|
|
|
|
असमेली नेपाली आख्यान-साहित्य --इन्दुप्रभा देवी बी. बरुवा कलेज, गुवाहाटी बहुसङ्ख्यक नेपालीहरूले बसोबास गरिआएको असम भूमिमा नेपाली साहित्यले पनि विकासका विभिन्न खुड्किलाहरू नाघ्दै आएको छ। यहाँ नेपाली माध्यमका स्कुलहरूको अभाव, नेपाली भाषा शिक्षाको अभाव आदिले गर्दा अन्य भाषा-साहित्य पढेर हुर्किएका धेरैजसो नेपाली छात्र-छात्रा, व्यक्तिहरूले आ-आफ्नो प्रयासमा मात्र नेपाली भाषा-साहित्य चर्चा गर्नुपर्ने स्थिति हुनाले साहित्यका विभिन्न विधाहरू धेरै अघि सरेका छन् भन्न चाहिँ गाह्रो पर्दछ। आख्यान-साहित्य अर्थात् कथा र उपन्यास-साहित्यमा पनि यसको व्यतिक्रम देखिँदैन। 'असमेली'ले हालको असमलाई मात्र समेट्छ, ब्रिटिस शासनकालको बृहत्तर असम अर्थात् समग्र पूर्वाञ्चललाई होइन, अनि आख्यानविधामा सघाउ पुर्याउने केही नाम, केही कृतिका उल्लेख यस लेखमा नभएमा त्यो लेखिकाको अनिच्छाकृत त्रुटि वा अज्ञानता हुनेछ, धृष्टता कदापि होइन। -२- कथासाहित्य उन्नाइसौँ शताब्दीको पहिलो भागमै फ्रान्स र रुसमा जन्मिएको र प्रायः त्यही समयदेखि नै अमेरिका, इङल्यान्ड र जर्मनीमा पनि विकसित हुन थालेको आधुनिक कथा-साहित्यको थालनी भारतमा भने त्यस शताब्दीको अन्त्यतिर मात्रै भएको हो। कथा-साहित्यको विकासमा उन्नाइसौँ शताब्दीका पत्रिकाहरूको अवदान नै उल्लेखनीय हुनाले साहित्यको यस विधालाई 'पत्रिकाको सन्तान' पनि भनियो। नेपाली कथा-साहित्यको विकासमा पनि पत्रिकाहरू नै मुख्य माध्यम भइरहे। काठमाडौँको 'शारदा' पत्रिकामा १९३४ मा प्रकाशित गुरुप्रसाद मैनालीको 'नासो'लाई कथाका सबै लक्षणसमृद्ध पहिलो नेपाली कथा मानिन्छ भने त्यही पत्रिकामा १९४० मा प्रकाशित असमका टङ्कनाथ उपाध्यायको 'पुड्के हवलदार' कथालाई पहिलो असमेली नेपाली मौलिक कथा मानिन्छ। भारतीय स्वाधीनता-कालपछि भारतमा नेपाली कथा-साहित्य फस्टाउन थाल्यो। असममा पनि 'हिमाद्री' (१९४८), 'गोर्खा दीप'(१९९५ हस्तलिखित), 'प्रभात'(१९५६), 'ब्रह्मपुत्र' (१९६०), 'हिमालय'(१९६०) आदि पत्रिकाहरू निस्किए। यी स्थानीय पत्रिकाहरूमा तथा नेपाल, दार्जीलिङ, बनारस आदिबाट प्रकाशित पत्रिकाहरूमा यहाँका कथाकारका कथाहरू देखा पर्न थाले। हरिप्रसाद गोर्खा राई, दुर्वासा उपाध्याय, लीलबहादुर क्षत्री, के.बी. रसाइली, विपिनचन्द्र उपाध्याय, श्रीकुमार चन्द्र आदि भारत स्वाधीन भएपछिका पहिलो भागका कथाकार हुन्। असमिया र नेपाली दुवै भाषाका वरिष्ठ साहित्यिक हरिप्रसाद गोर्खा राई, जो कोहिमाका भए पनि गुवाहाटीमै धेरै वर्ष कार्यरत थिए। आफ्ना धेरै उत्कृष्ट कथाहरू लिएर १९४९ देखि विभिन्न पत्रिकामा लगातार देखापरिरहे। 'एउटा सलाम', 'कमाने केटी', 'गोर्खाको मोडेल', 'मेरो एउटा नागा हुकी' आदि राम्रा कथा लेख्ने गोर्खा राईको कथासङ्ग्रह हो 'यहाँ बदनाम हुन्छ' ( १९७४)। नेपाली जनजीवन, नेपाली सैनिकजीवनका धेरै चित्र उनका कथाहरूमा सरल शैलीमा अङ्कित छन्। दुर्वासा उपाध्यायका झुटो यो संसार, सिन्दुरको टीको, दोभान, सङ्गम, परिणाम आदि कथाहरू कथाहरू गोर्खा, प्रभात, ब्रह्मपुत्र आदि पत्रिकामा प्रकाशित भए तर पुस्तकाकारमा भने निस्कन सकेनन्। यो समयमा कथाकारहरूले रोमान्टिक आदर्शात्मक धारामा कथा लेखेको देखिन्छ। समाजका कुसंस्कारहरू उखेलेर आदर्श समाज-सृजनाको चाहना कथाहरूमा परिव्याप्त छन्। कर्तव्य, सानीकी आमा, आशाको दियो निभ्यो, गोठालाको सपना, बेसाहा,धुपचस्मा आदि अनेकौँ कथा लेख्ने कुशल साहित्यिक लीलबहादुर क्षत्रीले आदर्श र यथार्थवादी धारालाई अँगालेको देखिन्छ। उनका कथाहरूको सङ्ग्रह 'तीन दशक-बीस अभिव्यक्ति' (१९८३)ले दार्जीलिङको भानु पुरस्कार पनि प्राप्त गर्यो। राजकीय प्रज्ञाप्रतिष्ठान, काठमाडौँबाट 'लीलबहादुर क्षत्रीका कथाहरू' (१९९६) शीर्षक अन्य एक सङ्ग्रह प्रकाशित भयो जसमा काठमाडौँका विभिन्न पत्रिकामा निस्किएका उनका कथाहरू अन्तर्भुक्त भए। लीलबहादुर क्षत्रीका कथा प्रसङ्गमा डा. ईश्वर बरालको अभिमत यहाँ प्रणिधानयोग्य छ - ''अधिकांश कथा विक्षोभ, विसङ्गति, विडम्बना, विपन्नता, दैन्य, अभाव औ कटुताले विषण्ण चरित्रको अकपट चित्रण गर्छन्। लेखकले कथामा परिहास तथा व्यङ्ग्यको चमत्कारप्रयोग पनि सफलतापूर्वक गरेका छन्।......नभन्दै सामाजिक यथार्थवाद नै लीलबहादुरका रचनाको प्रवणता औ प्राणवत्ता हो।''( गरिमा ४-११, कार्तिक २०४३) साठीको दशकको अन्त्यतिर र सत्तरीको दशकको प्रारम्भतिर अग्निबहादुर छेत्री, हरिभक्त कटुवाल, हरिप्रसाद शर्मा, लक्षण बोहोरा, के.बी.नेपाली, पद्म ढकाल, डम्बर नेपाली, लक्ष्मीप्रसाद तिमसिना, पहल थापा आदि कथाकारहरूले आत्म प्रकाश गरे। अनुवादकार्यमा दक्ष अग्निबहादुर क्षेत्रीले परिणाम, मेरो कामना आदि कथाहरू पत्रिकामा प्रकाशित गरे। अनुवादमा निपुण अन्य एक साहित्यिक हरिप्रसाद शर्मा असमको पहिलो व्यक्तिगत कथासङ्ग्रह निकाल्ने साहित्यकार हुन्। उनको पहिलो कथासङ्ग्रह 'प्रेममा धोका' (१९६०) हो र दोस्रो हो 'मेरो जीवन' (१९६७)। १९६० मै असमको पहिलो सामूहिक 'कहानीसङ्ग्रह' तीनतारा प्रकाशन, गुवाहाटीबाट प्रकाशित भएको थियो। आठजना कथाकार - सी.बी. गुरुङ, हरिप्रसाद उपाध्याय, राजासिंह लिम्बू, लक्ष्मीप्रसाद तिमसिना, लीलबहादुर क्षत्री, डम्बर नेपाली, पद्म ढकाल र पहल थापाका कथा समावेश भएको यो सङ्ग्रह प्रकाश गर्ने तीनतारा प्रकाशनको सम्बन्धमा लीलबहादुर क्षत्रीको भनाइ छ- ''यी तीनताराको नाउँ किताबमा कहीँ उल्लेख छैन तापनि उनीहरू पद्म ढकाल, डम्बर नेपाली र लक्ष्मीप्रसाद तिमसिना हुन् भन्ने अनुमान हुन्छ।'' कवि हरिभक्त कटुवाल कथाकारितामा पनि पारदर्शी मानिएका छन्। उनको सम्पादनमा १४ वटा ऐतिहासिक कथाहरू सन्निविष्ट भएको 'ऐतिहासिक कथासङ्ग्रह' (१९६१) निस्किएपछि केवल उनका आफ्नै कथाहरूको सँगालो 'स्पष्टीकरण' (१९७३) पनि प्रकाशित भयो। त्रैमासिक 'बिन्दु' (१९६१)का सम्पादक के.बी. नेपालीले १९६४ देखि नै कथा लेख्दै आएका छन्। 'कल्पना' (१९७०) र 'भोक-मृत्यु-सङ्घर्ष' (१९९०) उनका कथासङ्ग्रह हुन्। लक्षण बोहोरा पनि अन्य एकजना अब्बल दर्जाका कथाकार हुन्। प्रभात, आँखा आदि विभिन्न पत्रिकामा कथा लेख्ने उनले पछि 'एक बिहान-बेलुकी'(१९८४) शीर्षक कथासङ्ग्रह पनि निकाले। गरिब निम्नवर्गीय नारीहरूको मनस्थिति, आर्थिक सङ्कट र सामाजिक मान्यताका बीचमा अलपत्र परेका युवावर्गको अन्तर्द्वन्द्व, असमेली नेपाली ग्राम्य जनजीवन आदि यो समयका कथाहरूमा अङ्कित भएको देखिन्छ। टीकाराम उपाध्याय 'निर्भीक' (भ्रान्ति) , टङ्क भट्टराई, अमर उपाध्याय, दुर्गाप्रसाद उपाध्याय, उत्तम बराल, तारा भट्टराई, मित्र शास्त्री, तारापति उपाध्याय, दुर्गा घिमिरे, कमलसिंह बगाले, जगनिधि दाहाल, लक्ष्मीप्रसाद पराजुली, रेवतीमोहन उपाध्याय आदि अनेक कथाकारले सत्तरी-असीको दशकतिर आत्मप्रकाश गरेपछि कथा-साहित्य अझ समृद्ध हुँदै गयो। भारतको संविधानको अष्टम अनुसूचीमा नेपाली भाषाको अन्तर्भुक्तिको निम्ति नेपालीहरू जाग्रत् हुनु, भारतीय साहित्य अकादमीले नेपाली भाषालाई स्वीकृति दिनु आदि कारकहरूले गर्दा पनि साहित्य चर्चाप्रति नेपालीहरू सजग र उत्साहित हुन थाले। कथा-साहित्यमा नवीनता पनि आयो। गुरुभक्त धितालले 'जिन्दगीको आयाममा स्वास्नीमान्छे'(१९७१) र श्याम लिवाङले 'गोरेटो' (१९७२)मा नयाँ धारा सुरु गरेपछि हरिप्रसाद शर्मा, होमबहादुर छेत्री (हाल कुबेतमा), एकबहादुर छेत्री आदिले यो धारालई अघि सार्न लागे। पछि दार्जिलिङवासी हुने जयप्रसाद दाहाल र डी.बी. लुङ्गेलीले गुवाहाटीमा छँदा विभिन्न पत्रिकामा कथा प्रकाशित गरे। जयप्रसाद दाहालद्वारा असमको दोस्रो सामूहिक कथासङ्ग्रह 'नयाँ घुम्ती' (१९८२) निस्कियो, जसमा नौजना पुराना कथाकारका कथाहरू अन्तर्भुक्त भए। १९६८ देखि नै कथा प्रकाश गरिआएका बी.एम. प्रधानले पनि असममा हुँदै 'अर्घेलो' (१९८०) शीर्षक कथासङ्ग्रह प्रकाश गरेका हुन्। असमका गान्धी मानिएका स्वाधीनता-सङ्ग्रामी विष्णुलाल उपाध्याय १९७३ देखि नै कथाविधामा देखापरे र पछि उनले 'उत्सर्ग'(१९९४) शीर्षक कथासँगालो निकाले। कथाकार शेरमान थापाको 'इन्द्रेणी' (१९८५) र 'लहर'(१९८५) ले कथाकारितामा नयाँ इन्द्रेणी झुल्क्यायो, नयाँ लहर ल्यायो। मानवीय अनुभूतिको सूक्ष्म व्यञ्जना, समाज-जीवनको सूक्ष्म अवलोकन आदि धेरै कविहरूका कथामा पनि देखापरे। भविलाल लामिछाने, युद्धवीर राणा, शिवकुमार नेवार, अविनाश श्रेष्ठ(हाल काठमाडौँ) मोहन सुवेदी, शशीकुमार शर्मा आदिले जीवनबोधको सङ्कट, मानवताको दयनीय स्थिति आदि विषयहरूलाई सजीव रूप प्रदान गरे। शशीकुमार शर्माको 'विस्थापन', 'घात-प्रतिघात' (१९५५), मोहन सुवेदीको 'माटो, मान्छे र माया' (१९९८) कथासङ्ग्रह निस्किए। 'कसका लागि ?' (२०००) मा भविलाल लामिछानेका कथाहरू सङ्गृहीत भए। डम्बर दाहाल र हरि अधिकारीले नब्बेका दशकका पूर्वार्धतिरका कथाकार हुन्। लघुकथा लेख्ने डम्बर दाहालले कथासङ्ग्रह 'आविष्कार' (१९८६) र 'एकत्रिश पृष्ठभित्रका एकत्रिसै लघुकथाको सँगालो' (?) निकालेका छन्। त्यही दशकदेखि एक मिनेटको कथा लेख्ने पीताम्बर गुरुङले 'म कुन्तला हुँ' नामक कथासङ्ग्रह निकाले। दुवैका लघुकथामा सामाजिक समस्या र व्यवस्थामाथि व्यङ्ग्यात्मक दृष्टिकोण झल्किएको देखिन्छ। व्यङ्ग्य-कथाको निम्ति सञ्जयकुमार स्मृतिपदक प्राप्त गर्ने गोपालचन्द्र कौशिकले १९९० देखि पत्र-पत्रिकाहरूमा कथा लेख्दै पछि 'आसामे ज्वाइँ (१९९८) कथासङ्ग्रह प्रकाश गरेका हुन्। नब्बेका दशकका नयाँ धाराका कथाकारका रूपमा चर्चित व्यक्ति हुन् खड्गराज गिरी। उनका 'रूप-प्रतिरूप' ( १९८७), 'अभाव' (१९९२), 'कथादेखि पर' (१९९८) ले नयाँ विचार, नयाँ शैली बोकेका छन्। जीतबहादुर सुनार-रचित आठारवटा कथाको सँगालो 'कस्तुरी मृग'(२००४) र राम उपाध्याय-रचित 'हेरौँ के हुन्छ' (२००५) हालैमा प्रकाशित कृति हुन् जसमा आफ्नै सेरोफेरोका विसङ्गतिहरू झल्किएका छन्। १९९७ मा असमको तेस्रो सामूहिक कथा सङ्कलन गरी हिमाली साहित्य समिति, निकासीद्वारा कथाकार बद्री गुरागाईँ, इन्द्र गुरागाईँ, हेमलाल घिमिरे र साथीहरूद्वारा सम्पादित भयो जसमा लीलबहादुर क्षत्री, हेम जोशी, डिल्लीराम खनाल, डा. खेमराज बराल, शशीकुमार उपाध्याय, शुकलाल सुब्बा, हरि पराजुली, खेमनाथ गुरागाईँ, युवराज भट्टराई, टेकनाथ पराजुली र दिल गौतमका कथा समावेश छन्। नेपाली कथा-साहित्यमा अवदान दिने असमका नारी कथाकार भने हातका औँलामा गन्न सकिने छन्। मेघालयमा छँदा कथा लेख्ने चन्द्रकला नेवार र माया ठकुरी (पछि नेपालमा) जस्ता प्रतिष्ठित कथाकार यहाँ सत्तरीको त्यो दशकमा त निस्कन सकेनन्, अझै पनि साहित्यको यो विधा महिलाद्वारा त्यति समृद्ध हुन सकेन। सत्तरी दशकतिर यदाकदा कथा लेख्ने धनमाया क्षेत्री, नवकुमारी देवी, कीर्तिदेवी, रत्ना खड्का आत्मप्रकाश गर्ने अन्य केही कथाकार हुन् - विनीता उपाध्याय, गीता उपाध्याय, नयादेवी लुइँटेल, मुन्नी सापकोटा, शान्ति थापा, इन्दुप्रभा देवी, निरु शर्मा पराजुली आदि। असममा स्थायी रूपमा चलिआएको मासिक पत्रिका 'हाम्रो ध्वनि' (१९७१) ले २००६ जनवरीमा कथा विशेषाङ्क भाग - १ प्रकाश गर्यो जसमा दार्जीलिङका शरद क्षेत्री र मेघालयका विक्रमवीर थापासहित असमका आठजना कथाकार सर्वश्री लीलबहादुर क्षत्री, खडगराज गिरी, शिवकुमार नेवार, गीता उपाध्याय, शान्ति थापा, इन्दुप्रभा देवी, रोहित गौतम र लीलबहादुर सुनारका कथाहरूको समावेश भयो। नेपाली कथालाई, नयाँनयाँ मात्रा दिने माथि उल्लेख नगरेका अन्य केही कथाकार हुन्- हरि लुईँटेल, इन्द्रकान्त कार्की, टीकेन्द्रजित खनाल, कुलप्रसाद सेडाइँ, खेमराज नेपाल, देबेन सापकोटा, दीपक थापा, पराग दाहाल, टेकबहादुर क्षेत्री, ललित सुब्बा, उमा शर्मा, वैद्यनाथ उपाध्याय, श्याम बस्नेत, वेदनिधि निरौला, अमृतकुमार नेपाल, पुष्पराज रिजाल, राजेन्द्रकुमार कटुवाल, हस्त खड्का, लीलानन्द उपाध्याय, दामोदर दाहाल, सोम पराजुली, मणिराम खड्का, ज्ञानबहादुर क्षेत्री, सेर बुढाथोकी, रघुनाथ शर्मा, चन्द्र गौतम, कमल शर्मा, युवराज पौड्याल, सहदेव गौतम आदि। -३- उपन्यास-साहित्य उपन्यास-साहित्यले असममा कथा-साहित्यभन्दा ढिलो प्रवेश गर्यो। १९४० मा यहाँको पहिलो मौलिक कथा निस्किएको थियो भने पहिलो उपन्यास निस्कियो १९९७ मा। सामाजिक उपन्यास 'बसाइँ' लेखेर विशिष्ट साहित्यिक लीलबहादुर क्षत्रीले नै यहाँको उपन्यास-यात्रा सुरु गरेका हुन्। यसपछि आजसम्म प्रायः ५० बर्से लामो अवधि बितिसके तापनि प्रशस्त मात्रामा उपन्यास रचित हुन सकेनन्। सामाजिक सामन्तवादप्रथामा आधारित जातिवाद र आर्थिक दीनताको जीवन्त चित्रण भएको 'बसाइँ' बहुपठित उपन्यास हो, जसका ३०वटा संस्करणसम्म निस्केका छन्। यसको अङ्ग्रेजी अनुवाद पनि भइसकेको छ। लीलबहादुर क्षत्रीले पछि आफ्ना अन्य उपन्यासद्वारा पनि प्रशंसा बटुल्न सक्षम भएका छन्। असममा मनोवैज्ञानिक चित्रणको थालनी गर्ने 'अतृप्त' (१९६८), साहित्य अकादमी-पुरस्कारप्राप्त 'ब्रह्मपुत्रका छेउछाउ'(१९८६) र हालैमा रचित 'प्रतिध्वनिहरू विस्मृतिका' (२००४) उनका अन्य उपन्यास हुन्। यसमध्ये पछिल्लो उपन्यासका बारेमा कृष्ण धरावासीको मन्तव्य यस प्रकारको छ - ''कथावस्तु र विषयले यो कृति लीलबहादुर क्षत्रीभित्र वर्षौँदेखि निरन्तर प्रवाहित नेपाली जातिको पीडावेदना र प्रवासीयताको चित्रण हो। उहाँभित्र सधैँ खिलझैँ गाडिएर रहेको नेपालप्रतिको माया र भारतप्रतिको कर्तव्यको यो एउटा दस्तावेज हो।'' उल्लेखनीय छ कि ब्रह्मपुत्रको छेउछाउ अग्निबहादुर क्षेत्रीद्वारा असमियामा अनूदित भई असमिया साहित्यको पनि एउटा महत्त्वपूर्ण सम्पदा हुन पुगेको छ। लीलबहादुर क्षत्रीपछिका कुशल उपन्यासकार हुन् के.बी. नेपाली। 'मेरो घर मेरो संसार'(१९६५), 'समर्पण'(१९६५), 'तस्बिर एक रातको' (१९७६) उनका उपन्यासकृति हुन्। 'मेरो घर मेरो संसार'मा आदर्शात्मक यथार्थवादी धारा छ भने 'समर्पण'मा राष्ट्रवादी नारा छ, युद्धको विभीषिका र नेपाली सैनिक-जीवनको मार्मिक चित्रण छ। के.बी. नेपालीका समसामयिक हरिप्रसाद शर्माले मौलिक तथा अनूदित दुवै किसिमका उपन्यासद्वारा साहित्यको यस विधालाई सेवा पुर्याएका छन्। 'म के गरूँ' (१९६६), 'जीवन र सम्मान' (१९६७) उनका मौलिक उपन्यास हुन् भने अनुवाद उपन्यास हुन् टल्सटयका उपन्यासहरूका अनुवाद 'युद्ध र शान्ति' (१९६६), 'कस्तो जीवन' (१९६७), 'प्रेम र वासना' (१९७२) र मेक्सिम गोर्कीको 'मदर'को अनुवाद 'आमा'(१९९५)। १९७८ मा गहीन उपाध्यायको 'खोजीमा' र १९११ मा शेरमान थापाको 'पत्थर बोल्छ' उपन्यास प्रकाशित भए। 'खोजीमा' असमेली जीवनको यथार्थ छविको साथ आदर्शमुखी दृष्टि र 'पत्थर बोल्छ' मा नेपाली सहरी जीवनभित्रको एउटा आदर्शच्युत भ्रष्ट वर्गको चित्रण देख्न पाइन्छ। सन् २००० अघिका यस भेकका अन्य केही उपन्यास कृति हुन्- गुवाहाटी छँदा मोहनकुमार श्रेष्ठले लेखेको 'सानी आमाको छोरो' (१९८५) र प्रकाश सुवेदी-रचित 'डोबहरू' (१९८६), हरि अधिकारीको 'मुटुभित्रको तिर्सना' (१९९४), टीकाराम उपाध्याय 'निर्भीक'को 'पूर्णिमा', रूपनारायण पाठकको 'दोसाँध' (१९९८), गीता उपाध्यायको शिशु उपन्यास 'आमा म फस्ट भएँ' (१९९९) आदि। सन् २००० पछि पनि उपन्यासको धारा धेरै वेगवान् हुन सकेन। २००२ मा नारी लेखिका नयादेवीको 'युगसन्धि' प्रकाशित भयो जसमा नारीको अन्तर्वेदना र सङ्घर्षमय जीवनको तथा वर्तमानको परिवर्तित समाजको चित्र राम्रो गरी अङ्कित भएको छ। युवाप्रतिभा रोहित गौतमको 'अग्निस्नान' त्यही वर्ष प्रकाशित कृति हो। जातपातको भेदभाव हटाउने प्रगतिशील विचारधारा यसमा प्रतिफलित भएको छ। २००४ मा उनकै 'सपनाको मायामृग' निस्कियो। पीताम्बर गुरुङको 'कुन्तलाको संसार' पनि त्यही सन्मा प्रकाशित उपन्यास हो जसमा नारीलाई सशक्त रूपमा उभ्याइएको छ। -४- असमेली नेपाली साहित्य आख्यान-साहित्यको कथा-विधा उपन्यासभन्दा धेरै धनी देखिन्छ। अवश्य यहाँका मौलिक कथा-सङ्ग्रहले अझै भारतीय साहित्य अकादमी पुरस्कार भने प्राप्त गर्न सकेका छैनन्। अन्य प्रान्तसित दाँज्दा यहाँको आख्यान-साहित्यको परम्परा धेरै समृद्ध भन्न नसकिए तापनि यसको भविष्य अँध्यारो छैन। साहित्यचर्चाको परिवेश शृष्टि गरी नयाँ पिँढीलाई उत्साहित गर्न सक्नु हो भने भविष्यमा पनि उत्कृष्टभन्दा उत्कृष्ट साहित्य यहाँ पनि शृष्टि हुन सक्नेछन्। -- विशेष सन्दर्भग्रन्थः- १. पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शनः लीलबहादुर क्षत्री २. निर्माण- रजत जयन्ती अङ्कः जुन २००२ ३. नेपाली कथायात्राः रामलाल अधिकारी।
लेखिकाको ठेगानाः Mrs Indu Prava Devi Lecturer, Dept of Assamese B. Borooh College, Ulubari, Guwahati- 7. or c/o Gopi Baral Gandhibasti Liniali(Nehru Stadium Road) Silpukhuri, Guwahati-3 Phone: 0361-2660631(R) 94351-43145(Mobile)
|