|
|
|
|
|
|
वाचा --श्रीधर शर्मा बिहे हुनुभन्दा अघिदेखि नै पत्नीको एउटा केटोसँग प्रेम थियो। त्यो प्रेमी बिहेपछि पनि पत्नीसँग भेट्न प्राय आइरहन्थ्यो। जब पति अफिसतर्फ जान घरबाट निस्किन्थ्यो तब त्यो प्रेमी घरभित्र प्रवेश गर्थ्यो। पति हँसमुख र स्पष्टवादी व्यक्ति थियो। ऊ आफ्नी पत्नीलाई असाध्यै माया गर्थ्यो। कहिले पनि उसप्रति अविश्वास गर्दैनथ्यो। दुवैले कहिले पनि झुटो नबोल्ने वाचा गरेका थिए। एकदिन कारणवश पति अचानक घर आइपुग्छ। त्यसबेला पत्नी आफ्नो प्रेमीसँग शयनकक्षमा व्यस्त थिई। पतिले ढोकाको घण्टी बजायो। पत्नी हडबडाएर उठी, प्रेमीलाई हतारहतार घरको पछिल्तिर ढोकाबाट बाहिर खेदाई र आफ्ना लुगा सम्हाल्दै उसले ढोका खोली। पतिले सोच्यो- 'पत्नी सुतेर उठेकी होली। यसैले कपडा अस्तव्यस्त भएको होला र निद्रा पनि बिथोलिएर मलिन अनुहार बनाइ रहेकी होली।' हँसिलो बनी पतिले पत्नीलाई जिस्क्यायो- 'मलाई लाग्छ तिमी कसैसँग कुस्ती खेलेर आएकी हौ ?' पतिको कुरा सुनेर पत्नी अलि डराई र संयमित हुँदै भनी- 'जोसँग कुस्ती खेल्ने हो ऊ त भर्खर अफिसबाट आउँदै छ।' अर्को कुनै पुरुष हुन सक्दैन र ?' भनेर पतिले गालामा म्वाईँ खायो। 'अर्को कोही ?' पत्नीले पनि जबाफमा पतिलाई चुम्बन गर्दै भनी- 'कुनै परपुरुषलाई आजसम्म मैले सीधा आँखाले हेरेको पनि छैन। तपाईँलाई मप्रति विश्वास छैन ? हामीले झुठो नबोल्ने वाचा गरेका होइनौँ ?' ऊ आफ्नो प्रेमीलाई सीधा आँखाले हैन, कर्के नजरले हेर्थी। त्यसैले ऊ यस कुरामा ढुक्क थिई कि उसले आफ्नो पतिसँग झुटो कुरा गरेकै छैन..........। ||| साहित्यसञ्चार समूह, इटहरी, सुनसरी
|