Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

सङ्केत

                                         --नारायण तिवारी

मानिसहरू पुरिएका छन्

र मेरो मुटु यस बेला कामिरहेको छ।

 

मानिसहरूलाई गिद्ध र स्यालले लुछ्दै छन्

म सुनिरहेको छु

रेडियो खुल्ला छ-

राहतका कार्यहरूमा कुनै कमी आएको छैन

 

मदर टेरेसा आफ्ना दयाका हातहरू रित्तै लिएर

फर्किन् !

सुनेँ यो पनि,

उनको कमलो हृदयको राहत चाहिँदैन रे !

 

मानिसहरू गन्हाइरहेका छन्-

'प्रकोप'को गन्ध पनि सायद

मीठै मान्नुपर्ने होला !

जस्तो कि शनैः शनैः हजम हुने

स्वदेशी -विदेशी चन्दाको स्वाद !!

र यस्तो नोटको बिटोखाले राहत

चाहिन्छ !

 

सूचना-प्रसारण जारी छ-

सहयोगी मुटुले

घाइतेको मुटु छाम्‍न पाइन्न

माध्यममार्फत आउनुहोस्

र त्यो माध्यम 'भोज' खाइरहेछ।

 

एउटा तस्बिर छ-

फाटेको वस्त्र

खुम्चिएको निधार

र फैलिएको हात

जसलाई भनिँदै छ,

तिमी पीडित हुनुको खोइ प्रमाण ?

 

यस्तैमा मर्दछन् सायद कर्णप्रसादहरू,

के दोष !

मरिचमानहरू सूर्यप्रसादजीको घर खोज्दै

हिँड्‍दछन् भने .........

 

विजयपुरका थिचिएका मानिसहरूले

उल्टै उद्धारकोषमा चन्दा दिएको खबरले भन्दा

खबरभित्र निहित पीडाले मेरो मुटु

अझ कामिरहेको छ

कतै अर्को भूकम्पको सङ्केत नै त हैन यो.......... ?

डर भोगिरहेछु-

सशङ्कित,

कति मानिसहरू पुनः पुरिने हुन्

निर्माणकै लागि किन नहोस् तर

कति त घरहरू भत्किने हुन्....... !

 

                             विराटनगर

                            (अर्थात्‌बाट)