|
|
|
|
असमिया कविता नाम उसको कमरेड रत्नेश्वर राभा --हेमाङ्ग विश्वास, (नेपाली अनुवाद- गोपाल खड्का)
कहिलेकाहीँ देखेका थियौ कि कलिङ्गको कनारको कालो प्यागोडा ?
कालको विस्मय मौन खेतको वाङ्मयता, कतिकति सहस्र शताब्दीको आवह सङ्गीत।
तर मैले त्यस दिन देखेँ बको पहाडमा ग्रेनाइट ढुङ्गाको छाती चिरी जरा पसाली उभिइरहेको सालको रूख।
अनेकौँ हुरी र बतासले हजारौँ वज्रपात र कतिकति भूकम्पले हल्लाई जिस्क्याई गैगयो......... तैपनि हल्लिएन दीप्त, शान्त, दिगन्त, प्रसार त्यो सालको रूखः युगको विस्मय।
एक कट्ठा आदिम माटो पैत्रिक सम्पत्ति अन्धकारमा जुनकीरीको ज्योतिले उज्वल ढुङ्गाको झोपडी।
कुनै प्राक्-ऐतिहासिक जङ्गलमा जन्मी बीसौँ शताब्दीको नौलो आकाशमा अगणित पातको पाती
हाँगाहाँगामा वन-चराको बिहानको कलरव हावामा गीतको कम्पन तर पनि यो पहाडमा उच्छेदको अनन्त चक्रान्त। गडा लागि ? त्योभन्दा पनि भयङ्कर माटाका महाजन।
बौलाहा हात्तीका पाल आउँछन् सुँडमा उसको उच्छेद - नोटिस। मायालु नवजातकलाई छिन्नभिन्न पारी भनेर जान्छः यो माटोमा तिमीहरूको केही अधिकार छैन तर पनि शिर नत भएको छैन क्षतविक्षत हाँगा-हाँगामा फेरि उम्रन्छ अगणित पात फेरि सुन्दछु त्यहाँ पक्षीको कलरव।
मैले देखिआएको एक युगको विस्मय ग्रेनाइट ढुङ्गाको छाती चिरी उभिएको अभ्रभेदी सीमान्त प्रहरी त्यो सालको रूख।
मुखमा देख्छु उसको दरिद्रताको दाग आँखामा टल्कन्छ भविष्यको नाम उसको--------- कमरेड रत्नेश्वर राभा।
|