Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


ऐतिहासिक काठमाडौँका दरबारहरू

 --डा. देबेन सापकोटा

 

भूपि शेरचनको चिसो एस्ट्रे हैन रहेछ साथी

बल्दोजल्दो इतिहासको मैदान पो रै'छ यो।

यहाँ पत्थर, इँट र माटाका कणकणले पनि

अतीतका व्यथा, गाथा र कथा बोकेका रैछन्।

 

हनुमानढोका, या त  दरबार महलभित्र पस्दा

ह्वास्स काँचो बारुद गन्हायो मलाई,

दिवारमा कान थापेर सुनेँ--

टकटक टकटक घोडा कुदेका शब्दहरू

तोप, बन्दुक र कामानका गर्जनहरू,

ढाल, तरबारका टङटङ आवाजहरू।

 

महलभित्र गुञ्जायमान

राजा-महाराज का सिंह-गर्जनका प्रतिध्वनिहरू।

कोठीभित्र

डायमन्ड समसेरका सेतो बाघका

नायक-खलनायक बग्रेल्तै रहेछन् यहाँ।

 

कुनै राजा दुर्बल हुँदा

देवरले महारानीसँग साँठगाँठ गरी

चालेका कुटनैतिक खेलहरू।

या त

राजालाई दुर्बल बनाई राणाहरू आफैँले

क्षमताका बागडोर मजबुत पारेका कथाहरू।

 

या त क्षमताको मोहमा

राजपरिवारका दाजुभाइ, काका-भतिजाबीच

शङ्का-आशङ्का र सन्देहले उपज कुकर्महरू।

 

कतै कोठी कम्पमान थिए

निरपराधी युवतीलाई बलात्कार गर्दाको रोदनले,

यात त कुशासनको विरुद्ध

बगावतको बली चढाइएका सहिदका आर्तनादले

दरबारमा प्रतिध्वनित हुन्थे

बाहिरका टहलदार पालेपहराका

टकटक आवाजहरू।

 

धन्य यी युगौँदेखि इतिहास बोकेका

तर सही कदर नपाएर टुहुरिएका

विश्वविश्रुत दरबार, महल र गुठीहरू।

कसैले 'बहादुर' भनिदिँदा मात्र

आफ्नो शक्तिलाई चिन्न नसकी

मख्ख पर्ने नेपाली,

अरूले औँल्याइदिनुअघि नै

विलुप्त हुने अग्रसर

यी इतिहासका साक्षीलाई बेलैमा चिन, सम्हाल।

नत्रभने

निर्दयी समयको हुरीले

चालै नपाई उडाई लैजाला।

अनि

क्षमा गर्नेछैनन् तिमीलाई

भविष्यका पिँढीले

युगौँ जन्म-जन्मान्तर।

 

खानपाडा, असम।