेको सेवामा जुट्छन्। अन्तरदृश्य घाइतेहरूको अवस्थामा क्रमिकरूपमा सुधार आउन थाल्यो। एउटै वार्डमा भएका कारण दुवै युवक-युवती एकअर्काको सहयोगी हुन थाले। बिस्तारै दुवैमा राम्रैसँग बोलचाल र हाँसखेल हुन थाल्यो। अलगअलग ट्याक्सीमा आवतजावत गर्ने उनीहरू बिस्तारै एउटैमा आउन-जान थाले। उपसंहार दिनहरू बित्दै गए। घाइतेहरू निक्कै हदसम्म ठीक भए। दुवै युवकयुवती अलि ढिलो आउने र अलि चाँडो जाने गर्न थाले। बिस्तारै यो क्रम बढ्दै गयो र अन्त्यमा उनीहरू आउन नै छाडे। केही दिनपछि घाइतेहरू ‘डिस्चार्ज’ भएर आ-आफ्ना घर गए। दुवैका घरमा ताला लागेको थियो.....।
(लघुकथा) -आर.सी. रिजाल
|
माथि
|