Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 कारणहरू नै मौन छन् किन चेतन ?

                            -- साम्ब ढकाल 

 

 

 

चेतन ! देखेनौ

कारणहरू नै मौन छन्

 

विगलित मनको पाखा गर्ल्याम्म ढलेपछि

रहनु के

उही बँचेखुचेका संवेदनाका केही घायल शब्दहरूको ताँती

दुखिरहने /दुखाइरहने कविताका प्रायशः शब्दांश

नसोध चेतन फेरि

कारणहरू नै मौन छन्

 

काँधमा काँध राखेर सुकसुकाउनु कि भक्कानिनु

पीडाका नीलडाम देखाउनु एकार्कालाई घरिघरि

अल्मलिएर निर्विचारको द्वन्द्वमा कतिन्जेल घोरिइरहने

चेतन भन्न सक्छौ ? यी सबै किन एकैचोटि हुन्छन्

कारणहरू अझै मौन छन्

 

कतिखेर कहाँ के हुन्छ अर्धाङ्गिनी सजग गराउँछिन् घरबाट निस्कँदा

आशङ्काको पोकापुन्तुरा बोकिहिँड्छु बाटोभरि बन्दै अन्यमनस्क

समाज मलाई किन निर्धक्क हिँडाउँदैन

क्रूर शासक निदाइसकेपछि पनि उसको घुराइले

मलाई झसङ्गझसङ्ग बनाउँछ

चेतन भन्न सक्छौ अझै किन कारणहरू मौन छन्

 

आशाका भन्ज्याङसम्म पुग्नलाई हिँडिरहेछु अझै

नियास्रा उदास बूढा बाको अनुहारमा हाँसोको एक थुँगा फूल फुलाउने रहर

सघाउँछौ चेतन !

बुहारीका आँखाभरि भुमरी उठेको आँसुको मूललाई भुइँमा खस्न दिन मनै छैन

सघाउँछौ चेतन !

हाम्रा सपनाको भ्रूणहत्या गर्ने त्यो अराजक खलनायकलाई घोक्र्याउने मन

सघाउँछौ चेतन !

 

सम्हाल चेतन सम्हाल

बहकिएँ

मलाई आजकल केही सोच्न थाल्दा यस्तै हुन्छ

किन के कारणले यस्तो हुन्छ

भन्न सक्छौ चेतन ? 

 

  राजनीतिशास्त्रमा एम.ए. गर्नुभएका श्री साम्ब ढकाल, विक्रम सम्बत २०२४ मङ्सिर ५ गते काठमाडौँमा जन्मनुभएको हो। हाल रचनाकुटी, सानोपोखरा, हेटौँडामा बसेर कविता र कथा सिर्जनामा रमाउने उहाँको एउटा कविता सङ्ग्रह 'मान्छेहरू अजङ्गको यात्रामा' प्रकाशित छ। अस्तित्व साहित्यिक परिवार, रौतहट र मकवान प्रतिभा पुरस्कारबाट सम्मानित उहाँ साहित्य सङ्गम मकवानपुर र मातृभूमि साहित्य समाजसँग आबद्ध हुनुहुन्छ। सम्पर्कः samba_rd@ntc.net.np