Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

एक मिनेटको कथा

भोक

--पीताम्बर गुरुङ

धने चिया पसलमा जुठा गिलासहरू पखाल्दै थियो, एक हूल महिलाहरू आएर पसलको मालिकलाई हकार्न थाल्छन् र धनेलाई - 'उठ ! उठ !  भन्दै हातमा समातेर लान्छन्। धनेले केही बुझ्न सकेन। चुप लागी उनीहरूको पछि लाग्छ। अलिक पर एउटा घर रहेछ। त्यसभित्र धेरै केटाकेटीहरू बसिरहेका थिए। धनेलाई पनि बस्‍न लगाए। ठूलो पेट भएको एकजना मानिस उभिएर बोल्न थाल्छन्- ' चौध वर्षसम्मका सबै केटाकेटीहरू स्कुल जान अनिवार्य छ। यस अभियानले समाजमा क्रान्तिकारी परिवर्तन ल्याउनेछ।' सबैले थपडी मार्छन्। धनेलाई एक्कासी बिरामी आमा र बहिनीहरूको याद आउँछ। राति सबै भोकै सुतेका थिए। बिहान आउने बेलामा कामबाट फर्कँदा खानेकुरा लिएर आउँछु भनी धने आएको थियो। स्कुलको उद्‌घाटन भएपछि सबै चिया-मिठाइ र कुरा गर्नमा व्यस्त भए। धने दगुर्दै चियापसलमा पुग्छ। धनेलाई देख्दा मालिक खुसी हुन्छ। दुईवटा रोटी धनेलाई खान दिन्छ। दुईवटा रोटी गोजीमा हालेर धने घरतिर दगुर्न थाल्छ। आमा र बहिनीहरूलाई रोटी खान दिएपछि, आठ वर्षको धने स्कुल नगएर फेरि चियापसलमा पुग्छ। किनकि आमा र बहिनीहरूलाई भोकबाट बचाउन धनेलाई ज्यादा जरुरी छ।

 

उदयाचल पथ

हाउस न ९

खृस्टान बस्ती

गुवाहाटी- 5