Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


"पासपोर्टका रङहरू"

को विमोचन

 

             गत चैत २४ गते शनिवार जेसिज भवन इटहरीमा कुमुद अधिकारीद्वारा  सङ्कलित, सम्पादित र अनूदित श्री तेजेन्द्र शर्माका १२ वटा कथाहरूको सङ्ग्रह ‘पासपोर्टका रङहरू‘को विमोचन कार्यक्रम साहित्यसञ्चार समूह इटहरीले आयोजना गर्‍यो। उक्त कृतिको विमोचन वरिष्ट कवि श्री कृष्णभूषण बलले गर्नुभएको थियो।

             कृतिमाथि समीक्षा गर्नेहरूमा श्री कृष्ण धरावासी, श्री भूषण ढुङ्गेल र श्री ज्योति जङ्गल हुनुहुन्थ्यो।

श्री धरावासीका अनुसारः

१.      तेजेन्द्र शर्माका कथाहरू अत्यन्त शक्तिशाली र समसामयिक छन्। ती कथाहरू पढ्दा यस्तो लाग्छ मानौँ  हामी आफैँ ती घटनाका पात्रहरू हौँ र जे भोगिरहेका छौँ त्यो नै सत्य हो। उहाँका कथाका अर्को विशेषता के हो भने उहाँले जे भोग्नुभयो त्यो लेख्‍नुभएको छ। उहाँ बेलायतमा बसेर नोस्टाल्जियाको सिकार हुनुहुन्न र खाली भारतीय सम्झनाका कथाहरूमात्र लेख्‍नुभएको छैन।

२.      उहाँका कथाका विषयहरू पश्चिमी परिवेशमा नयाँजस्ता लागे पनि पूर्वीय मान्यतामा ती पहिलेदेखि नै थिए। जस्तै ‘कोखको भाडा‘को जस्तो पारिश्रमिक लिएर बच्चा जन्माउने कुरा मदनमणि दीक्षितको ‘माधवी‘मा उल्लेख भइसकेको छ।

३.      ‘पासपोर्टका रङहरू‘ का कथाहरू पढ्दा यस्तो लाग्छ मानौँ ती अनुवाद नभएर नेपालीमै लेखिएका हुन्। यहाँ अनुवादकले आफ्नो शिल्प देखाउनुभएको छ। यति ती कथाहरूमा मानिस र स्थानका नामहरू नेपाली राखिदिने हो भने कसैले ती कथाहरूलाई अनूदित कथाहरू भनेर भन्न सक्तैनन्।

४.      कथाहरूमा धेरै ठाउँमा नेपालीमा पूर्ण अनुवाद हुनसक्ने ठाउँमा पनि हिन्दी शब्दहरू प्रशस्तै भेटिएका छन्। अनुवादकले अनूदित कृतिजस्तो  पार्न हुनसक्छ यसो गरेको। तर ती शब्दहरू पनि नेपालीमा रूपान्तर गरिएका भए अझ राम्रो हुनेथियो। कुनै पनि कृति आफैँमा शतप्रतिशत पूर्ण हुँदैन।

 

श्री भूषण ढुङ्गेलका अनुसार

१.      तेजेन्द्र शर्माका कथाहरूमा प्रवासी भारतीयहरूको जीवन जस्ताको तस्तै देख्‍न पाइन्छ। ‘पासपोर्टका रङहरू‘ कथामा भारतीयले भारतीयता गुमाउनुपरेको यथार्थ छ।

२.      मानवीय सम्बन्धका तानाबानाहरू सबै कथाहरू छन्। मानिसमानिसबीचको सम्बन्धमा आफ्नो परिचय खोज्दै गरेका पात्रहरू देख्दा लाग्छ हामी पनि कतै यी सब कुराका लागि जिम्मेवार त छैनौँ ?

३.      कुमुद अधिकारीले यी कथाहरूको शक्तिशाली अनुवाद गरेर नेपाली साहित्यलाई ठूलो गुन लगाउनुभएको छ। यसले नेपाली र हिन्दी साहित्य जोड्ने सेतुको काम गरेको छ।

 

श्री ज्योति जङ्गलका अनुसारः

१.      तेजेन्द्रका कथाहरू पढ्दा म साह्रै विचलित भएकी छु। म नारी हुँ तर मैले श्री तेजेन्द्र शर्मा जत्तिको नारीको पीडा र भावनाहरूलाई बुझेकै रहेनछु। उहाँका कथाहरू पढेर यस्तो लाग्यो, मानौँ ती सबै कथाहरूकी नारीपात्र मै हुँ र ती सबै मेरै भोगाइहरू हुन्। नारीका यस्ता भावना र पीडालाई लेखिदिनुभएकोमा श्री तेजेन्द्र शर्मालाई मुरीमुरी धन्यवाद।

२.      कुमुद अधिकारीको सायद यो दोस्रो अनूदित कृति हो, उहाँको पहिलो कृति ‘जिन्दगी एक फोटो-फ्रेम‘ अत्यन्तै सफल कथाहरूको सङ्ग्रह थियो। यसमा पनि श्री अधिकारीले त्यही उत्साह र जाँगर देखाउनुभएको छ।

 

           कार्यक्रमका प्रमुख अतिथि श्री कृष्णभूषण बलले आफ्ना भनाइ राख्दा, अनुवादकको प्रयासको प्रशंसा गर्दै, प्रत्येक पाँचवटा कथा अनुवाद गरेपछि एउटा मौलिक कथा लेख्‍नुपर्ने सुझाव दिनुभएको थियो । साथै उहाँले श्री तेजेन्द्र शर्मालाई यति राम्रा कथाहरू नेपालीमा अनुवाद गर्न अनुमति दिएर नेपाली पाठकहरूलाई ठूलो गुन लगाउनुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो।

 

            कार्यक्रमको अन्त्यमा सभापति श्री मनु मन्जिले आफ्नो मन्तव्य दिँदै सभाविसर्जन भएको घोषणा गर्नुभयो। उहाँले समापन मन्तव्यमा अनुवादकको प्रयासको सराहना गर्नुभएको थियो र अनुवादजस्तो कठिन कार्यमा हात हालेर सफलता हासिल गरेकामा बधाई पनि दिनुभएको थियो। उहाँले त्यसै अवसरमा अनुवादकको सिर्जनात्मक लेखनी कतै आज ओझेल परेको त हैन ? भन्ने शङ्का पनि व्यक्त गर्नु भएको थियो।

           कार्यक्रममा साहित्यकारहरू विवश पोखरेल, रश्मिशेखर, कृष्ण बराल, जी.बी.लुगुन, तेराख, डम्बर घिमिरे, ठमनाथ लम्साल, श्रीधर शर्मा, शर्मिला खड्का, रीता ताम्राकार, टीका सुवेदी, समुन्द्रा शर्मा, सुजात, रीता खत्री, दीपा अविरल, रवि वाग्ले, वैदिक अत्रि, सुरेन्द्र पराजुली, कृष्णविनोद लम्साल, चूड़ावसन्त लम्साल, जीवनाथ नेपाल, टीका आत्रेय, टोलनाथ काफ्ले, रुद्र उप्रेती, भोगेन्द्र कट्टेल, नरेश खड्का र प्राध्यापकहरू डा. टङ्क नेउपाने, डा. गोपाल भण्डारी लगायत पूर्वाञ्चलका करिब २५० सक्रिय लेखकहरूको गरिमामय उपस्थिति थियो।

            कार्यक्रमको सञ्चालन कवि तथा सप्तकोसी एफ.एम.का साहित्यिक कार्यक्रमसञ्चालक श्री एकू घिमिरेले गर्नुभएको थियो।