|
|
|
|
अङ्ग्रेजी, हिन्दी, बङ्गाली, संस्कृत र बडो साहित्यमा असमेली नेपाली लेखक - ज्ञानबहादुर क्षेत्री भारतवर्षको पूर्व प्रान्तमा अवस्थित असम राज्यमा ठूलो सङ्ख्यामा नेपालीहरू बसोवास गर्दछन्। असममा बसोवास गर्ने नेपालीहरूको सङ्ख्या तीस लाखभन्दा बढी हुन्छ भनेर धेरैले अनुमान गरेका छन् भने सन् १९९१ को सेन्सस अनुसार असममा नेपाली मातृभाषा हुनेहरूको सङ्ख्या ४,३२,५१९ देखाइएको छ। असमका सबै नेपाली असमिया भाषा बोल्न सक्छन्, शिक्षितहरू पढ्न-लेख्न सक्छन्। असमका नेपाली लेखकहरूमा धेरजसोले नै असमिया र नेपाली - यी दुवै भाषामा लेख्ने गरेका छन्। कतिपय लेखकहरू असमिया-नेपाली बाहेक अङ्ग्रेजी, हिन्दी, बङ्गाली, बडो, संस्कृत आदि भाषामा पनि लेख्छन्। यस निबन्धमा यसै कुराको जानकारी दिने प्रयास गरिन्छ। अङ्ग्रेजी भाषामाः- आजसम्म असमबाट अङ्ग्रेजी भाषामा सिर्जनात्मक मौलिक कृति फेला परेको छैन। केही गवेषणात्मक ग्रन्थहरू नभएका होइनन् तिनमा धेरजसो नै साहित्यिक कृतिभित्र नपर्ने हुनाले उल्लेख गरिएन। 'द रोल अफ नेपालिज इन इन्डियन फ्रिडम मुभमेन्ट' शीर्षकको ग्रन्थ जागिरोड महाविद्यालयका प्रवक्ता पुरुषोत्तम भण्डारीले लेखेका हुन् अनि ग्रन्थमा भारतको स्वाधीनता-सङ्ग्राममा नेपालीहरूको केकस्तो भूमिका रहेको थियो, त्यस विषयमा आलोकपात गरिएको छ। भूतपूर्व सांसद स्वरूप उपाध्यायद्वारा रचित 'डेलिवरेन्स' नामको ग्रन्थमा एकजना व्यक्तिले एउटा राजनैतिक सेरोफेरोभित्र साँघुरिएर प्रतिद्वन्द्वी दललाई नाङ्लो ठटाएर तर्साउने प्रयासमात्र हो यद्यपि दर्साइएका युक्तिहरू तथ्यपूर्ण छन्, मनन योग्य पनि। पत्रपत्रिकाहरूमा पनि नेपाली लेखकका अङ्ग्रेजी भाषामा लेखहरू प्रकाशित भएका छन्। तेजपुरका ज्ञानबहादुर क्षेत्रीका पुष्पलाल उपाध्यायका विषयमा लेखिएका दुइटा लेखहरू साहित्यक दृष्टिकोणमा महत्त्वपूर्ण छन्। पहिलो लेख सन् १९९० मा Newsstar मा प्रकाशित भएको थियो भने दोस्रो Reminiscence of Kavi Puspalal शीर्षकको लेख NE Times मा सन् २००० मा छापिएको थियो। क्षेत्रीले केही बहुभाषिक स्मृतिग्रन्थहरू पनि सम्पादन गरेका छन् जसमा उनका अङ्ग्रेजी भाषामा लेखिएका सम्पादकीय र अन्य लेखहरू महत्त्वपूर्ण देखिन्छन्। यी लेखहरूमा क्षेत्रीले समसामयिक विषयलाई अँगालेको पाइन्छ। नीलमणि शर्मा अङ्ग्रेजीका स्थापित लेखकका रूपमा चिनिन्छन्। शर्माले पर्यटन सम्बन्धित निकैवटा महत्त्वपूर्ण लेखहरू रचना गरेर The Assam Tribune, N.E. Times, The Sentinel आदि दैनिक अखबारहरूमा प्रकाशित गराएका छन्। उनका केही चर्चित लेखहरू यसप्रकार छन्। 1. Tourism a Factor of Tolerance and Peace (NE Times, 1996) 2. Leading Activities of 21st Century for Job Creation and Environmental Protection. 3. Technology and Nature to Challenges for Tourism and the Dawn of 21st Century. 4. Tourism: A tool for Peace and Dialogue among the Civilizations. 5. Ecotourism: The Key to Sustainable Development ( Assam Tribune) 6. Sports and Tourism: Living Force for Mutual Understanding, Culture and Development of Society. (Assam Tribune) उदालगुडीका रेवतीरमण सापकोटा र निकासीका अशोक बराल Assam Tribune का संवाददाता हुन्। तिनका केही News Coverage लेखहरू चर्चित भएका छन्। सापकोटाका केही समसामयिक विषयक लेखहरू पनि Assam Tribune मा प्रकाशित भएका छन्। डिगबोइका जीतबहादुर सोनारले भविलाल लामिछानेका 'शब्द हुन् यी मेरा' काव्यकृतिलाई Words Are Mine नाम दिएर अनुवाद गरेका छन्। विद्यापति दाहालको महाकाव्य 'उषाहरण'मा तारापति उपाध्यायको अङ्ग्रेजीमा भूमिका पाइन्छ।
अङ्ग्रेजी भाषामा लेखनसम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने सन् २००१ मा असम सरकारको इतिहास र पुरातत्त्व विभागले आसामेली नेपालीहरूका विषयमा अङ्ग्रेजी भाषामा एउटा बृहत् ग्रन्थ प्रकाशित गर्ने योजना लिएको थियो। असमका प्रायः साठीजनाजसो लेखकहरूद्वारा लेखिएको यो ग्रन्थ HISTORY OF THE ASSAMESE-NEPALI को काम सम्पूर्ण भएर हाल प्रकाशनाधीन छ। असम सरकारका (इतिहास र पुरातत्त्व विभाग) सञ्चालक डा. जितेन दास प्रधान सम्पादकका रूपमा रहेको यस ग्रन्थका साधारण सम्पादक डा. जमदग्नि उपाध्याय हुन्। यस इतिहास ग्रन्थका धेरजसो लेखहरू डा. उपाध्यायले नै अङ्ग्रेजीमा अनुवाद गरेका छन्। ज्ञानबहादुर क्षेत्री र डा. खेमराज नेपालले सहयोगी सम्पादकका रूपमा कार्यसम्पादन गरेका छन्। लोकनाथ शर्मा, दलबहादुर क्षेत्री, पीताम्बर गुरुङ, पुरुषोत्तम भण्डारी, डा. खगेन शर्मा, गीता उपाध्याय, दुर्गाप्रसाद घिमिरे, डा. हर्कबहादुर क्षेत्री, भवानी शर्मा आदि लेखकका विभिन्न विधाका लेखहरू ग्रन्थमा समावेश भएका छन्। यी बाहेक देश तथा देशबाहिरका विश्वविद्यालय तथा अन्य संस्थाहरूले आयोजन गरेका विचारगोष्ठीहरूमा असमका नेपाली विद्वान्हरूले पनि कार्यपत्रहरू प्रस्तुत गरेका छन्। यस्ता कार्यपत्रहरू साधारणतः अङ्ग्रेजी भाषामा लेखिन्छन्। यस किसिमका कार्यपत्रहरू प्रस्तुत गर्नेहरूमा डा. उमाकान्त शर्मा, डा. लालुप्रसाद उपाध्याय, डा. शिवनाथ शर्मा, डा. देबेन सापकोटा, डा. जयन्तकृष्ण शर्मा, डा. भक्त गौतम आदिको नाम लिन सकिन्छ। हिन्दी भाषामाः- हिन्दी भारतको राष्ट्रभाषा। एउटै देवनागरी लिपिमा लेखिने हुनाले नेपालीहरूलाई हिन्दी आफ्नै भाषा लाग्छ। असममा नोकरी गर्ने नेपालीहरूमा धेरजसो शिक्षक छन् अनि सबैभन्दा बढी छन् हिन्दी शिक्षक। टीकाराम उपाध्याय 'निर्भीक' हिन्दीका ख्यातिप्राप्त लेखक हुन्। उनका 'उर्वशी' र 'गङ्गा' खण्डकाव्य चर्चित भएका छन्। त्यसरी नै डिगबोईका भविलाल लामिछानेको मौलिक कवितासङ्ग्रह 'हासिए के पल' जनप्रिय भएको छ। लामिछानेका कविताहरू 'भारतीय साहित्य' ( साहित्य अकादेमीको द्वैमासिक पत्रिका)मा तथा युवक, पूर्वाञ्चल प्रहरी आदिमा प्रकाशित भएका छन्। मैना थापाका लेख र कविताहरू पनि भारतका विभिन्न पत्रिकाहरूमा प्रकाशित भएका पाइन्छन्। 'गोपालसिं नेपाली' निर्भीकको हिन्दीमा लेखिएको जीवनी ग्रन्थ हो भने उनका केही रचनाहरू बेङ्कटेश्वर समाचार, युवक, सरस्वरी, भाषा आदि पत्रिकामा प्रकाशित छन्। हिन्दीसाहित्यमा उल्लेखनीय योगदानका लागि निर्भीकलाई भारती परिषद्, प्रयागले 'हिन्दी मार्त्तण्ड' पुरस्कारले सम्मानित गराएको छ। खडकराज गिरी कुशल अनुवादक हुन्। उनले केही नेपाली चर्चित ग्रन्थहरू हिन्दीमा अनुवाद गरेका छन्। 'भविलाल लामिछाने की चुनी हुई कविताएं' र 'शब्दों का कोहरा' ( वीरभद्र कार्कीढोलीका कविताहरूको अनुवाद) गिरीका प्रमुख अनूदित कृति हुन्। चन्द्रमणि उपाध्यायको अनूदित कृति 'मङ्गलसूत्र' (मूलः मुन्सी प्रेमचन्द) पनि उल्लेखनीय छ। हरि लुइँटेलले प्रेमचन्दको 'गोदान' नेपालीमा अनुवाद गरेका छन् तर कृति प्रकाशित भएको छैन। गोपालबहादुर नेपाली, डा. शान्ति थापा, ज्ञानबहादुर क्षेत्री आदि लेखकहरूले हिन्दी पत्रिका सम्पादन गरेका छन् अनि उनीहरूका फुटकर रचना पत्र-पत्रिकाहरूमा प्रकाशित गराएका छन्। बङ्गाली भाषामाः- बङ्गाली भाषामा मौलिक प्रकाशित गर्ने आसामे नेपालीहरूमा हाइलाकान्दीका भक्तसिं ठकुरी प्रख्यात छन्। अरू लेखकहरू अझसम्म थाहा पाइएको छैन। 'महुयार ट्रेन' ठकुरीको चर्चित काव्यकृति हो। भक्तसिं ठकुरीले गोपालबहादुर नेपालीको कविता 'विश्वबोध'को एकै नाममा बङ्गालीमा अनुवाद गरेका छन्। ठकुरीले असमका समसामयिक नेपाली कविहरूका कविताहरूलाई अनुवाद गरेर पुस्तकाकारमा प्रकाशित गराएका छन् 'आसामेर नेपाली कविता' शीर्षकमा। ज्ञानबहादुर क्षेत्रीले उर्दू उपन्यासकार राजिन्दर सिंह बेरीको प्रख्यात उपन्यास 'मैलो चादर' बङ्गालीबाट नेपालीमा अनूदित गरेर प्रकाशनका लागि साहित्य अकादमीलाई सुम्पिएको तथ्य छ। बङ्गाली भाषामा उच्चस्तरीय साहित्यभण्डार छ। बङ्गाली भाषाका अरू पुस्तकहरू नेपालीमा अनुवाद हुनु जरूरी छ। संस्कृत भाषामाः- असममा संस्कृत भाषाका शिक्षक तथा पण्डितहरू निकै छन् तर संस्कृतमा ग्रन्थरचनाको परम्परा नहुनाले होस् अथवा पाठकको कमीले यस भाषामा ग्रन्थ रचना भएको देखिँदैन। भर्खरै शोणितपुर, सोठियाका नारद उपाध्यायको मौलिक सामाजिक नाटक 'पिङ्ग प्राच्यम' प्रकाशित भएको छ। डा. शिव आचार्य र डा. खेमराज नेपाल - यी दुवै संस्कृतका गवेषक संस्कृतमा भाषण पनि दिने गर्छन्। उनीहरू आफ्नो घरमा संस्कृत भाषामा बोलचाल गर्छन् भन्ने जान्न पाइएको छ। दुवैका विभिन्न विषयक लेखहरू संस्कृत पत्र-पत्रिकाहरूमा प्रकाशित भएका छन्। डा. नेपालले विश्वनारायण शास्त्री-रचित संस्कृत उपन्यास 'अविनाशी' को एकै नाममा नेपालीमा अनुवाद गरेका छन्। तुलसीशरण उपाध्यायले संस्कृतमा 'गीतमाला' प्रकाशित गराएका छन्। तारानिधि उपाध्याय नेपाली लेखक तथा अनुवादक हुन्। उनको संस्कृतबाट अनूदित(असमिया भाषामा) 'पुरुष परीक्षा' हालैमा प्रकाशित भएको छ। डा. शिवनाथ शर्माले पनि संस्कृतको गहिरो अध्ययन गरेर केही तथ्यपूर्ण लेखहरू प्रकाशित गराएका छन्। बडो भाषामाः- बडो भाषामा साहित्य चर्चा गर्ने नेपाली लेखक सारै थोरै छन्। यसमा बद्री गुरागाईँ सबैभन्दा अघि देखिएका छन्। गुरागाईँले बडो भाषी पत्रिकामा कविता र गीत प्रकाशित गरिसकेका छन्। उनको विशेषता के भने बहुभाषी पत्रिका सम्पादनमा उनको कुशलता देखिएको छ। असमिया साहित्यमा पनि उनको राम्रो हात छ। असमिया, बडो, नेपाली, अङ्ग्रेजी भाषाका केही बहुभाषिक स्मारिका बद्री गुरागाईँले सम्पादन गरेका छन्। केही पत्रिकामा उनी अतिथि सम्पादक रहेको थाहा लागेको छ। *****
|