|
|
|
|
असमेली नेपाली अनुवाद-साहित्य -- गीता उपाध्याय विज्ञान र तकनिकी ज्ञानको विकासले विश्वग्रामको धारणालाई वास्तवायित पारेको आजको समयमा अनुवादकर्मको आवश्यकता बहुआयामी तात्पर्य लिएर सामुन्ने आएको छ। अनुवाद भनेको एउटा भाषामा लेखिएको कुरा अर्का भाषामा सार्नु या पुर्याउनु हो। अङ्ग्रेजी Translation शब्दबाट यो शब्द आएको हो। तर यही काम बुझाउन हाम्रा भाषामा रूपान्तर, भाषान्तर, तर्जुमा, उल्था, भाषानुवाद, टीका इत्यादि शब्दहरू पनि व्यवहार हुन्छन्। यी शब्दहरूले भिन्नाभिन्नै परिप्रेक्षमा अनुवादकार्यको बहुवर्णीय व्यापक सम्भावना रहेकोतिर इसारा गर्दछन्। अनुवादकार्यबारे प्राचीन कालदेखि अनेक प्रकारका दृष्टिकोण र प्रश्नहरू उत्थापित भैआएका छन्। कसैको भनाइमा अनुवाद एकप्रकारको प्रतारणापूर्ण काम हो कारण यसले मूलको सौन्दर्य र स्वादलाई कसै गरी प्रकाश पार्न सक्तैन। महाकवि डान्टेले मूलको स्वाद नबिगारी अनुवाद कार्य असम्भव हो भनेका थिए। कवि शेलीले पनि कविता अनुवाद गर्दा सारहीन र निष्फल हुन्छ भन्ने मत प्रकाश गरेका हुन्। तर धेरै विद्वान्हरू अनुवादलाई सृजनामूलक कर्म हो भनी दाबा गर्छन्। हालको समयमा अनुवाद बुझाउन पुनःसृजन अनुसृष्टिजस्ता शब्दहरू व्यवहार हुन थालेका छन्। अनुसृष्टिको अङ्ग्रेजी Transcription हो र यसले त अनुवाद प्रायः असम्भव ठानिने कविताक्षेत्रमा हलचल मचाएको छ। मूलको भावलाई आफ्नो लक्ष्यभाषामा आफ्नै प्रकाशशैलीमा उतार्ने स्वतन्त्रता अनुसृष्टिमा अनुवादकले ग्रहण गर्न सक्दछ र त्यसो गर्दा अनुवाद प्रायः मौलिक सृष्टिजस्तो हुन जान्छ अनि अनुवादकले मौलिक सृष्टिको आनन्द प्राप्त गर्न सक्छ भन्ने मत व्यक्त गर्छन् कुनै कुनै विद्वान्हरू। यसरी अनुवाद नयाँ-नयाँ दृष्टिकोणले परिभाषित भैरहेको छ। तेलुगु लेखक तथा अनुवादक डा. पाण्डुरङ्ग राव अनुवादबारे आफ्नो विचार यसरी व्यक्त गर्नुहुन्छ - All languages in the ultimate analysis, is a translation of experience into expression. यस्तो व्यापक दृष्टिकोणबाट अनुवादको परिभाषाबारे विचार गर्दा मानवसमाजको विकासका साथसाथै अनुवादपरम्परा क्रियाशील भैरहेको छ भन्नुपर्दछ। भारतीय भाषाहरूको विकासमा अनुवादपरम्पराको ठूलो भूमिका रहेको छ। संस्कृत मूलबाट टीकाटिप्पणी भाष्य आदि प्रस्तुत गर्नु, संस्कृतमा रचिएका महाकाव्य, काव्य, पुराणकथाहरू आ-आफ्नो सरलतम बोलीमा भाषामा रूपान्तरित गर्नुबाट नै सबै भारतीय प्रान्तीय भाषासाहित्यको निर्माण र विकासको सुरुवात भएको पाइन्छ। भानुभक्त आचार्यले संस्कृत आध्यात्मरामायणलाई कथ्य नेपाली भाषामा रूपान्तर गरेर सात काण्ड भाषा-रामायण लेखे र आधुनिक नेपाली भाषाका जनक कहलाए। असमका वैष्णव गुरु महापुरुष शङ्करदेवले भागवत् पुराण आदि कथ्य असमियामा उल्था गरे, तिनैबाट उपादान र भाववस्तु लिएर वरगीत नाटक रचना गरेर असमिया आधुनिक साहित्यको आधार निर्माण गरे जसले विशाल असमिया साहित्य भण्डारको शृजन गर्यो। नेपाली र असमिया साहित्यको विकासमा भानुभक्त र शङ्करदेवको अवदान नकार्न सकिँदैन। अमेरिकन मिसनरीले बाइबल अनुवाद प्रचार गर्ने मुख्य उद्देश्यले असममा छापाखाना स्थापना गरेर 'अरुणोदय' नामको पत्रिका सन् १८४६ मा प्रकाश गरेका थिए, दार्जीलिङबाट १९०१ मा प्रकाश भएको नेपाली 'गोर्खे काकत' पनि एउटै उद्देश्यले प्रकाश गरेको हो र यी कामले भाषाको विकासलाई सघाउ पुर्याएको कुरा प्रस्ट हुन्छ। विश्वका विकसित भाषाहरूमा अनुवादपरम्परा आजसम्म गुरुत्वका साथ चलिरहेको छ। सबै भाषामा एकैनास उत्कृष्ट मानवीय भावचित्रलाई प्रकाश गर्ने सौन्दर्यमण्डित श्रेष्ठ साहित्य सृष्टि हुन सम्भव हुँदैन तर भिन्न भाषाका श्रेष्ठ साहित्य अनुवादद्वारा आफ्नो भाषामा भित्र्याउँदा आफ्नो साहित्य समृद्ध हुन्छ भन्ने कुरामा केही शङ्का छैन। अङ्ग्रेजी भाषा एउटा अति समृद्ध भाषा हो। विश्वका प्रायः सबै भाषामा लेखिएका श्रेष्ठ ग्रन्थ मूल भाषामा प्रकाश भएपछि नै तत्काल अङ्ग्रेजीमा अनुवाद भैहाल्छन्। अङ्ग्रेजी भाषालाई यी अनुवादग्रन्थले अति समृद्ध पारेको छ। हामीजस्ता विदेशी भाषाको नाममा अङ्ग्रेजी मात्रै जान्नेले अङ्ग्रेजीबाट नै रुस, जर्मनी, फ्रान्स, जापानी, चिनियाँ भाषाका श्रेष्ठ साहित्यको स्वाद लिन सकिरहेका छौँ। आफ्नो भाषाको श्रेष्ठ साहित्यसम्पदालाई विश्वसाहित्य-संसारमा चिनाउने, प्रतिष्ठा दिलाउने उपाय पनि अनुवाद नै हो। कविगुरु रवीन्द्रनाथ ठाकुरले बङ्गाली भाषामा लेखेको गीताञ्जली अङ्ग्रेजीमा अनुवाद नगरेको भए विश्वका साहित्य रसिक पारखीहरूले कसरी यसलाई पढ्थे होला र नोबेल पुरस्कार दिन्थे। विश्वमा सर्वत्र लगातार विकास भैरहेको ज्ञान-विज्ञानको नयाँ सोच, प्रयुक्ति कौशल नव-नव बौद्धिक अवधारणाहरूबारे जान्ने-बुझ्ने, ज्ञान प्राप्त गर्ने उपाय अनुवाद नै हो। साहित्यिक, सांस्कृतिक आदान-प्रदान, भावविनिमय र सहयोगक्षेत्रहरू गर्न अनुवादले सहायता गर्दछ। भारतजस्तो जाति, भाषा, संस्कृति, वेशभूषा आदिमा विभिन्नता रहेको देशमा त झन् अनुवादले निश्चित रूपमा साहित्य संस्कृति क्षेत्रमा एक-अर्कालाई जान्ने, बुझ्ने, आदान-प्रदान गर्ने अवसर प्रदान गरेर भावनात्मक मेलमिलाप र राष्ट्रिय ऐक्य संहतिमा सघाउ पुर्याउने काम गर्दछ। अनुवादको क्रमबर्धित आवश्यकतालाई ध्यानमा राखेर विगत शताब्दीको अस्सीको दशकमा अनुवादलाई Translations Studies हिसाबले पठनीय विषयमा अन्तर्भुक्त गरिएको छ। साहित्य अकादेमीजस्ता संस्थाले अनुवाद कार्यशालाको आयोजन गरी आन्तःभाषी अनुवादकलाई प्रोत्साहित गरेको देखिन्छ। अनुवाद मौलिक रचना होइन भन्दैमा सजिलो काम हो भन्नु उचित हुँदैन। राम्रो अनुवाद गर्न मूल या उत्सभाषा (Source Language) र लक्ष्यभाषा (Target language) यी दुवै भाषाको राम्रो ज्ञान हुनु अनिवार्य हुन्छ। सफल अनुवाद गर्न भाषा मात्रै जानेर पुग्दैन। दुवै भाषाको पृष्ठभूमि जस्तै - सामाजिक, सांस्कृतिक, आर्थिक, भौगोलिक, नैतिक, राजनैतिक इत्यादि र भाषामा प्रचलित टुक्का, उखान, दन्त्यकथा, परिकथा, लोककथा आदिको जानकारी हुन आवश्यक हुन्छ अर्थात् अनुवादकले अन्तर्निहित भावसमेत त्यो भाषालाई आत्मसात् गर्नुपर्दछ अन्यथा विषयवस्तुभित्र पसेको भावजगत्लाई उत्सभाषाबाट लक्ष्यभाषामा सार्न कठिन पर्छ। ज्ञानको क्षेत्र निरन्तर विस्तार भैरहेको छ। आजको अनुवादकर्म साहित्यमा मात्रै सीमाबद्ध रहेको छैन। सरकारी दस्तावेजदेखि लिएर विज्ञान, विज्ञापन, तत्त्व, तथ्य, सूचना, संवाद, आलाप, संलाप इत्यादि अनेक विषयको अनुवाद एउटै खोलभित्र राख्न पनि नमिल्लाझैँ लाग्छ। यसप्रकार आजको विश्वमा अनुवादकर्म ज्ञानको, मानवीय अनुभवको, आदान-प्रदान गर्ने अत्यावश्यकीय सेतुस्वरूप बनेको छ। स्वाधीनेतर भारतमा विशेष गरी विगत शताब्दीको द्वितीयार्धबाट भारतको आञ्चलिक भाषासाहित्यको क्षेत्रमा जस्तो तीव्रताले अनुवादकर्मले गुरुत्व पाउन सकेन। भाषाको आधारमा बनिएका राज्यहरूले आफ्नो राजभाषालाई समृद्ध बनाउन ज्ञानभण्डार, साहित्यभण्डारलाई गहकिलो पार्न, भारतका अरूअरू भाषाहरूका साथै विश्वका विभिन्न भाषाका उत्कृष्ट ग्रन्थ अनुवाद गर्नतिर ध्यान दिए। तर त्यस समयमा नेपाली भाषा भारतीय संविधानअन्तर्भुक्त भाषा हुन सकेको थिएन। नेपाली भाषालाई संविधानअन्तर्भुक्त गर्न भारतीय नेपालीले सुदीर्घ सङ्ग्राम गर्न पर्यो र सन् १९९२ को २० अगस्टमा नेपाली भाषा संविधानको अष्टम अनुसूचीमा अन्तर्भुक्त भएर राजभाषाको मर्यादा पाउन सक्यो। साहित्य-अकादमीले अवश्य सन् १९७४ मै मान्यता दिएको हो, तापनि संवैधानिक मर्यादा नपाउनाले धेरै क्षेत्रमा यो पछि पर्यो। भारतीय नेपाली भाषा अनुवादक्षेत्रमा पछि परेका कारणहरूमध्ये प्रमुख कारण यो हो भनी मान्न कर लाग्छ। भारतीय पूर्वाञ्चलको असम राज्यमा धेरै नेपालीहरूको बसोवास छ। यहाँका रैथानेहरूसँग मिलेर यहाँको भाषा-संस्कृतिलाई अँगालेर पनि यहाँका नेपालीले आफ्नो भाषा-साहित्य चर्चा गरिरहेका छन्। आसामको राजभाषा शिक्षाको माध्यम भाषा र धेरै सानासाना जनगोष्ठीको आ-आफ्नो छुट्टै भाषा भएको यो क्षेत्रको संयोगी भाषा पनि असमिया भाषा नै हो, त्यसकारण असमिया भाषा जान्नु यहाँ एकप्रकारको बाध्यता नै हो भन्नुपर्छ। सबै नेपालीभाषीको असमिया भाषाज्ञान भएकाले नै होला असममा असमिया भाषाबाट नेपालीमा अनुवादकर्म पनि निकै कम भएका छन्। तर संस्कृतलाई छाडेर अन्य भाषाबाट नेपालीमा अनुवाद यो अञ्चलमा सर्वप्रथम प्रकाशित ग्रन्थलाई जुलियस सिजरलाई मान्नु हो भने नाट्यसम्राट् विलियम सेक्सपियरको अमर नाटक जुलियस सिजरको स्व. टङ्कनाथ उपाध्यायले एकै नामले नेपाली भाषामा गर्नुभएको अनुवाद जुलियस सिजर अङ्ग्रेजी भाषाबाट नेपाली भाषामा भएको प्रथम अनुवाद हो। यो अनुवाद सन् १९५२मा शिलाङबाट प्रकाश भएको हो। स्व. टङ्कनाथ उपाध्यायले एकै समयमा १९५०-५५ तिर सेक्सिपियरका अरू दुईवटा नाटक, 'वेनिसको सौदागर' र 'राजा तृतीय रिचर्ड' पनि अनुवाद गर्नुभएको थियो। उहाँको मृत्यको आठ वर्षपछि १९९१ मा 'वेनिसको सौदागर' प्रकाश भयो र 'राजा तृतीय रिचर्ड' सन् २००५ मा प्रकाश भएको छ। सन् १९७२ मा गीता उपाध्यायले अनुवाद गरेको 'एन फ्रान्कको डायरी' प्रकाश भयो। त्यो पनि अङ्ग्रेजीबाट नेपालीमा अनुवाद भएको हो। नेपाली भाषा 'एन फ्रान्कको डायरी' अनुवाद भारतमा बङ्गालीमा भएको अनुवादपछि दोस्रो हो। त्यसपछि मलयालम भाषामा भएको हो। श्री टीकानाथ उपाध्याय 'निर्भीक'ले रुसी लेखक आलेक्जेन्डर पुस्किनका कविता, 'पुस्किनका केही कविता' नामले नेपालीमा अनुवाद गरेर १९७६मा प्रकाशित गरे। निर्भीकको दोस्रो अनुवाद 'जिप्सी' हो र तेस्रो हिन्दी कवि त्रिलोकनाथ व्रजवालको कविता 'इन्दु एक बिन्दु दुई' प्रकाश भएको हो। श्री हरिप्रसाद शर्माले रुसी लेखक टल्सटयको विश्वविख्यात उपन्यास 'वार एन्ड पिस'लाई 'युद्ध र शान्ति' नामले र मेक्सिम गोर्कीको 'मदर'लाई 'आमा' नामले नेपालीमा अनुवाद गरेर प्रकाश गर्नु भएको छ। कवि समालोचक छविलाल उपाध्यायले हिन्दी लेखक जयशङ्कर प्रसादको नाटक चन्द्रगुप्त नेपालीमा अनुवाद गरेर १९९९ मा साहित्य अकादेमीको अनुवादपुरस्कार प्राप्त गर्नुभएको छ। उहाँले रजनीकान्त बरदैलको अमर उपन्यास 'मिरी जियरी'लाई 'मिरी कन्या' नामले गरेको नेपाली अनुवाद प्रकाश भएको छ। डा. खेमराज नेपालको डा. विश्वनारायण शास्त्रीले संस्कृतमा रचना गर्नुभएको उपन्यास 'अविनाशी' एकै नामले नेपाली अनुवाद प्रकाश भएको छ। नेपालीबाट असमिया भाषामा निकै अनुवाद प्रकाश भएका छन्। सत्तरीको दशकतिर नेपाली कथाको असमिया अनुवाद 'नवमी' असम साहित्यसभाले प्रकाशित गर्यो। त्यसका अनुवादकहरू हुनुहुन्थ्यो- श्री टीकाराम उपाध्याय 'निर्भीक', श्री तारापति उपाध्याय र द्रोण उपाध्याय। गीता उपाध्यायले आदिकवि भानुभक्तले रचना गरेको रामायण 'भानुभक्तकर रामायण' नामले असमियामा गरेको अनुवाद असम साहित्यसभाले १९८७ मा प्रकाश गरेको छ। उनले असमियामा अनुवाद गरेको लक्ष्मीप्रसाद देवकोटाको 'मुनामदन' एकै नामले प्रकाशित भएको छ। नेपालका उपन्यासकार भरत जङ्गमले रचना गरेको उपन्यास कालो सूर्य 'कोला सुरुज' नामले असमिया अनुवाद लयार्स बुक स्टलले प्रकाश गरेको छ। गीता उपाध्यायले निरुपमा बरगोहाइँको अकादमी पुरस्कारप्राप्त उपन्यास 'अभियात्री'लाई एकै नामले नेपालीमा अनुवाद गर्नुभएको छ र साहित्य अकादमीले प्रकाश पनि गर्ने भएको छ। श्री विष्णुलाल उपाध्यायले नेपालीमा रचना गर्नुभएको कथासङ्ग्रह उत्सर्गा रश्मिरेखा शर्माले एकै नामले गरेको असमिया अनुवाद प्रकाशित भएको छ। के.बी. नेपालीले रचना गरेको मूल नेपाली कवितासङ्ग्रह 'प्लेटफर्म' जयन्तकृष्ण शर्माले असमियामा एकै नामले गरेको अनुवाद प्रकाश भएको छ। जयन्तकृष्ण शर्माले शिशु उपयोगी पुस्तक 'पुच्छर' अनुवाद गरेका छन्। स्व. अग्निबहादुर क्षेत्रीले गर्नुभएको अब्दुल मालिकको कथा 'तीन चक्के गाडी' को असमियाबाट नेपालीमा अनुवाद प्रकाशित भएको छ। उहाँको असमियाबाट नेपाली अनुवाद बालकहानी 'किसिंको कन्तबिजोक' प्रकाश भएको छ। अग्निबहादुर क्षेत्रीका अरू दुईवटा महत् अनुवाद हुन्- स्व. डा. श्यामराज जैसीको पुस्तक 'इतिहासको आधारमा आसामे नेपालीहरू' को असमिया अनुवाद र लीलबहादुर क्षत्रीको अकादमी पुरस्कारप्राप्त उपन्यास 'ब्रह्मपुत्रका छेउछाउ'को असमिया अनुवाद। असमियाबाट निकै पुस्तक नेपालीमा अनुवाद भएका छन् र अनुवादकले अकादमी पुरस्कार पनि प्राप्त गरेका छन्। किरण राईले असमियाबाट मामनी रयसम गोस्वामीको उपन्यास 'आधालेखा दस्तावेज' 'अर्धवृत्त जीवनचित्र' नामले नेपालीमा अनुवाद गरेर अकादमीको अनुवाद पुरस्कार प्राप्त गरे। सम्भुले मामनीको उपन्यास 'उइए खोवा हौदा' र 'दशरथी खोज' को 'दक्षिण कामरूपका अभ्यन्तरमा' र 'अयन दशरथी' को नामले गरेको अनुवाद प्रकाशित भएको छ। त्यसरी नै डा. शान्ति थापाले अतुलानन्द गोस्वामीको उपन्यास 'नाघरीया'लाई 'नामघरे' नामले नेपालीमा अनुवाद गरेर, दुर्गा खतिवडाले दिनेश शर्माको कथासङ्ग्रह 'गल्पर गाचपेरा'लाई 'ब्रह्मपुत्रका छालहरू' नामले अनुवाद गरेर र पुष्पधर शर्माले विख्यात असमिया कवि हीरेन भट्टाचार्यको निर्वाचित कविता अनुवाद गरेर नेपाली साहित्यमा साहित्य-अकादमीद्वारा प्रदान गरेको अनुवाद-पुरस्कार प्राप्त गरेका छन्। पाँचजना असमका अनुवादकले अहिलेसम्म अकादमीको अनुवाद पुरस्कार प्राप्त गरे र तीमध्ये चारजनाले असमियाबाट नेपालीमा अनुवाद गरेका हुन्। शान्ति थापाको असमियाबाट नेपालीमा अर्को उपन्यास विख्यात उपन्यासकार होमेन बरगोइँको 'अस्तराग' एकै नामले प्रकाश भएको छ। चन्द्रमणि उपाध्यायले अनुवाद गरेको मुन्सी प्रेमचन्दको उपन्यास 'मङ्गलसुत्र' नेपालीमा प्रकाश भएको छ। ज्ञानबहादुर क्षेत्रीको १२ वटा विदेशी कथाको नेपाली अनुवाद 'मनपरेका कथा' नामले प्रकाशित भएको छ। असम लेखिका संस्थाद्वारा ७०वटा असमिया नारी कविका निर्वाचित कविता असमियाबाट नेपालीमा अनुवाद प्रकाश भएको छ। गीता उपाध्याय असम लेखिका संस्था नामको सर्व-असम असमिया लेखिका संस्थाको अध्यक्षा रहेको समयमा प्रकाश भएको यो पुस्तकमा समावेश गरिएको कविता असमियाबाट नेपाली अनुवाद गर्नेहरू हुनुहुन्छ- सर्वश्री डा. शान्ति थापा, मुन्नी सापकोटा र चम्पा उपाध्याय। चम्पा उपाध्यायले अकादमी पुरस्कारप्राप्त विन्द्या सुब्बाको नेपाली उपन्यास 'अथाह'लाई 'अथाउनी' नामले असमियामा अनुवाद गरेर रहस्य पत्रिकामा खण्ड-खण्ड प्रकाश गरेकी छन्। जयन्तकृष्ण शर्माले अङ्ग्रेजीबाट गरेको अनुवाद 'पुच्छर' बुक ट्रस्ट अफ इन्डियाले प्रकाश गरेको छ। तारानिधि उपाध्यायले होमेर बरहोगाइँको 'हालधीया सराए बाउद्यान खाय'को नेपाली अनुवाद 'बाघका छालामा स्यालको रजाइँ' नामले गरेका छन्। लीलानन्द उपाध्यायले पारिजातको अमर उपन्यास शिरीषको फूल 'कृष्णचुडा' नामले असमियामा अनुवाद गरेर प्रकाश गरेका छन्। विगत शताब्दीको तृतीय दशकदेखिनै असमिया र नेपाली दुइटै भाषामा कलम चलाउने स्व. हरिप्रसाद गोर्खा राईले अनुवादकर्ममा हात लाएर असमिया लेखक वीरेन्द्रकुमार भट्टाचार्यको 'यारउइङगाम' नामको उपन्यास 'लोकराज' नामले नेपालीमा अनुवाद गर्नुभयो र साहित्य अकादमीले प्रकाश गरेको छ। असमका नेपाली लेखक-कविका रचना अङ्ग्रेजीमा पनि अनुवाद भएका छन्। उपन्यासकार लीलबहादुर क्षत्रीको बसाइँ Towards Unknown Horizon नामले लेरी हार्टसेलद्वारा अङ्ग्रेजीमा अनुवाद भएको छ। भविलाल लामिछानेको काव्यग्रन्थ शब्द हुन् यी मेरा Words Are Mine नामले जितबहादुर सोनारले अनुवाद गरेका छन्। यी लेखकका कृत अन्य भारतीय भाषामा अनुवाद भैसकेका छन्। सुदीर्घ प्रशासनिक सेवाबाट निवृत्त भएका श्री दलबहादुर क्षेत्रीज्यूले अनुवाद क्षेत्रमा प्रवेश गरी 'परालको आगो'जस्ता नेपाली कथा असमियामा अनुवाद गर्नुका साथै लीलबहादुर क्षत्रीको बसाइँ पनि असमियामा अनुवाद गरेर खण्डखण्ड गरी पत्रिकामा प्रकाश गरिसक्नुभएको छ। कमलकुमार जैनको असमिया भाषामा रचित कवितासङ्ग्रह 'कम्पित वाञ्छा' नेपाली अनुवाद भएको छ। अनुवाद गर्नेहरू हुनुहुन्छ - श्री बद्री गुरागाईँ, केदारकल्प लम्साल, नेत्रभूषण खड्का र जानकी उपाध्याय। असमका नेपालीभाषी लेखकले अन्य भाषाका पुस्तक असमिया भाषामा अनुवाद गरेका छन् र असमिया पुस्तक हिन्दी आदि भाषामा पनि अनुवाद गरेका छन्। बद्री गुरागाईँले बडो भाषामा अनुवादकर्म गर्नुभएको थाहा लागेको छ। आसामभित्रका जनगोष्ठीय भाषामा अरू पनि केही काम गर्दै होलान्, सबै जानकारी प्राप्त हुन सकेको छैन। प्रत्येक भाषा आ-आफ्नो सांस्कृतिक पृष्ठभूमि र वैचित्र्यले गर्दा भावप्रकाशको सामर्थ्य, शब्दार्थको समृद्ध भावव्यञ्जन इत्यादि भिन्नाभिन्नै हुन्छन्। कुनै भाषाको शब्दको उपशब्द अर्को भाषामा नपाइन सक्छ, त्यस्तो खण्डमा भाव मिल्ने अर्को शब्द खोजेर प्रकाश गर्न आवश्यक हुन्छ। त्यस प्रकारका समस्याहरूलाई समाधान गरेर अनुवाद गर्न अनुवादकलाई हातको छेउमा हरबखत चाहिने वस्तु हो कोष, शब्दकोष, पारिभाषिक शब्दकोष अभिधान र जीवजन्तु, रूखपात प्रकृति विषयको शब्दावली भएको कोष, विज्ञान विषयको कोष, पौराणिक आख्यान-उपाख्यान, लोककथासम्बन्धी कोषहरू, राजनीति, अर्थनीति इत्यादि विषयमा पनि अनुवाद गर्नपर्दा ती कोषको आवश्यकता पर्छ। तर नेपालीमा यस्ता कोष अभिधानहरूको उपलब्धता साह्रै थोरै छ। सय-पचास वर्षअघिदेखि चलिआएको पुराना कोष अभिधानहरू दुई-एक भए तापनि बढ्दो ज्ञानक्षेत्रमा व्यवहार भएका नित्य नयाँ शब्दहरूको अर्थ भएका आधुनिक शब्दकोष छैनन् भन्दा पनि हुन्छ। अर्कातिर स्तरीय कोषको अभावले जथाभावी शब्द निर्मित भएका छन्, त्यसकारण संस्थागत या विद्यातनीय (Academic) स्तरमा छलफल गरेर नयाँ शब्दहरूलाई मनसम्पन्न शब्दको रूपमा ग्रहण गरी शब्दकोषहरू प्रकाश गर्ने काम हुन सके नेपालीमा अनुवादकर्मलाई अघि बढाउन सघाउ पुग्ने आशा गर्न सकिन्छ। तेजपुर, असम।
|