|
|
|
|
अन्तर्वार्ता परिपक्वताको अभाव खट्कन्छ --लीलबहादुर क्षत्री (असमको गुवाहाटीनिवासी श्री लीलबहादुर क्षत्री नेपाली साहित्यका पाठकका लागि सुपरिचित नाम हो। भारतमा रहेर निरन्तर नेपाली साहित्यसेवामा समर्पित केही विशिष्ट साहित्यसाधकहरूको सूचीमा पनि उहाँको नाम अग्रपङ्क्तिमा आउँछ। उहाँको बसाइँ उपन्यास नेपालमा सधैँ लोकप्रियताको शिखरमा छ भने तीन दशकभन्दा बढी समयदेखि यो नेपालका विभिन्न विश्वविद्यालयहरूको पाठ्यपुस्तकको रूपमा छ। तर श्री क्षत्रीलाई बसाइँले मात्र चिन्नु उहाँमाथि अन्याय गर्नु हुनेछ। अतृप्त र ब्रह्मपुत्रका छेउछाउ उहाँका अरू सफल उपन्यास हुन् भने हालै मात्र प्रकाशित उहाँको उपन्यास प्रतिध्वनिहरू विस्मृतिका नपढी नहुने नयाँ कृति हो। श्री क्षत्रीका तीन दशक बीस अभिव्यक्ति तथा लीलबहादुर क्षत्रीका कथाहरू गरी दुई बेजोड कथासङ्ग्रह छन् भने झ्याउरे पाटीमा लाग्दा आत्मपरक निबन्धसङ्ग्रह र अन्य प्रशस्त फुटकर रचना प्रकाशित छन्। पाँच-छ दशकमा फैलिए पनि उहाँका रचना सङ्ख्यात्मक हिसाबले कमै देखिएलान् तर उहाँको कलमले कोरेका प्रत्येक अक्षर पठनीय, सङ्ग्रहणीय र सम्माननीय छन्। प्रस्तुत छ साहित्यसरिताका सम्पादक श्री दिनेश पौडेल र मित्र श्री श्रीधर शर्माले श्री क्षत्रीसँग लिएको अन्तर्वार्ता) -- क्षत्रीज्यू हालको आफ्नो गतिविधिबारे केही सोधूँ कि भनेर..................। हाल ज्यादै मानसिक तनावको स्थितिमा छु। एउटा सन्त्रस्त परिवेश र परिस्थितिमा समय बितिरहेको छ। धेरैजसो समय असमका नवोदित साहित्यिकहरूलाई प्रोत्साहन दिने, तिनका कृतिमाथि भूमिका लेखिदिने, सुधार गरिदिने काममा बितिरहेको छ। त्यताका पत्रपत्रिकाको निम्ति केही रचनामा लेखिदिनुपर्ने बाध्यता पनि छ। त्यसबाहेक सामाजिक काममा पनि कुदिरहनुपर्ने हुन्छ। मनले त भन्छ केही नयाँ लेखूँ, लेखेर फाइलमा थन्किएका खेस्राहरूलाई प्रकाशनको बाटोतिर डोऱ्याऊँ, तर त्यसको निम्ति जाँगर, साधन र समय जुटाउन सकिरहेको छैन। -- इटहरीसँग यहाँको घनिष्ठताबारे केही बताइदिनहुन्थ्यो कि ? मलाई बेलाबेला नेपाल डुल्न मन लाग्छ। यही डुल्ने क्रममा इटहरी एउटा चोक र मध्यस्थ ठाउँ हुनाले यसलाई मैले आधार पारेको छु। पूर्व-पश्चिम, उत्तर-दक्षिण जता गए पनि इटहरी आएर बिसाउने गर्छु। अघि मेरा पिताजी आफ्नो अवकाशको जीवन धेरैजसो यहाँ बिताउने गर्नुहुन्थ्यो र साथमा म पनि आउनेजाने गर्थेँ। यसरी यहाँका मानिसहरूसित चिनाजानी बढ्यो। त्यसैले वर्षमा एक-दुईचोटि यहाँ आउन मन लाग्छ। यहाँबाट जता जान पनि सजिलो अनुभव गर्छु। इटहरीसित मेरो बाल्यकालको सम्झना पनि गाँसिएको छ। धेरै वर्षअघि बाल्य-अवस्थामा आफ्नो पितृथलो हेर्न जाँदा यही बाटो भएर गएको थिएँ र यसै इटहरीमा वास परेको थियो। -- साहित्यलेखनमा कथा र अझ विशेष गरी उपन्यासक्षेत्रलाई यहाँले अँगाल्नुभएको छ खास कारण छ कि ? सुरुमा मैले कविता र गीत लेखेँ। पछि जीवन र जगत्को अनुभूति अभिव्यक्त गर्न कथा र उपन्यास बढी सशक्त माध्यम हो भन्ने मलाई लाग्यो र त्यतै मन ढल्क्यो। यी विधाबाट लेखक पाठकको अधिक निकट पुग्न पनि सक्षम हुन्छ। -- यहाँको अमूल्य योगदानको कदर नेपालले समुचित रूपमा गरेन जस्तो लाग्छ तपाईँलाई ? नेपालभित्र पाठकबाट मैले अत्यधिक माया पाएको छु। मेरा कृति पाठकले औधि रुचाएका छन्। एउटा लेखकको निम्ति त्यसभन्दा बढी कदर के पो चाहिन्छ र ? अँ, नेपाल (सरकार)बाट सम्मान र पुरस्कार भने मैले पाएको छैन, हो त त्यसयोग्य अझ बन्नसकेको छैन। -- अहिले नेपाली साहित्यमा विभिन्न प्रयोग गर्नेको भीड छ। यसलाई कसरी हेर्नुभएको छ ? आफूलाई मूल्याङ्कन गर्नुभएको छ ? साहित्यमा प्रयोग राम्रो कुरा हो तर प्रयोग बुझेर, राम्रो अध्ययन गरेर गर्नुपर्छ, त्यसै अन्योलमा झटारो हान्नुचाहिँ हुँदैन। मेरो आफ्नो धारणा के छ भने साहित्य केवल साहित्को निम्ति हुनुहुँदैन। यो जीवनको निम्ति हुनुपर्छ, जीवन त्यसमा झल्कनुपर्छ र जीवनलाई सही दिशानिर्देश पनि गर्न सक्नुपर्छ। -- असमी भाषासाहित्य र नेपाली भाषासाहित्यबीच केकस्तो सम्बन्ध/तालमेल पाउनुभएको छ ? असमिया भाषासाहित्य र नेपाली साहित्यमाझ राम्रो सम्बन्ध छ। असमका धेरैजसो नेपालीले असमिया भाषाको माध्यमबाटै शिक्षालाभ गरेका छन्। उभयभाषामाझ अनुवादकार्यद्वारा साहित्यको आदानप्रदान पनि भइरहेको छ। धेरै नेपालीभाषी लेखक असमिया भाषामा पनि उत्तिकै कलम चलाउँछन्. तर नेपाली भाषामा कलम चलाउने लेखक असमिया लेखक भने विरलै फेला पर्छन्। अनुवादकार्य पनि धेरैजसो नेपालीभाषी लेखकले नै गरेका छन्। -- आफ्ना भावी योजनाबारे...........? भावी योजना खासै त्यस्तो केही छैन। अघि लेखेर थन्किराखेका पुराना खेस्राहरूको पाण्डुलिपि तयार पारेर प्रकाशमा ल्याउन पाए हुन्थ्यो भन्ने लाग्छ तर त्यसको निम्ति न जाँगर छ न फुर्सत। एउटा भनेजस्तो वास बस्ने घर पनि बनाउन सकिरहेको छैन तर गर्छु भन्ने धोकोचाहिँ छँदै छ। -- असमको नेपाली साहित्यको गतिविधिबारे छोटकरीमा जानकारी पाउन सके हुन्थ्यो..... गुवाहाटीलगायत समग्र असमको नेपाली साहित्यिक गतिविधि ज्यादै झिनो प्रकारले अघि बढिरहेको छ। त्यसको मूल कारण नेपाली भाषाको माध्यमबाट शिक्षा पाउने व्यवस्था छैन भन्दा हुन्छ। त्यसैले नेपाली पठनपाठनको ज्यादै अभाव छ। राम्रा नेपाली पुस्तकहरू पनि त्यता उपलब्ध हुँदैनन्। यता र उताको माझमा ठूलो व्यवधान छ। नेपाली साहित्यिकहरूमा हानथाप पनि निकै चल्छ। धेरैजसो आफूलाई साहित्यिक कहलाउने व्यक्तिहरू साहित्यसिर्जना भन्दा पनि साहित्यक सङ्गठन खोलेर त्यसको पद ओगट्नमा आफूलाई गौरवान्वित सम्झन्छन्। त्यसैले साहित्य-अध्ययन, मनन र सृजनको अभावै छ। नेपालीमा लेख्नेहरूको ताँदो त निकै बढेको छ तर परिपक्वताको अभाव खट्कन्छ। *****
|